काठमाडौं- विदेशी मुद्रा सञ्चिति सुविधाजनक अवस्थामा रहेको भन्दै राष्ट्र बैंकले गत साउन ७ गते जरी गरेको मौद्रिक नीतिमार्फत विदेश भ्रमण वा अध्ययनमा जाने नेपालीहरूका लागि सटही सुविधाको अधिकतम सीमा १५ सय डलरबाट बढाएर २५ डलर कायम गरेको छ।
वर्षमा दुई पटकसम्म २५ सय डलरका दरले यस सुविधाको उपयोग गर्न पाउने भन्दै आइतबार राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन संशोधन गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याइसकेको छ।
राष्ट्र बैंकले उक्त व्यवस्था कार्यान्वयनमा ल्याएपनि भौतिकरुपमा नगदै २५ सय डलर सटही सुविधा भने पाइँदैन। विदेशी मुद्राको उपलब्धता तथा नगद व्यवस्थापन, सुरक्षित र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएकाले सोझै नगद सटही सुविधाको सीमा कम निर्धारण गरिएको राष्ट्र बैंकको दाबी छ। विभिन्न बैंक तथा वित्तीय संस्थामा डलर खाताको व्यवस्था गरिएकाले सोहीमार्फत अधिकतम सीमाभित्र रहेर सटही सुविधा लिन राष्ट्र बैंकले आग्रह गरेको छ।
यद्यपि डलर खाता तथा कार्ड लिन झन्झट मान्ने, समयको उपलब्धता कम भएका र यस सम्बन्धी ज्ञान नभएका सेवाग्राहीहरूको भने राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाले तोकिएको सीमाभित्र रहेर विदेशी मुद्राको सटही दिन नमानेको गुनासो गर्छन्।
राष्ट्र बैंकले सटही सुविधा बढाएको दाबी गरेपनि सो बराबरको सुविधा नपाएको भन्दै राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेका एक सेवाग्राहीले गुनासो गरे।
‘राष्ट्र बैंकले एक पटकमा २५ सय डलरको सुविधा दिने भनेर व्यवस्था गरेको छ। भुक्तानी दिने समयमा राष्ट्र बैंकले १ हजारभन्दा बढी अमेरिकी डलर साट्न मान्दैन। योभन्दा बढी चाहिए डलर खाता खोल्न भन्छ। बैंकमा गएर खाता खोल्न समय अभाव छ’, चिन्तित मुद्रामा हजार डलर देखाउँदै उनले भने, ‘अब यसैले काम चलाउनुपर्ने भयो।’
प्रभु बैंकमा २५ सय डलर नगद सटही पाउने आशमा पुगेका अर्का सेवाग्राही कर्मचारीले दुई सय डलर बराबरको मात्रै सटही सुविधा दिनसकिने जवाफ दिएपछि निरास हुँदै राष्ट्र बैंकतर्फ लागेका थिए। बाँकी रकम डलर खाता र डलर कार्डमार्फत बैंकले दिने बताएपनि उनले यसबारे आफूलाई जानकारी नरहेको बताएका थिए।
‘२५ सय डलर पाइन्छ कि भनेर बैंक आएको २ सय डलर मात्रै सटही दिने रहेछ। बाँकी रकम डलर कार्डमार्फत दिने भन्छन् तर खाता खोल्नुपर्ने र दुनियाँ कागजी प्रकृया पूरा गर्नुपर्ने रहेछ। अब राष्ट्र बैंक नै जानुपर्ने भयो’,ती सेवाग्राहीले गुनासो गरे।
बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रा नगदै ५०० डलरभन्दा बढी सटही सुविधा नदिने गरेको स्वीकार छन्। राष्ट्र बैंकले नगदभन्दा डलर खातामार्फत विदेशी मुद्रा सटहीको सुविधा दिन निर्देशन दिएको र बैंकहरूमा कमै मात्रामा विदेशी मुद्रा आउने गरेकाले विदेशी मुद्राको नगद सटहीको सीमा कम राखिएको एक बैंकरले बताए।
‘राष्ट्र बैंकले डिजिटल कारोबार गर्न स्पस्ट निर्देशन दिएकाले सीमित मात्रामा विदेशी मुद्रा सटही दिने गरेका छौँ। बैंकहरूले दिने नगद सटहीभन्दा बढी विदेशी मुद्रा चाहिएको खण्डमा डलर कार्डमार्फत लान हामीले ग्राहकलाई अनुरोध गर्छौं। त्यसै पनि वाणिज्य बैंकहरूमा सीमित मात्रामा विदेशी मुद्रा हुने गर्छ’,ती बैंकरले भने।
राष्ट्र बैंकले दिन्छ १००० डलरसम्मको नगद सटही
बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयले डलरको हकमा अधिकतम एक हजार मात्रै सटही सुविधा दिने गरेको छ। अष्ट्रेलियन, क्यान्डियन, युरो, जपानिज ऐन लगायतका अन्य विदेशी मुद्राको सटही डलरको तुलनामा अझै न्यून सटही हुने गरेको छ। अष्ट्रेलियन र क्यान्डियन मुद्रा ४०० डलरभन्दा कम मात्रै सटही हुने गरेको छ।
बैंक तथा वित्तीय संस्थाले त राष्ट्र बैंकले भन्दा अझै न्यून विदेशी मुद्राको सटही दिने गरेका छन्। प्रभु बैंकले प्रचलित हेरक विदेशी मुद्रा अधितम २०० डलर बराबरमात्रै नगद सटही दिने गरेको छ। माछापुच्छ्रे बैंकले अमेरिकी डलर ५०० र क्यानेडियन र अष्ट्रियन ३५० डलर बारबर मात्रै सटही सुविधा दिने गरेका छन्।
एभरेष्ट लगायतका अन्य बैंक तथा वित्तीय संस्थाहरूले डलर नै नभएको भन्दै नजिका सम्वन्ध भएका ग्राहकहरूलाई मात्रै सटही सुविधा दिने गरेको छ।
जसले गर्दा सोझै नगद लिएर विदेश जाने नेपालीहरू समस्यामा पर्ने गरेका छन्। उनीहरू राष्ट्र बैंकले दिने अधिकतम विदेशी मुद्रा सटही सुविधाको उपयोग गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा थप सटही लिनका लागि पुग्ने गरेका छन्।
सुरक्षित कारोबार र नगदको उपलब्धताका आधारमा डलर कार्डमार्फत २५ सय अमेरिकी डलरसम्मको सटही सुविधा दिने गरिएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल बताउँछन्।
‘सीमित मात्रामा विदेशी मुद्रा र बाँकी सीमासम्म डलर कार्डमार्फत यस सुविधाको उपयोग गर्न सकिने भयो’ पोखरेलले भने।
राष्ट्र बैंकले एकै पटकमा सबैलाई २५ सय डलर पुर्याउन नसक्ने भएकाले डलर कार्डमार्फत भुक्तानी व्यवस्था मिलाइएको र यसले जोखिम पनि कम गराउने उनले बताए।
‘विभिन्न देशका मुद्राहरू जस्तै अमेरिकन डलर, क्यान्डियन, अष्ट्रेलियन वा सिंगापुर डलरहरू राष्ट्र बैंकले एकैपटक सबैलाई २५ सय डलर बराबरको सटही पुर्याउन सक्दैन। यस हिसाबले पनि बैंकहरूमार्फत २५०० डलरसम्मको सीमाभित्र रहेर थोरै नगद र बढी डलर कार्डमार्फत भुक्तानीको व्यवस्था मिलाउने मिलाएका हौँ। यसले डिजिटल तथा सुरक्षित कारोबारमा मद्दत पुर्याउने राष्ट्र बैंकको बुझाइ छ’, उनले भने।
राष्ट्र बैंकसँग विभिन्न देशमा रहेका स्क्रो एकाउन्टमा विदेशी मुद्राहरू रहने गर्दछन्। जसमध्ये सीमित मात्रामा मात्रै विभिन्न देशका मुद्राहरू चलनचल्तिमा रहेका हुन्छन्। उक्त सीमित मुद्रामार्फत अधिकतम सेवाग्राहीलाई सटही दिने उद्देश्यले डलर खाता र कार्डमार्फत भुक्तानीमा जोड दिने गरिएको छ।
राष्ट्र बैंकले विभिन्न देशबाट प्राप्त ठूलो मात्राको विदेशी मुद्रा भौतिकरुपमा नगद प्राप्त नगरी डिजिटलरुपमा भुक्तानी लिने र फर्छ्यौट(सेटलमेन्ट) गर्ने गर्दछ। राष्ट्र बैंकको विभिन्न देशमा खाता हुने र सोही खातामार्फत राष्ट्र बैंकले प्राप्त गर्ने रकम र भुक्तानी दिनुपर्ने अधिकांश कारोबार डिजिटलरुपमा राफसाफ हुने पोखरेल बताउँछन्। भौतिकरुपमा नगदै विदेशी मुद्रा भित्र्याउँदा ‘ह्याण्डलिङ कष्ट’ बढी पर्ने भएकाले पनि डिजिटल भुक्तानी गरिएको उनको भनाइ छ।