आइतबार, मंसिर ९ गते २०८१    
images
images

६ वाणिज्य बैंकले कमाए वर्षदिनमै १५ अर्ब ६७ करोड, कुन बैंकको वितरणयोग्य मुनाफा र प्रतिसेयर आम्दानी कति?

images
शनिबार, साउन २० २०८०
images
images
६ वाणिज्य बैंकले कमाए वर्षदिनमै १५ अर्ब ६७ करोड, कुन बैंकको वितरणयोग्य मुनाफा र प्रतिसेयर आम्दानी कति?

आर्थिक वर्ष २०७९/८० मा माछापुच्छ्रे बैंकले प्राय सबै सूचकमा सुधार गरेको छ। बैंकले प्रकाशित गरेको चौथो त्रैमासको विवरणअनुसार विवरणअनुसार बैंकले खुद नाफा १० प्रतिशतले बढाउन सफल भएको छ।

images
images

काठमाडौं- ६ वटा वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक भएको छ। गत आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण प्रकाशित गर्नेमा प्रभु, नेपाल बैंक, कृषि, सानिमा, सिटिजन्स र माछापुच्छ्रे बैंक रहेका छन्।

images
images
images

समग्रमा ६ वाणिज्य बैंकले एक वर्षमा १५ अर्ब ६७ करोड खुद नाफा कमाएका छन्। जसमा प्रभुको खुद नाफा २ अर्ब ८२ करोड रहेको छ भने कृषि विकास बैंकको खुद नाफा २ अर्ब ७७ करोड ३३ लाख रूपैयाँ रहेको छ।

images

यसैगरी नेपाल बैंकको खुद नाफा ३ अर्ब ४१ करोड रहेको छ भने सानिमा बैंकको खुद नाफा २ अर्ब ६१ करोड रूपैयाँ रहेको छ। साथै सिटिजन बैंकको खुद नाफा २ अर्ब २१ करोड र माछापुच्छ्रे बैंक खुद नाफा १ अर्ब ८५ करोड रूपैयाँ रहेको छ।

images

कुन बैंकको वित्तीय सुचक कस्तो?

१. प्रभु बैंकको वितरणयोग्य नाफा ८४.४ प्रतिशतले घट्यो

प्रभु बैंकको वितरणयोग्य नाफा करिब ८४.४ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैंकको यस्तो नाफा करिब ८७ करोड ७१ लाख रूपैयाँले घटेको छ। अघिल्लो वर्ष १ अर्ब ३ करोड रूपैयाँ वितरणयोग्य नाफा रहेको यस बैंकको गत आर्थिक वर्ष १६ करोड १६ लाखमा सीमित भएको छ।

आव २०७९/८० मा २ अर्ब ८२ करोड खुद नाफा आर्जन गरे पनि नाफा नोक्सान वितरण खाताअन्तर्गत ठूलो रकम विभिन्न कोषमा वितरण गरेपछि बैंकका सेयर धनीले पाउने नाफामा संकुचित भएको छ। साधारण जगेडा कोषमा ५६ करोड ५० लाख रूपैयाँ छुट्याएको यस बैंकले रिटेन अर्निङमा १ अर्ब ६४ करोड रूपैयाँ छुट्याएपछि बैंकको वितरण योग्य नाफा १६ करोड १६ लाख रूपैयाँमा सीमित भएको हो।

बैंकको खराब कर्जा उल्लेख्यरुपमा बढेपछि बैंकले रेगुलेटरी रिजर्भमा ठूलो रकम छुट्याउँदा बैंकको वितरणयोग्य नाफा घटेको देखिन्छ। गत आर्थिक वर्ष बैंकको खराब कर्जा १२४ प्रतिशतले बढेर ४.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस बैंकको खराब कर्जा १.८६ प्रतिशत रहेको थियो। 

बैंकले सेन्चुरी बैंकसँग प्राप्ति गरेर राष्ट्र बैंकले दिएको मर्जर तथा प्राप्तिसम्बन्धी सुविधाको उपयोग स्प्रेड दरमा गरेको छ। यसले बैंकको खुद नाफा बढाउन सहयोग गरे पनि बैंकको ब्याजदरको लागत तथा आधारदर बढाएको छ। फलस्वरुप बैंकको कर्जाको ब्याजदर बढाउन यसले पनि मद्दत गरेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा स्प्रेड दर ४ प्रतिशतमा सीमित गर्नुपर्ने नीति लिए पनि मर्ज तथा प्राप्तिसम्बन्धी छुटका कारण बैंकको स्प्रेड दर ४.८६ प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्ष यस्तो दर ४.३२ प्रतिशत रहेको थियो।

अघिल्लो आर्थिक वर्ष ६.४४ प्रतिशत रहेको यस बैंकको कष्ट अफ फण्ड गत वर्ष १.३९ प्रतिशत बिन्दुले बढेर ७.८३ प्रतिशत पुगेको छ। बैंकको कष्ट अफ फण्ड बढेकाले अघिल्लो वर्ष कायम रहेको ९.२४ प्रतिशतबाट बढेर १०‍.१६ प्रतिशत बिन्दुमा पुगेको छ। गत असार मसान्तमा बैंकको कर्जा निक्षेप अुनपात (सीडी) पनि अघिल्लो वर्षको तुलनामा २.०४ प्रतिशत बिन्दुले बढेर ८०.३९ प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा प्रभु बैंकको सीडी अनुपात ७८.३५ प्रतिशत रहेको थियो। गत आर्थिक वर्ष बैंकको प्रतिसेयर आम्दानी १२ रूपैयाँमा सीमित भएको छ। यस्तै, बैंकको तरलता अनुपात २७.१४ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ९० करोड रूपैयाँ खुद नाफा गरेको बैंकले गत आर्थिक वर्ष २ अर्ब ८२ करोड रूपैयाँ गरेको छ। यस अवधिमा प्रभु बैंकको नाफा ४८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष बैंकले ३० अर्ब ३ करोड रूपैयाँ ब्याज आम्दानी गरेर १९ अर्ब ७८ रूपैयाँ ब्याज बापत खर्च भुक्तानी गरेको छ। यस अवधिमा बैंकले खुद ब्याज आम्दानी १० अर्ब २५ करोड रूपैयाँ गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा प्रभु बैंकले १७ अर्ब ३ करोड ब्याज आम्दानी गर्दै ११ अर्ब २८ करोड ब्याज भुक्तानी दिएर ५ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको थियो।

गत आर्थिक वर्ष बैंकले इम्प्रियरमेन्ट चार्जबापत २ अर्ब ४४ करोड रूपैयाँ खर्च गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३७८ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७८/७९ मा यस बैंकले इम्प्रियरमेन्ट चार्जबापत ५१ करोड रूपैयाँ मात्रै खर्च छुट्याएको थियो। ४ अर्ब ७ करोड रूपैयाँ करयोग्य आम्दानी गरेको यस बैंकले गत आर्थिक वर्ष १ अर्ब ३९ करोड रूपैयाँ कर सरकारलाई बुझाएको छ।

२. नेपाल बैंकको नाफा १६ प्रतिशतले बढे पनि वितरणयोग्य मुनाफामा भारी गिरावट

नेपाल बैंकको नाफा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा  वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नाफा १६.७० प्रतिशतले बढेको हो।

गत आवमा बैंकले ३ अर्ब ४१ करोड खुद नाफा गरेको छ। अघिल्लो आवमा बैंकको खुदा नाफा २ अर्ब ९२ करोड रूपैयाँ रहेको थियो। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ।

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रूपैयाँ ९२ पैसा बढेर २३ रूपैयाँ २२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४८ रूपैयाँ ९४ पैसा रहेको छ। बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रूपैयाँ रहेको छ। अघिल्लो आव असारमसान्तसम्मा बैंकको वितरण योग्य रकम ३ अर्ब ७२ करोड रूपैयाँ थियो। गत आवमा ७१ प्रतिशतले घटेको हो।

बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रूपैयाँ रहेको छ। यसैगरी बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ लाख रूपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २४.७२ प्रतिशत बढेको छ भने कर्जा लगानी ४.३२ प्रतिशत बढेको छ।

३. कृषि विकास बैंकको सबै सूचकमा सुधार

आर्थिक वर्ष २०७९/८० मा कृषि विकास बैंकले करिब ३ अर्ब १० करोड रुपैयाँ खुद नाफा गरेको छ।अघिल्लो आर्थिक वर्ष २ अर्ब २२ करोड खुद नाफा गरेको यस बैंकको नाफा गत आवमा ३९.२५ प्रतिशतले बढेको छ। यद्यपि बैंकको वितरणयोग्य नाफा भने अघिल्लो आवको तुलनामा ४३.०१ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब रहेको छ। अघिल्लो आव बैंकको यस्तो नाफा ३ अर्ब ५१ करोड रहेको थियो।

यस्तै बैंकको खराव कर्जा गत आर्थिक वर्ष २.४८ प्रतिशत कायम भएको छ। अघिल्लो आवको तुलनामा खराव कर्जा १८.६६ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा बैंकको खराव कर्जा २.०९ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा बैंकको कष्ट अफ फण्ड ९ प्रतिशतले बढेको छ। अघिल्लो आवमा कष्ट अफ फण्ड ६.८९ प्रतिशत रहेकोमा गत असार मसान्तमा ७.५१ प्रतिशत कायम भएको छ। 

गत आर्थिक वर्ष बैंकको आधार दर १०.६ प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्ष बैंकको आधार दर ८.९० प्रतिशत रहेको थियो। गत आर्थिक वर्ष बैंकको प्रतिसेयर आम्दानी २०.६२ रुपैयाँ कायम भएको छ।

अघिल्लो आर्थिक वर्ष बैंकको प्रतिसेयर आम्दानी १४.१४ रुपैयाँ रहेको थियो। यस अवधिमा बैंकले ८ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको पुँजीकोष अनुपात १५.०५ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो कोष १५.५९ प्रतिशत रहेको थियो।

 

४. सानिमा बैंकले कमायो २ अर्ब ६१ करोड खुद नाफा, प्रतिसेयर आम्दानी २१.०१ प्रतिशत कायम

सानिमा बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणनुसार बैंकले यस अवधिमा २ अर्ब ६१ करोड रूपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले यस अवधिमा ५२ करोड ६१ लाख रूपैयाँ अर्थात् २५.१७ प्रतिशतले नाफा बढाएको छ। गत आर्थक वर्ष बैंकले ६ अर्ब ४८ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

२१ अर्ब ६१ करोड रूपैयाँ ब्याज आम्दानी गरेको यस बैंकले १५ अर्ब १२ करोड रूपैयाँ ब्याज खर्च गरेको छ। अघिल्लो आर्थिक वर्ष बैंकले ब्याज आम्दानीबाट १४ अर्ब ८५ करोड र ब्याज खर्च १० अर्ब १९ करोड गरेर खुद ब्याज आम्दानी ४ अर्ब ६५ करोड रूपैयाँ गरेको थियो। 

यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज उल्लेखरुपमा बढेको छ। अघिल्लो आर्थिक वर्ष २७ करोड ४४ लाख रूपैयाँ रहेको उक्त खर्च बढेर गत आर्थिक वर्ष १ अर्ब  ५  करोड पुगेको छ। जसले बैंकको नाफामा कमी ल्याउन उल्लेखियरुपमा भूमिका खेलेको देखिन्छ। गत आर्थिक वर्ष यस बैंकले सरकारलाई ३५ करोड रूपैयाँ कर भुक्तानी गरेको छ।

यस बैंकको वितरणयोग्य नाफा भने अघिल्लो वर्षको तुलनामा बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब २४ करोड रहेको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब २० करोड कायम भएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य नाफा करिब ९६ करोड १६ लाख रूपैयाँले बढेको छ।  

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.०२ प्रतिशत कायम भएको छ। यस्तै गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको तरलता अनुपात ३०.०१ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकसँग उल्लेखिय मात्रामा तरलता रहेको देखिन्छ। 

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७९ प्रतिशत कायम भएको छ। बैंकको कष्ट अफ फण्ड ८.२७ र आधार दर १०.१५ प्रतिशत कायम भएकाले बैंकको कर्जा तथा निक्षेप दुवैको ब्याजदर उच्च नै रहेको वित्तीय विवरण देखाएको छ। बैंकले यस अवधिमा कर्जा र निक्षेपबीचको अन्तर स्प्रेड दर राष्ट्र बैंकले तोकेकै ४ प्रतिशतको सिमाभित्र सिमित गरेको छ। अघिल्लो वर्ष बैंकको यस्तो स्प्रेड दर ३.८६ प्रतिशतमा सिमित रहेको थियो। अघिल्लो वर्षको तुलनामा स्प्रेड दर बढेकाले बैंकको नाफा तथा ब्याजदर दुवै बढ्न सहयोग पुगेको देखिन्छ।

५. सिटिजन्स बैंकको नाफा २ अर्ब २१ करोड, अधिकांश सूचकमा सुधार

सिटिजन्स इन्टरनेशनल बैंकले गत वर्ष करिब साढे २ अर्ब रूपैयाँ नाफा गरेको छ। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २१ करोड ४४ लाख २५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५६ लाख १० हजार रूपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकले १०.४१ प्रतिशत बढी नाफा गरेको हो।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत बढेर ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रूपैयाँ गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९९ करोड ३४ लाख ८९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ रूपैयाँ १२ पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रूपैयाँ ४७ पैसा बढेर १५ रूपैयाँ ५९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १५० रूपैयाँ ८ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ।

असार मसान्तसम्ममा १४ अर्ब २० करोड रूपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रूपैयाँ सञ्चित छ।  सो अवधिसम्ममा बैंकले १ खर्ब ६८ अर्ब ८४ करोड रूपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ४० करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ।

६. माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा तीन गुणाले बढ्यो

आर्थिक वर्ष २०७९/८० मा माछापुच्छ्रे बैंकले प्राय सबै सूचकमा सुधार गरेको छ। बैंकले प्रकाशित गरेको चौथो त्रैमासको विवरणअनुसार उल्लेखनीय सूचकमा सुधार देखिएको छ। विवरणअनुसार बैंकले खुद नाफा १० प्रतिशतले बढाउन सफल भएको छ। गएको वर्ष बैंकले १ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ। आर्थिक वर्ष २०७८/७९ मा बैंकले १ अर्ब ६८ अर्ब नाफा गरेको थियो। बैंकले कुल ५ अर्ब ३८ करोड आम्दानी गरेको छ। यो पनि गत वर्षको तुलनामा १० प्रतिशतले धेरै हो। 

कम्पनीको वितरणयोग्य नाफा पनि बढेको छ। विवरण अनुसार बैंकको १ अर्ब ८५ करोडमध्येबाट १ अर्ब ५६ करोड रूपैयाँ वितरणयोग्य रहेको छ। बैंकको वितरणयोग्य नाफामा उल्लेख्य सुधार आएको छ। दोबरभन्दा धेरैले यस्तो नाफामा सुधार भएको छ। आर्थिक वर्ष २०७८/७९ मा प्रतिसेयर वितरणयोग्य नाफा ५.८२ रूपैयाँ भएकोमा गएको वर्ष १५.२९ रूपैयाँ पुगेको छ। यो लगभग तीनगुणा धेरै हो। त्यस्तै बैंकको प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा ९.७५ प्रतिशतले बढेको छ भने नेटवर्थ १२.६८ प्रतिशतले सुधार भएको छ। 


प्रकाशित : शनिबार, साउन २० २०८००९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend