पोखरा- पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजनाअन्तर्गत यहाँको कार्य अगाडि बढेको छ।
धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको उक्त गुफाको सौन्दर्यकरण एवं संरचना निर्माणका लागि प्रदेश सरकारमार्फत विनियोजित १० करोड रूपैयाँबाट भौतिक संरचनाको काम अघि बढाइएको महेन्द्र गुफा चमेरे गुफा पर्यटन विकास समितिका सदस्य सचिव शिशिर पौडेलले जानकारी दिए।
उनका अनुसार पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको महेन्द्र गुफा र चमेरे गुफा पोखराका प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा पर्छन्। ७२ वर्ष लामो इतिहास बोकेको यस गुफामा पर्यटकलाई थप आकर्षित गर्न तयार गरिएको गुरुयोजनाअन्तर्गत गन्धर्व संग्रहालय, ढुंगे धारा, म्युजियम, स्कप्चर, अडिटोरियम हल, बगैँचा, गजेवो, एम्पीथियटर, वाटर फाउन्टेन, पारागोलालगायतका संरचना निर्माण कार्य भइरहेका छन्।
विसं २०१६ मा तत्कालीन राजा महेन्द्र बाटुलेचौर आउँदा त्यहाँका स्थानीयले गुफाको अवलोकन गर्न लगेका र तत्पश्चात् गुफाको नाम महेन्द्र गुफा रहन गएको थियो। त्यसअघि यसको नाम अँधेरी भुवन भनेर चिनिन्थ्यो। महेन्द्र गुफाबाट पाँच सय मिटरको दुरीमा चमेरे गुफा पर्छ। गुफाभित्र पसेपछि चट्टानभरि झुन्डिएका चमेराका लोभलाग्दा दृश्य देख्न सकिन्छ।
यस गुफामा चमेराहरू भएकाले यसको नाम चमेरे गुफा रहन गएको मानिन्छ। दुई सय मिटर लामो रहेको चमेरे गुफामा ‘एडभेन्चर क्लाइमिङ’ गरेर पनि बाहिर निस्कन सकिने र विश्वका दुर्लभ पाँच प्रजातिका चमेरा पनि पाइने भएकाले यसको थप महत्व रहेको पौडेलको भनाइ छ।
गुफा हेर्नका लागि विद्यार्थीलाई तीस रूपैयाँ र अन्य आन्तरिक पर्यटकलाई ५० रूपैयाँ शुल्क राखिएको छ। भारत र सार्क मुलुकका पर्यटकका लागि ८० र अन्य विदेशी पर्यटकका लागि एक सय ५० रूपैयाँ शुल्क तोकिएको छ।
आर्थिक वर्ष २०७९/८० मा यस गुफाबाट करिब एक करोड ७० लाख रूपैयाँ आम्दानी भएको पौडेलले जानकारी दिए। पछिल्लो समय गुफा हेर्न जाने भारतीय पर्यटकको संख्या उल्लेख्य रहेको छ।
महेन्द्र गुफाको लम्बाइ एक सय २५ मिटर छ। विसं १९९० को भूकम्पअघि गुफाभित्रबाट कालिखोलासम्म निस्केको अनुभव अग्रजहरूले सुनाउने गरेको महेन्द्र गुफाका पुजारी श्रीराम अधिकारी बताउँछन्। गुफामा हिन्दू धर्मसंस्कारसँग जोडिएका विभिन्न भगवान्का मूर्ति एवं आकृति देख्न सकिन्छ। गुफाको अन्तिम विन्दुमा जलविनायकको आकृति र त्योसँगै जलकुण्ड छ। जलकुण्ड कहाँबाट कसरी निर्माण भयो भन्ने विषय रहस्यमय रहेको पुजारी बताउँछन्।
गुफाको संरक्षक संस्थाको रूपमा विन्ध्यवासिनी मावि रहेको छ। यो सामुदायिक विद्यालय नमूना विद्यालय हो। चमेरे गुफा विन्ध्यवासिनीकै स्वामित्वमा रहेको छ। उक्त विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले महेन्द्र गुफा चमेरे गुफालाई उत्कृष्ट गन्तव्य बनाउन करिब २४ करोड रूपैयाँको गुरुयोजना तयार गरेको जानकारी दिए। 'हामीले बृहत् योजना तयार गरेर प्रदेश सरकारसमक्ष बुझाएका छौँ। पहिलो चरणमा १० करोड रूपैयाँ विनियोजित भएर केही काम हुँदैछ', उनले भने, 'आगामी दिनमा थप सौन्दर्यकरणका लागि हाम्रो पहल निरन्तर हुनेछ।' गुफाबाट प्राप्त आम्दानीले त्यस क्षेत्रको मात्र नभई आसपासको भौतिक तथा पर्यटकीय विकासका लागि पनि आफूहरूले सहयोग गरेको उनको भनाइ छ।
परियोजना सम्पन्न भएपश्चात वडा नं १६ स्थित महेन्द्र गुफा र चमेरे गुफा पोखराका उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्नका लागि थप प्रचार-प्रसार गरिने वडाध्यक्ष अमृत शर्मा तिमिल्सनाले जानकारी दिए। 'वडा नं १६ मा क्रेजी गुफा, कुमारी गुफा, गौतमबुद्ध गुफा पनि रहेकाले गुफा कनेक्टिङ रोड बनाउने प्याकेजको कार्यक्रम तय गरिएको छ', तिमिल्सनाले भने।
उनले कुमारी गुफाका लागि पर्यटन मन्त्रालयबाट २० लाख रूपैयाँ विनियोजन भएर केही पूर्वाधारका काम सम्पन्न भएको र आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको जानकारी दिए।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट विनियोजित रकमबाट निर्माण कार्य अगाडि बढेको महेन्द्र चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए। उनका अनुसार अहिले ५५ प्रतिशत कार्य सम्पन्न भएको छ।
निर्माण कार्यको जिम्मा पाएको कम्पनीका आयोजना प्रमुख राकेश श्रेष्ठ गत असोज १ देखि आगामी भदौ १९ गते सम्पन्न गर्ने सम्झौता भए पनि सुरुवातमा केही प्राविधिक समस्या उत्पन्न भएकाले समयमै निर्माण कार्य सम्पन्न गर्न नसकेको जानकारी दिए।
महेन्द्र गुफा चमेरे गुफालगायतका गुफासँगै पोखरा-१७ मा रहेको गुप्तेश्वर गुफाले पनि पर्यटकलाई लोभ्याउने गरेको छ। योसँगै भलाममा पनि हरिहर सन्यासी गुफा रहेको छ। हरिहर सन्यासी गुफामा विशेषगरी बालाचतुर्थीका अवसरमा सतबिज छर्नका लागि भक्तजन जाने गर्दछन्। रासस