बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

कृषि विकास र नेपाल बैंकले तीन महिनामै ठूलो मात्रामा घटाए खराब कर्जा, कसरी सम्भव भयो?

images
मंगलबार, साउन २३ २०८०
images
कृषि विकास र नेपाल बैंकले तीन महिनामै ठूलो मात्रामा घटाए खराब कर्जा, कसरी सम्भव भयो?
images
images

काठमाडौं- कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा उल्लेख्य रुपमा घटाएका छन्।

images
images
images

कृषि विकास बैंकको तेस्रो त्रैमासमा खराब कर्जा ४.३५ प्रतिशत रहेकोमा चौथौ त्रैमासमा २.४८ प्रतिशतमा सीमित गराउन सफल भएको छ। यस अवधिमा कृषि विकास बैंकले आफ्नो खराब कर्जा करिब ४३ प्रतिशतले घटाएको छ।

images
images

यस्तै नेपाल बैंक लिमिटेड पछिल्लो तीन महिनाको अवधिमा ३१.५ प्रतिशतले खराब कर्जा घटाएको छ। २०७९ चैत मसान्तसम्ममा बैंकको खराब कर्जा बढेर ४.१६ प्रतिशत पुगेको थियो।

images
images

खराब कर्जा तीब्र रुपमा बढेपछि दुवै सरकारी स्वामित्वका बैंकहरूले यसलाई घटाउन विभिन्न रणनीति अपनाएका छन्। 

नेपाल बैंक लिमिटेडले खराब कर्जा घटाउन गत चैतबाट कर्जा विस्तार रोकेर कर्जा असुलीमा ध्यान दिएको थियो। नेपाल बैंक लिमिटेडको कर्जा पोर्टफोलियोको ठूलो हिस्सा घरेलु, साना तथा मझौला उद्योग व्यवसायतर्फ भएकाले यसै क्षेत्रको रिकभरीमा आफ्नो सम्पूर्ण शक्ति लगाएको प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए। 

'नेपाल बैंक लिमिटेडको क्रेडिट र रिकभरी टिम नयाँ कर्जा दिनेभन्दा पनि कर्जा असुलीमा बढी सक्रीय भयो। गत चैतयता कर्जा नबिग्रियोस तथा खराब कर्जा घटोस् भन्नेतर्फ नै हाम्रो मेहनत बढी थियो। जसले गर्दा खराब कर्जा घटाउन हामी सफल भयौँ', उनले भने।

नेपाल बैंकले खराब ऋणीहरूलाई ध्यानमा राखेर ब्याजदरमा छुट स्किम ल्याएको थियो। बैंकले असल कर्जा, निगरानीमा रहेका कर्जा र भाका ननाघेका कर्जा खराब कर्जातर्फ नजाउन् भन्ने रणनीतिका साथ कर्जा असुलीलाई प्राथमिकतामा राखेकाले समर्ग्रमा बैंकको खराब कर्जा घटेको अधिकारीले दाबी गरे। पछिल्लो तीन महिनामा बैंकले मुख्यगरी एसएमई क्षेत्रमा गएको कर्जा, ठूला कर्पोरेट कर्जा र कन्सोर्टियम कर्जाको असुलीलाई बढी प्राथमिकतामा राखेको उनको भनाइ छ। 

अर्थतन्त्रमा मन्दी भएपनि सञ्चालनमा रहेका उद्योग तथा व्यवसायहरू कर्जा तिर्नै नसक्ने अवस्थामा नपुगिहालेकाले कर्जा असुली सहज भएको उनले बताए। कर्जा लिएपछि अनिवार्य रुपमा दायित्व बहन गर्नुपर्ने तथ्य ऋणीलाई बुझाएपछि कर्जा असुली बढेको उनको भनाइ छ।

कृषि विकास बैंकको खराब कर्जा भने गत असोजबाट बढ्न थालेको थियो। गत पुस मसान्तसम्म आइपुग्दा व्यापार तथा व्यवसायमा आएको मन्दीका कारण खराब कर्जा बढेको बैंकका डेपुटी प्रबन्ध निर्देशक प्रताप सुवेदी बताउँछन्।

'अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा हाम्रो बैंकको खराब कर्जा १.६८ प्रतिशत मात्रै थियो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा चाडपर्व तथा आर्थिक मन्दीका कारण कर्जा उठाउन सकिएन। पुस मसान्तसम्ममा आइपुग्दा हाम्रो रिकभरी राम्रो हुन सकेन। पछिल्लो समय रफ्तारमा असुलीतर्फ ध्यान दिएका थियौँ', उनले भने।

बैंकले लिलामीसम्बन्धी २१ दिने सूचना जारी गर्ने, कर्जा असुलीका लागि कर्मचारीहरूलाई फिल्डमा पठाउने लगायतका काम अगाडि बढाइएको उनले बताए। ऋणीहरूको घरघरमा गएर कर्जा असुलीका लागि आग्रह गरेको सुवेदीको भनाइ छ। सीईओमा गोविन्द गुरूङ आएसँगै पछिल्लो समय कामले तीब्रता लिएकोसमेत उनले बताए। 

यस्तै कृषि विकास बैंकले गत जेठमा ऋणको साँवा ब्याज भुक्तानी गर्ने ऋणीलाई ७ प्रतिशत ब्याज छुट दिने निर्णय गरेको थियो। यसले पनि कर्जा असुलीमा मद्दत गरेकाले खराब कर्जा घटेको सुवेदीको भनाइ छ। कर्जा नतिरिरहेका पुराना ऋणीहरूलाई समेत य‍स्तो छुट सुविधाले आकर्षित गरेकाले कर्जा असुली बढेको उनको दाबी छ। 

यस्तै कर्जा असुली कम भएका प्रदेशअन्तर्गत कार्यालयहरूमा कर्जा उठाउन बैंकले रिकभरी सेल गठन गरेको थियो। उक्त रिकभरी सेलले खराब कर्जा घटाउनका लागि निकै ठूलो मद्दत गरेको सुवेदीले बताए। 

कृषि विकास बैंकको कर्जा पोर्टफोलियो ठूलो हिस्सा कृषकहरूतर्फ केन्द्रित भएको छ। कृषकहरूले बाली भित्र्याउने सिजनमा कर्जाको किस्ता बढी भुक्तानी गर्दछन्। विगतमा पनि मंसिर, चैत र असार मसान्तमा बैंकको कर्जा असुली बढ्ने गरेकाले खराब कर्जा घट्ने गरेको देखिन्छ।


प्रकाशित : मंगलबार, साउन २३ २०८०००:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend