आइतबार, वैशाख २३ गते २०८१    
images
images

प्रांगारिक खेती अभियानमा भरतपुरका छवि न्यौपाने, अन्यको तुलनामा २० प्रतिशत बढी मूल्य

images
images
images
प्रांगारिक खेती अभियानमा भरतपुरका छवि न्यौपाने, अन्यको तुलनामा २० प्रतिशत बढी मूल्य

आफैले विभिन्न मल र औषधि तयार गरेर तरकारी तथा खाद्यान्न उत्पादन गर्दैगर्दा वर्षमा ३० लाख रूपैयाँ हाराहारीको बिक्री गर्न सकेको उनी बताउँछन्। उनले जग्गाको अवस्था हेरेर प्रतिकट्ठा एक वर्षको एक हजारदेखि चार हजार रूपैयाँसम्म तिर्ने गरी भाडामा लिएर खेती गर्दै आएका छन्।

images
images

चितवन- यहाँका एक किसानले प्रांगारिक खेती अभियान सञ्चालन गरेका छन्। भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्रांगारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोडेका हुन्।

images
images
images

न्यौपानेले भरतपुर-२५ मा नौ बिघा र वडा नं २८ मा सात बिघा जमिनमा प्रांगारिक तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका छन्। उनले प्रांगारिक मल र विषादी आफैले बनाएर प्रयोग गर्ने गरेका छन्।

images

मौसमअनुसारको तरकारीसँगै उनले खाद्यान्नबाली धान, गहुँ, मकै, तोरी लगाउने गरेका छन्। उनले गोठे मल, कम्पोष्ट मल, जीवामृत, पञ्चामृत, वेष्ट डिकम्पोजर, निमास्त्रजस्ता मल र विषादी आफैले उत्पादन गर्दै आएको बताए। विसं २०७४ देखि तरकारीखेती सुरू गरेका उनी त्यसको दुई वर्षपछि पूर्णरुपमा प्रांगारिक खेतीतर्फ लागेका हुन्।

images

उनका अनुसार वस्तुको आलो गोबर र पिसाबबाट जीवामृत बनाउने गरिन्छ। त्यसमा दालको पिठो, भेली, अक्सिजन दिने रुखमुनिको माटो मिसाएर जीवामृत बनाइन्छ। यसले माटोलाई मलका रुपमा परिणत गर्दछ। मौसमअनुसार १५ देखि २२ दिनसम्म राखेपछि यो तयार हुन्छ। यसलाई भाडोमा राखेर ‘स्प्रे’ गरिन्छ।

images
images

उनले धनजीवामृत बनाएर मलको काम गराउँदै आएका छन्। यसमा जीवामृतमा प्रयोग हुने सामग्रीमा पिना र उखुको छोक्रा मिलाएर ४५ दिन राखेपछि तयार हुन्छ। यसले मलको काम गर्दछ। बोटको डाँठ र जरालाई बलियो बनाउन पञ्चामृत उनी आफैले बनाउने गरेका छन्। यसले धेरैभन्दा धेरै फूल फुलाउने, फूल र बतिला झर्नबाट जोगाउने गर्दछ। एउटा भाँडोमा आलो गोबर घिउ मिसाएर चार पाँच दिन राख्ने गरिन्छ। यसैगरी अर्को भाडामा दूध, दही, केरा, भेली, हरियो नरिवलको पानी, बजारको केमिकल युक्त दाना नखाएको गाईको पिसाब, घोलेर चार पाँच दिन राखिन्छ। दुवैलाई मिसाएर ड्रममा बिर्को लगाएर २०-२२ दिन राख्नुपर्ने उनी बताउँछन्। दैनिकरुपमा यसलाई चलाउनुपर्छ। यसले पोषणको काम गर्दछ।

‘वेष्ट डिकम्पोजर’ उनले बनाउने गरेका छन्। यसको मुख्य बीउ भारतबाट आउँछ। त्यो गाईको पिसावबाट बनेको हुन्छ। त्यसमा भेली र पानी हालेर राखेर बनाउनुपर्छ। दुई सय लिटर पानीको ट्यांकीमा यो झोल १० लिटर र दुई किलो भेली मिसाएर बढीमा १० दिनमा तयार गरिन्छ। न्यौपानेले यसले बालीको जरालाई स्वस्थ बनाउने र हानिकारक किटाणुसँग लड्न सहयोग पुर्‍याउने बताए।

किरा नियन्त्रणका लागि उनले निमास्त्र बनाउने गरेका छन्। निमको पात, तितेपाती, सीताफलको पात, गाईको शुद्ध पिसाब मिसाएर एक महिना राखेपछि छानेर यसमा पानी थपेर बालीमा प्रयोग गरिन्छ। ढुसीका लागि आँकको पात, गाईको पिसाब बाक्लो हुने गरी पकाउने, अर्को भाँडामा मेवाको पात र पिसाब पनि बाक्लो हुने गरी पकाउने तथा सेलाएपछि दुवै मिसाउने गरिन्छ। यसमा घरको शुद्ध बेसार, पिरो खुर्सानीको लेदोसमेत मिसाएर एक हप्ता राख्ने गर्नुपर्छ। एक हप्तापछि लसुनको लेदो बनाएर मिसाउनु पर्छ। यसलाई ड्रममा राखेर १५ देखि २० दिनसम्म दैनिक घोलेपछि यो तयार हुन्छ।

दुई सय ५० मिलिलिटर यो झोल १६ लिटर पानीमा मिसाएर छरेपछि ढुसी नियन्त्रण हुने न्यौपाने बताउँछन्। यसरी आफैले विभिन्न मल र औषधि तयार गरेर तरकारी तथा खाद्यान्न उत्पादन गर्दै गर्दा वर्षमा ३० लाख रूपैयाँ हाराहारीको बिक्री गर्न सकेको उनी बताउँछन्। उनले जग्गाको अवस्था हेरेर प्रतिकट्ठा एक वर्षको एक हजार दुई सय रूपैयाँदेखि चार हजार रूपैयाँसम्म तिर्ने गरी भाडामा लिएर खेती गर्दै आएका छन्। प्रांगारिक खेती भएकाले अन्यको तुलनामा २० प्रतिशत हाराहारी बढी मूल्यमा उनले तरकारी तथा खाद्यान्न बिक्री गर्छन्।

यहाँको उत्पादन बागलुङ, पोखरा र काठमाडौं जाने गरेको छ। उनले मकैको च्याख्ला बनाएर बिक्री गर्दै आएका छन्। आफ्नो वडालाई कम्तीमा ‘विष पकाउन छोड’ भन्ने अभियान उनले सुरू गरेका छन्। स्थानीय २१ घरधुरीलाई रोजगारी दिलाउँदै आएका न्यौपाने प्रांगारिक उत्पादनको महत्व अझै बुझाउन नसकेको बताउँछन्।

रासायनिक मल र विषादी प्रयोग गरेको तुलनामा सस्तोमा आफूले उत्पादन गर्न सकेको उनको भनाइ छ। उनले भने, 'मलाई महँगोमा बेच्नै पर्दैन, किनभने मेरो उत्पादन लागत नै सस्तो छ।' आफैले मल र औषधि उत्पादन गर्ने भएकाले कम खर्चमा उत्पादन धेरै गर्न सकेको उनको भनाइ छ। रासस

images

प्रकाशित : आइतबार, साउन १४ २०८००७:४२

प्रतिक्रिया दिनुहोस