आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

साना दरका मुद्रा प्रचलनमा सिक्कालाई जोड दिने राष्ट्र बैंकको नीति, टकमरीमा भने विदेशकै भर 

बुधबार, साउन २४ २०८०
साना दरका मुद्रा प्रचलनमा सिक्कालाई जोड दिने राष्ट्र बैंकको नीति, टकमरीमा भने विदेशकै भर 

सिक्का टकमरी गर्नुमा राष्ट्र बैंकले दुई कारण दिएको छ। पहिलो हो लागत। एक पटकको छपाइमा नोटको तुलनामा सिक्काको लागत उच्च भएपनि जीवनचक्रमा हिसाब गर्दा सिक्काको लागत न्यून हुने भएकाले सिक्का लाभदायक देखिएको पोख्रेल बताउँछन्। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नयाँ सिक्का जारी गर्ने भएको छ। नेपाल सरकारले राष्ट्र बैंकलाई पाँच रुपैयाँ दरका नयाँ डिजाइनका १५ करोड थान सिक्का टकमरी गर्नकालागि स्वीकृति दिएको छ। 

सरकारले स्वीकृति दिएसँगै राष्ट्र बैंकले अब नयाँ डिजाइनमा पाँच रुपैयाँ दरका नयाँ सिक्का जारी गर्ने भएको छ। सानो रुपैयाँका नोटको चल्ती घटिरहेको सयमा राष्ट्र बैंकले एकसाथ १५ करोड थान सिक्का ल्याउन लागेको हो। 

सिक्का टकमरीका लागि राष्ट्र बैंकले टेन्डरबाटै कम्पनी छनौट गर्नेछ अर्थात् नोटमात्र होइन सिक्का पनि विदेशमै बनिरहेका छन्। विदेशमा सिक्का टकमरी गर्दा लागत उच्च हुँदै आएको छ। 

राष्ट्र बैंकको आफ्नै टक्सार विभाग रहेको छ। विस २०६३ सालअघिसम्म यहीबाट १/२ रुपैयाँका  सिक्का टकमरी हुँदै आएको थियो। अहिलेको अवस्थामा विभागमा रहेका मेसिन नै काम लाग्ने अवस्थामा नरहेको र आवश्यकता अनुसारको सिक्का टकमरी गर्न मेसिनको क्षमता नै नपुग्ने भएकाले विदेशमै जानुपर्ने अवस्था रहेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लिराम पोख्रेलले जानकारी दिए। 

राष्ट्र बैंकको टक्सार विभागले हाल सुन तथा चाँदीका विशेष सिक्कामात्र टकमरी गर्दै आएको छ। विदेशमा एक रुपैयाँको  सिक्का टकमरी गर्दा  २ रुपैयाँभन्दा धेरै लागत पर्दै आएको छ। मौद्रिक मूल्यभन्दा उच्च लागत हुने भएपनि राष्ट्र बैंकले पाँच रुपैयाँकोमात्र होइन त्यसमाथिका दरका सिक्का पनि टकमरी गर्ने योजना बनाएको छ। 

सिक्का टकमरी गर्नुमा राष्ट्र बैंकले दुई कारण दिएको छ। पहिलो हो लागत। एक पटकको छपाइमा नोटको तुलनामा सिक्काको लागत उच्च भएपनि जीवनचक्रमा हिसाब गर्दा सिक्काको लागत न्यून हुने भएकाले सिक्का लाभदायक देखिएको पोख्रेल बताउँछन्। 

‘नोटको सुरुवाति छपाइ लागत न्यून हुन्छ तर त्यसको आयु २/३ वर्ष हो। तर सिक्काको आयु ४० वर्षसम्म हुन्छ। ठ्याक्कै कति फाइदा हुन्छ भनेर आँकडा त छैन तर यसरी हेर्दा एउटा पाँच रुपैयाँको नोट पाँच पटक छाप्दापनि एउटा सिक्काको आयु सकिँदैन’ पोख्रेलले भने। 

लागत बाहेक अर्को हो सानो दरका मुद्राको आवश्यकता बजारमा अझै रहेको छ। नगदामा अधिक विश्वास गर्ने नेपाली समाजमा साना दरका मुद्राको अभावमा वस्तु तथा सेवाको लागत धेरै हुने गरेको छ। सार्वजनिक यातायातदेखि किराना पसलसम्म साना दरका मुद्राको आवश्यकता अझै रहेको छ। 

आवश्यकता भएको तर नोटको तुलनामा धेरै आयु हुने भएकाले पाँच रुपैयाँमात्र होइन १०/२० रुपैयाँसम्मका सिक्का पनि जारी गर्ने योजना राष्ट्र बैंकको रहेको छ। 

सिक्काको आयु धेरै हुने भएपनि नेपालमा प्रचलनमा रहेका सिक्का बैंकिङ चक्रमा धेरै घुम्दैनन्। 


प्रकाशित : बुधबार, साउन २४ २०८००७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend