आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजार लगातार १२६ अंकले घट्यो, नीतिगत साथ नपाएको भन्दै लगानीकर्ता पर्ख र हेरकै अवस्थामा

आइतबार, साउन १४ २०८०
सेयर बजार लगातार १२६ अंकले घट्यो, नीतिगत साथ नपाएको भन्दै लगानीकर्ता पर्ख र हेरकै अवस्थामा

काठमाडौं- उतारचढावमा रहँदै वृद्धितर्फ बढ्न थालेको सेयर बजार मौद्रिक नीतिपछि लगातार १२६.८१ अंकले घटेको छ। मौद्रिक नीतिमार्फत साथ पाउने अपेक्षामा रहेका लगानीकर्ताहरू अहिले सन्तुष्ट हुन सकेका छैनन्। केही सीमितको चलखेलमा रहने बजार अझै केही समय उतारचढावमा नै रहने देखिएको छ।

यो साता आइतबारको पहिलो कारोबारमा २६.१४ अंकले घटेर बजार २१००.३४ बिन्दुमा झरेको छ। १८ कम्पनीको मात्र सेयर मूल्य बढ्दा २ अर्ब ५० करोड २८ लाख रूपैयाँको कारोबार भएको छ। १८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता आइतबार मौद्रिक नीति सार्वजनिक हुँदै गर्दा लगानीकर्ता उत्साहित हुँदै बजार उचालिएको थियो। आइतबार ६३.२४ अंकले बढेर २२२७.१६ बिन्दुमा उक्लिएको बजार सोमबार २६.६६ अंकले घटेको थियो। मंगलबार ३६.१९, बुधबार ८.११ अंकले घटेको बजार बिहीबार पनि २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा झरेको थियो। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। लगातार बजारमा देखिएको उतारचढावले आत्तिएको समयमा मौद्रिक नीतिले पनि स्पष्ट विषय अगाडि नसार्दा लगानीकर्ताहरू अगाडि बढ्न नसकेको विश्लेषकहरू बताउँछन्।

सेयर कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणासहित मौद्रिक नीति सार्वजनिक गरेसँगै उचालिएको बजार अहिले कमजोर बनिरहेको छ। ५० लाखको सेयर धितो कर्जा सीमासम्म मात्रै १०० प्रतिशतको जोखिम भार कायम गरेर ठूला ऋणीलाई १५० प्रतिशत नै जोखिम भार राखिएको विषयले संगठित लगानीकर्ताहरू बेखुसी छन्। 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा पुनः अंशुक लगाउँदै साना लगानीकर्तालाई प्रोत्साहनको नीति लिएको छ। तर सधैँ केही सीमित लगानीकर्ताको घेराबन्दीमा परिरहने सेयर बजारमा साना लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै रहेका छन्। 


प्रकाशित : आइतबार, साउन १४ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend