शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

‘इच्छाशक्तिका अगाडि शारीरिक दुर्बलता गौण बन्दोरहेछ’

images
images
images
‘इच्छाशक्तिका अगाडि शारीरिक दुर्बलता गौण बन्दोरहेछ’

अपांगमैत्री स्कुटीमा दैनिकजसो मिठाईका बट्टा बेच्दै हिँड्ने नन्दप्रसादले व्यापार विस्तार गरेर खुद्रा पसलसमेत थापेका छन्। वार्षिक कारोबार रकम करिब पाँच लाख रूपैयाँ गर्दै आएका उनीहरुको लगानी कटाएर वार्षिक एक लाख रूपैयाँभन्दा बढी नै बचत हुन्छ।

images
images

सुर्खेत छिन्चु- सेतै फुलेका कपाल। एक छेउमा उनी अनि अर्को छेउमा श्रीमती। साथैमा एउटा समाउने लौरी राखेर एक दम्पती मिठाईका डब्बा बनाउने काममा तल्लीन छन्। अर्डर पुर्‍याउन भ्याइनभ्याइ छ उनीहरुलाई। 

images
images
images

यो दम्पतीको काम हेर्दा उनीहरु शारीरिक रुपमा अशक्त छन् भन्ने पटक्कै लाग्दैन। करिब ६८ वर्षीय नन्दप्रसाद चौलागाईं आफ्नो नियमित काममै व्यस्त भेटिन्छन्, सधैँजसो। ‘सुर्खेत स्विट बक्स’ व्यवसायबाट मिठाईका बट्टा उत्पादन गर्नमै व्यस्त छन्। शारीरिक अवस्थाका हिसाबले उनका दुवै खुट्टा चल्दैनन्। यो अवस्थामा रहेका वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेत इत्राममा बस्दै आएका चौलागाईंको जीवन धेरैले सोचेभन्दा भिन्न छ।

images

उनकी श्रीमती नन्दारुपाले पनि दुवै आँखा देख्दिनन्। पाँच जनाको परिवारमा छोरीमा पनि बौद्धिक (सुस्त मनस्थिति) अपांगता छ। तर पनि यो परिवार अरू कसैको दयामायाले नभएर आफ्नै पौरखमा बाँचिरहेको छ।

images

मागेर जीवन गुजारा गर्ने भनेको नै हातखुट्टा सद्दे नहुने अर्थात् शारीरिकरुपले अपांगहरुले मात्रै हो। सबलांगहरुले त काम गरेर खाने हो भन्ने सामाजिक मान्यताका कारण कतिपयले उनलाई दयाभाव देखाउँदा पनि उनले कहिल्यै आश गरेनन्। उनी भन्ने गर्छन्, 'शरीरको एक अंग कमजोर भए पनि अर्को अंग ठीक छ भने किन अर्काको आश गर्ने?' उनको मेहनत, लगनशीलता र सफलता देखेर धेरै मानिस छक्क पर्दछन्।

images
images

वीरेन्द्रनगर एयरपोर्ट नजिकै रहेको इत्राम खोलापुल पूर्वको चोकदेखि चार सय ५० मिटर दक्षिणमा एउटा साधारण घरमा उनले आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। मिठाई प्याक गर्ने कागजका चारकुने बट्टा बनाउने काममा ध्यानमग्न चौलागाईंले उद्योग थालेको अहिले २२/२४ वर्षमा लागिसकेको छ।

'उमेर बढ्दै गएर होला अहिले हातगोडा थाकेका छन् जागर पनि सेलाउँदै गएको छ', उनी सुनाउँछन्। दृष्टिविहीन भए पनि काममा उनकी पत्नी नन्दारुपाले सघाउँदै आएकी छिन्। चौलागाई दम्पतीले ‘सुर्खेत स्वीट बक्स’ व्यवसाय सञ्चालन गरेको दुई दशकभन्दा धेरै भएको छ। शारिरीक अपांगतासँगै उद्योग व्यवसाय सञ्चालन गर्नु र त्यसलाई निरन्तरता दिने काम आफैमा कम चुनौतीपूर्ण छैन तर पनि यी दुईको जोडी पारिवारिक रुपमा मात्र जमेको छैन व्यवसायमा पनि उत्तिकै जमेको छ।

नन्दप्रसाद २०५२ सालमा आफ्नो श्रीमतीको आँखाको उपचारका लागि सुर्खेत झरेका थिए। जुम्लामा खेतीपाती गर्दै गुजारा गरी जेनतेन जीवन गुजारा चल्दै थियो। पछि कम्मरमुनिको भाग अचानक चल्न छोडेपछि उनी उपचारका लागि सुर्खेत झरेका थिए। सुर्खेतलगायत देशका विभिन्न स्थानमा उपचार गराउँदा पनि सामान्य अवस्थामा आउन नसकिएको उनले दुःखेसो पोखे।

विसं २०४१ मा चौलागाईको जीवनमा आइपरेको समस्या त्यतिमा मात्र सीमित रहेन। आफ्नो खुट्टा नचल्ने भएपछि श्रीमतीको भरमा परेका उनलाई केही वर्षपछि अर्को विपद् आइलाग्यो। नन्दरुपाको पनि अकस्मात् दुवै आँखाको ज्योति गुम्यो। तैपनि चौलागाईं दम्पतीले हरेश खाएन र मिठाईका लागि आवश्यक पर्ने बट्टाको व्यापार सुरु गर्‍यो। पीडामै जेनतेन जीवन गुजारिरहेका बेला छोरी जन्मिइन्। ती पनि सुस्त मनस्थितिकी।

उनीहरुले थप संघर्ष गर्ने अठोटसहित व्यापारलाई निरन्तरता दिइरहे। उनीहरुको त्यो आत्मविश्वासले अन्य अपांगता भएकाले पनि समाजमा केही गर्न सक्छन् भन्ने कुराको उदाहरण दिएको छ। एक रथका दुई पाङ्ग्रा जस्तै यो दम्पति एक अर्काको भरमा बाँचेको छ।

अपांगमैत्री स्कुटीमा दैनिकजसो मिठाईका बट्टा बेच्दै हिँड्ने नन्दप्रसादले व्यापार विस्तार गरेर खुद्रा पसलसमेत थापेका छन्। अपांगता भएर पनि पौरखी काम गर्दै आएका उनले मासिक करिब दुई हजार मिठाईका बट्टा उत्पादन गर्दै आएको बताउँछन्। उनको साहस, संघर्ष र सफलताको कथा सपांग व्यक्तिहरुको लागि पनि प्रेरणाको स्रोत बनेको छ। वार्षिक कारोबार रकम करिब पाँच लाख रूपैयाँ गर्दै आएका उनीहरुको लगानी कटाएर वार्षिक एक लाख रूपैयाँभन्दा बढी नै बचत हुन्छ।

चौलागाईंको परिवारको मुख्य आयस्रोत नै व्यवसाय नै हो। दुई छोरा र एक छोरीसहति परिवारमा पाँच जना सदस्य छन्। व्यवसायलाई उनको परिवारका सदस्यले आफ्नै श्रममा चलाएका छन्। फुर्सदको समयलाई सदुपयोग गर्दै प्रयोग हुने श्रमले व्यवसायका लागि अन्य कामदार राख्नु नपरेको उनी बताउँछन्।

नन्दप्रसाद व्यवसायी हुनुभन्दा पहिला सिपाही थिए। उनले तत्कालीन शाही नेपाली सेनामा २४ वर्ष एक महिना सेवा गरेका थिए। विसं २०३२ चैत १ गते सेनाको सिपाही दर्जाबाट सेवा सुरु गरेका उनले सेनाको अमल्दार पदबाट अवकाश लिएका थिए। सेनामा सेवारत रहँदा नै प्याराप्लेजिया रोगले च्याप्दै गयो र अन्ततः उनका दुवै खुट्टाले काम गर्न छाडे। आफ्नो साहसिक संघर्ष र लगनशीलताको यात्राबाट उनले जीवन विचलित भएन र आज एक सफल व्यवसायी बनेका छन्।

'जागिरको क्रममा प्याराप्लेजिया रोगले थलिएँ। जुम्लाबाट उपचारका क्रममा काठमाडौं आवतजावत पनि सम्भव भएन' उहाँले विगत सम्झँदै भने, 'उपचारमा सजिलो होला भन्ने सोचेर नै वीरेन्द्रनगरमा बसाई सरेको हुँ।'

जुम्लाको तत्कालीन लाम्रा गाउँ विकास समिति वडा नं ४ लाम्रा गाउँमा जन्मिएका उनी २०५२ सालमा सुर्खेत बसाईँसराई गरी आएको र सो समयमा दश धुर जग्गाबाट बसाई सुरु गरिएको उनले बताए।

कामप्रतिको लगाव, मेहनत र परिश्रमले होला अहिले वीरेन्द्रनगरमै एक कट्ठा १५ धुर घडेरी र सात कट्ठा १० धुर खेत जोडेका छन्। विसं २०५५ मा वीरेन्द्रनगर नगरपालकिाको आर्थिक सहयोग र सुर्खेत नेत्रहीन संघको आयोजनामा कागजी सामग्री उत्पादन’ सम्बन्धी एक हप्ते तालिमपछि नन्दप्रसादले मिठाईको बट्टा बनाउन थालेका हुन्। सो तालिममा २५ जनाको सहभागिता थियो तर सुर्खेतमा अहिले यो व्यवसाय सञ्चालन गर्ने नन्दप्रसाद मात्र एक्लो प्रशिक्षार्थी छन्।

उनले भने, 'तालिमपछि कागजका थैला, झोला, मिठाईका बट्टा बनाउन जानेका छौँ। सुरुवाती समयमा हामीले बनाएका मिठाईका बट्टाले बजार पाए। तर कागजका थैलाहरुमा भने ध्यान जान सकेन। त्यसको व्यवसाय प्लाष्टिकले ओगट्यो।' हालको समयमा कागजका थैलाहरुको उत्पादन बजारमा ल्याउन सके वस्तुको पुनःप्रयोग र वातावरणमा समेत सुधार आउने उनको भनाइ छ।

बजारमा हालको समयमा प्लाष्टिकको प्रयोग बढ्दै जाँदा भने यसले वातावरणीय प्रदूषणका साथै नागरिकको स्वास्थ्यमा समेत असर गरिरहेको उनी बताउँछन्। उनी भन्छन्, 'खेर जाने कागजबाट सामग्री बनाएर सदुपयोगमा ल्याउन कुरामा नागरिकमा पनि जनचेतनाको विकास भइरहेको छ।'

पछिल्लो समय प्लाष्टिकको प्रयोगले ल्याउने वातावरणीय र स्वास्थ्यमा पर्ने असरका बारेमा सर्वसाधारणमा विस्तारै चेतनाको विकास हुन थालेपछि कागजका थैलालगायतको उत्पादनले बजार पाउने नन्दप्रसाद विश्वस्त देखिन्छन्। यसका लागि बजारमा कच्चा पदार्थ पनि खेर गइरहेका छन्। छापाखाना, सरकारी कार्यालयलगायतका क्षेत्र कागजका भरपर्दो स्रोत हुन्। रासस

images

प्रकाशित : शुक्रबार, साउन १२ २०८०१०:०४

प्रतिक्रिया दिनुहोस