शनिबार, साउन १२ गते २०८१    
images
images
images

हुन्डाईका कार नेपालमै उत्पादन सुरु गर्दै लक्ष्मी समूह, आइपुग्यो पहिलो ‘सीकेडी पार्ट्स’ 

सुरुमा भेन्यू बन्ने, कोरियाली टिम आएलगत्तै परीक्षण उत्पादन 

images
मंगलबार, साउन २३ २०८०
images
images
हुन्डाईका कार नेपालमै उत्पादन सुरु गर्दै लक्ष्मी समूह, आइपुग्यो पहिलो ‘सीकेडी पार्ट्स’ 

लक्ष्मी समूहले हुन्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउन) पार्टस आयात गरेको हो।

images

काठमाडौं- हुन्डाई मोटर्सका कार नेपालमै एसेम्बल हुने निश्चित भएको छ। दक्षिण कोरियाली सवारी उत्पादक कम्पनी हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि रहेको छ। लक्ष्मी समूह अन्तर्गतकै अर्को कम्पनी लक्ष्मी मोटर कर्पोरेनस प्रालिमार्फत हुन्डाईका कार एसेम्बल हुन लागेको हो।

images
images

सवारी एसेम्बल गर्न चाहनेका लागि सरकारले विभिन्न प्रकारका कर सहुलियत दिँदै आएको छ। एसेम्बलका लागि ल्याइने मोटरसाइकलका पार्टपूर्जा (सीकेडी वा डीकेडी) आयातमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत र आय करलगायत अन्य सुविधाहरू सरकारले उपलब्ध गराएको छ। 

images

त्यस्तैगरी कारको एसेम्बलमा समेत सरकारले बजेटमार्फत नै सहुलियत दिएको छ। त्यसैले एक दर्जभन्दा बढी कम्पनीले कार तथा ठूला सवारीसाधन एसेम्बल गर्न उद्योग दर्ता गरेर राखेका छन्। तर हालसम्म कुनैपनि कम्पनीले एसेम्बल भने गर्न सकेका छैनन्। अब भने हुन्डाईका कार एसेम्बल हुने निश्चितप्रायः भएको छ। 

कोरियाली कम्पनी मोट्रेक्सले २०७५ चैतमा नेपालमा कार एसेम्बल प्लान्ट खोल्ने घोाषणा गरेको थियो भने २०७६ मंसिर २५ मा लगानी बोर्डसँग प्रारम्भिक सम्झौता गरेको थियो। मोट्रेक्सले नेपालमा सवारी एसेम्बल गर्न १० अर्ब रुपैयाँ लगानी गर्ने बताएको थियो। 

images

मोट्रेक्सले सुरुमा गरेको प्रस्तावअनुसार सन् २०२१ सम्ममा गाडी उत्पादन गरिसक्ने भन्ने थियो तर २०२३ को अगस्टसम्म आइपुग्दा विस्तृत अध्ययनको त कुरै छाडौँ एसेम्बल उद्योग कहाँ राख्नेसम्म टुंगो लागेको छैन। लगानी बोर्डले मोट्रेक्सलाई छलफलमा आउन पटक पटक ताकेता गरेपनि नियमित छलफलसमेत हुन सकेको छैन। 

बरु लक्ष्मी समूहले हुन्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउन) पार्ट्स आयात गरेको हो। लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसन प्रालिले परीक्षण प्रयोजनका लागि पहिलोपटक सीकेडी पार्ट्स ल्याएको छ। 

लक्ष्मी मोटर कर्पोरेसनले भारतको तामिलनाडूमा रहेको ग्लोविस इन्डिया प्रालिसँग हुन्डाई भेन्यूका दुई भेरियन्टको सीकेडी पार्ट्स् ल्याएको हो। कर्पोरेसनले भेन्यू एस(ओ) १.० काप्पा डीसीटी/क्यूएक्सआई र भेन्यू एसएक्स १.२ काप्पा एमटी/क्यूएक्सआई गरि दुई मोडलको सीकेडी पार्ट्स केही दिनअघि नेपाल भित्रिएको थियो। 

परीक्षणका लागि लक्ष्मी मोटर कर्पोरेसनले ल्याएको १ हजार सीसी र १२ सय सीसीको भेन्यू (पेट्रोल इन्जिन)का ५ सय १४ आइटम्स र १ हजार ३ सय ४७ पिस रहेका छन्। भारतमा बनेको उक्त सीकेडी पार्ट्स हुन्डाई मोटर इन्डिया लिमिटेडले उत्पादन गरेको हो भने लक्ष्मी मोटर कर्पोरेसनलाई ग्लोभिस इन्डिया प्रालिले निर्यात गरेको हो। 

अहिले नवलपरासीमा लक्ष्मी मोटर कर्पोरेसनले एसेम्बल प्लान्टका लागि आवश्यक पूर्वाधार निर्माणको काम तीव्र गतिमा गरिरहेको छ। त्यस्तै कम्पनीले एसेम्बलका लागि आवश्यक मेसिन तथा इक्युपमेन्ट आयातको कम पनि गरिरहेको र त्यही प्रक्रिया अन्तर्गत दुईवटा सीकेडी पार्ट्स ल्याएको हो। 

एसेम्बल प्रक्रिया सुरू गर्न अब ४/५ महिना लाग्ने कम्पनी स्रोतको भनाइ छ। ‘हामीले आवश्यक तयारीअनुरुप सीकेडी ल्याएको हौँ, एसेम्बल नै सुरु गर्न हामीलाई ५/६ महिना जति लाग्छ,’ स्रोतले भन्यो, ‘आगामी डिसेम्बरमा दक्षिण कोरिया र भारतबाट हुन्डाईको टोली नेपाल आउने छ र संरचना निर्माणदेखि मेसिनरी जुटाएर तयार पारेपछि २०२४ को जनवरीमा एसेम्बल प्लान्टको परीक्षण सुरु गर्ने योजना हो।’ 

सुरुवाती चरणमा हुन्डाईको भेन्यू क्रसओभर कार एसेम्बल हुनेछ। त्यसपछि आवश्यकता र बजारको मागअनुसार अन्य मोडलको एसेम्बल हुने अनुमान गरिएको छ। एसेम्बल ‘भायवल’ हुन एउटै मोडल कम्तिमा दुई हजारवटा बिक्री हुनुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ। कार एसेम्बलका लागि विभिन्न प्लेटफर्म आवश्यक पर्ने भएकाले एकै प्लेटफर्ममा सबै कार एसेम्बल गर्न सकिँदैन। त्यसैले लगानी धेरै हुने भएकाले कम बिक्री हुने मोडल एसेम्बल गर्न कठीन हुने व्यवसायीहरूको भनाइ छ। 

लक्ष्मी समूहले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो। नवलपरासीमा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको थियो। लक्ष्मी समूहसँगै अन्य सवारी बिक्रेता व्यवसायिक घरानाले पनि एसेम्बल उद्योग दर्ता गरेर बसेका छन्। उनीहरूले हालसम्म एसेम्बलमा जाने प्रक्रिया भने सुरु गरेका छैनन्। 


प्रकाशित : मंगलबार, साउन २३ २०८०११:३५
  • सम्बन्धित विषय:

  • # laxmigroup
  • # laxmimotorcorporation
  • # carassemble
  • # assembleinnepal
  • # hyundaivenue
  • # venueassemble


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend