काठमाडौं- बैंकहरूको खराब कर्जाको बढ्दो ग्राफमा ब्रेक लागेको छ। बैंकहरूको तेस्रो त्रैमाससम्म बढ्दै गएको ग्राफ चौथो त्रैमासको रिपोर्टमा सुधार देखिएको छ।
खराब कर्जा असार मसान्तसम्म ५ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको थियो तर चैत मसान्तसम्म ३.०३ पुगेको निष्कृय कर्जा (एनपीएल) असार मसान्तमा घटेर २.७० आएको छ। समग्र वर्षमा बढे पनि त्रैमासकाे आधारमा सुधार भएकाे हाे। आर्थिक वर्ष २०७८/७९ मा १.२० प्रतिशत रहेको बैंकहरूको खराब कर्जा १२३ प्रतिशत बिन्दुले बढेर २.७० प्रतिशत पुगेको छ।
सबैभन्दा बढी सुधार कृषि विकास बैंकले गरेको छ। कृषि विकास बैंकको चैत मसान्तसम्म ४.३५ प्रतिशत पुगेको खराब कर्जा असार मसान्तमा २.४८ प्रतिशतमा झारेको छ।
आर्थिक मन्दीका कारण गत आर्थिक वर्ष २०७९/८० मा अहिलेसम्मकै धेरै ऋणीहरू कालोसूचीमा परेका छन्। कोभिड १९ पछि बजार चलायमान हुन नसक्दा ऋणीहरू ब्याज र किस्तासमेत तिर्न नसक्ने अवस्थामा पुगेपछि कर्जा सूचना केन्द्रले सार्वजनिक गर्ने कालोसूचीको संख्या गत वर्ष अघिल्लो आर्थिक वर्ष २०७८/ ७९ मा भन्दा दुई गुणाले बढेका छन्।
कर्जा सूचना केन्द्रका अनुसार गतवर्ष २९ हजार ८ सय ४३ ऋणी कालोसूचीमा परेका छन्। आर्थिक वर्ष २०७८/७९ को साउनसम्म कालोसूचीको संख्या २७ हजार २ रहेकोमा २०७९/८०को असार मसान्तसम्म आइपुग्दा बढेर ५६ हजार ८ सय ४५ जना कालोसूचीमा परेका छ्न्।
सोही कारण असार मसान्तमा झनै बढ्ने अनुमान गरिएको खराब कर्जा चौथो त्रैमासमा बैंकहरू ऋण उठाउन सफल भएका छन्। अघिल्लो वर्ष चैत मसान्तसम्म १.२२ प्रतिशत रहेको खराब कर्जा बढेर अहिले ३.०३ प्रतिशत पुगेको थियो। बैंकका ऋणीले ऋणको ब्याज र किस्ता नतिर्दा बैंकहरूको खराब कर्जा बढ्दै गएको छ। चैतमा ३.०३ प्रतिशत पुगेको खराब कर्जा असारमसान्त सम्म बैंकहरूले घटाएर २.७० प्रतिशतमा ल्याउन सफल भएका छन्।
तेस्रो त्रैमाससम्म केही समस्या भएपनि चौथो त्रैमासमा आएर निष्कृय कर्जा (एनपीएल)मा समेत सुधार आएको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बताउँछन्।
गत आर्थिक वर्षमा बैंकहरूमा हिमालयन बैंकको खराब कर्जा ४.५७ प्रतिशत पुगेको छ। सबैभन्दा धेरै कुमारी बैंकको ४.७७ प्रतिशत रहेको छ। सबैभन्दा कम एभरेष्ट बैंकको ०.७९ प्रतिशत रहेको छ। त्यस्तै एनआइसी एसिया बैंकको ०.८० प्रतिशत रहेको छ।
खराब कर्जा बढ्दा के हुन्छ?
खराब कर्जा बढेपछि सिधै नाफामा असर गर्नेछ। ग्राहकहरूलाई ऋण दिएका हुन्छन् र ऋणीले ऋण फिर्ता नगर्ने जोखिम पनि हुन्छ। जसको ऋण निष्क्रिय भएको भनिन्छ। जब बैंकले ऋणीकर्ताले भुक्तानी गर्न असम्भव छ भनेर वा ऋणीकर्ताले भुक्तानी गर्न ९० दिन ढिलो भएमा ऋण निष्क्रिय हुन्छ।
निष्क्रिय कर्जा (एनपीएल) ले बैंकहरूको आम्दानी घटाउँछ र घाटा निम्त्याउँछ, जसले तिनीहरूको सुदृढतामा असर गर्छ। उच्च स्तरको निष्क्रिय कर्जा भएका बैंकहरूले घरपरिवार र कम्पनीहरूलाई ऋण दिन असमर्थ छन्। यो समग्र अर्थतन्त्रका लागि हानिकारक हुने गर्दछ।
प्रत्येक बैंकले आफ्नो ऋणमा घाटाको लागि तयारी गर्दछन्। बैंकले क्रेडिट जोखिमलाई सुधार गर्न, बैंकले ऋणमा अपेक्षित भविष्यको नोक्सानको अनुमान गर्दछ र सम्बन्धित प्रोभिजन बुक गर्दछन्। प्रोभिजन बुक गर्नुको अर्थ बैंकले समय अगावै ऋणमा भएको नोक्सानीलाई पहिचान गर्दछन्।
बैंकहरूले घाटाको सुधार गर्न अन्त्य गर्न आफ्नो पुँजी प्रयोग गर्दछन्। प्रोभिजन बुक गर्दा बैंकले घाटा लिन्छ र त्यसैले ग्राहकबाट संकलन गर्न नसक्ने रकमले आफ्नो पुँजी घटाउँछ। बैंकहरूले पूर्ण मूल्यको लागि प्रोभिजन बुक गर्नुपर्दैन। किनभने उनीहरूले अझै पनि ग्राहकबाट केही भुक्तानीहरू प्राप्त गर्न सक्छन्। बैंकहरूले पनि सम्पत्ति बेचेर ऋण उठाउने गर्दछन्।
खराब कर्जा चैतमा भन्दा घट्यो
बैंक तेस्राे क्वाटर चाैथाे क्वाटर
नबिल : ३.८७ ३.२०
ग्लोबल : ३.९६ ३.०८
एनआइसी : ०.८५ ०.८०
एभरेष्ट बैंक : ०.७० ०.७९
स्ट्याण्डर्ड : ०.९० १.१७
सनराइज लक्ष्मी : १.८२ २.२८
एसविआई : ०.९७ २.४३
वाणिज्य : ३.८८ २.९५
हिमालयन : ४.५६ ४.५७
इन्भेष्टमेन्ट मेगा : ३.९४ ४.३५
प्रभु बैंक : ३.४८ ४.१६
सानिमा बैंक : २.२७ १.३०
कुमारी बैंक : ३.९७ ४.७७
एनएमबि बैंक : २.९६ २.७२
प्राइम बैंक : ३.०६ ४.२३
माछापुछ्रे बैंक : २.३७ २.१२
नेपाल बैंक : ४.१६ २.८५
सिटिजन्स : ३.९८ ३.१९
सिद्धार्थ बैंक : ३.९५ १.०७
कृषि विकास : ४.३५ २.४८