आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मौद्रिक नीतिको ब्रिफिङपछि गभर्नरलाई अर्थमन्त्रीको प्रश्न - निजी क्षेत्रले किन विरोध गरे? 

बुधबार, साउन १० २०८०
मौद्रिक नीतिको ब्रिफिङपछि गभर्नरलाई अर्थमन्त्रीको प्रश्न - निजी क्षेत्रले किन विरोध गरे? 

उक्त भेटघाटमा अर्थमन्त्रीले समग्रमा मौद्रिक नीति सन्तोषजनक रहेको बताएका थिए। कार्यविधि र मार्गदर्शन जारी गर्दा थप सजगता अपनाउन उनले सुझाव दिएका छन्। 

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई मौद्रिक नीतिका बारेमा ब्रिफिङ गरेका छन्। 

आज बिहान गभर्नर अधिकारीले मौद्रिक नीतिका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए। नीतिगत व्यवस्था र त्यसको प्रभाव र कारणका बारेमा उनले प्रष्ट पारेका थिए। 

सो क्रममा अर्थमन्त्री महतले भने निजी क्षेत्रको असन्तुष्टिका बारेमा जिज्ञासा राखेका थिए। ‘तर पनि निजी क्षेत्रको विरोध किन भयो?’ अर्थमन्त्रीले प्रश्न गरेका थिए। 

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिप्रति निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले असन्तुष्टि जनाएका थिए। शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनका लागि नीतिले प्रष्ट मार्गदर्शन नगरेको भन्दै उनीहरूले विरोध गरेका छन्। 

निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने सरकारको नीतिमात्र होइन अहिलेको आवश्यकता पनि रहेको बारेमा अर्थतन्त्रले जानकारी गराएका थिए। 

उद्योगी व्यवसयीहरूले तत्काल चालु पुँजी कर्जा मार्गदर्शन स्थागनको माग राखेको भएपनि नीतिमा त्यस्तो नगरेकोमा असन्तुष्ट भएको गभर्नर अधिकारीले अर्थमन्त्रीलाई जानकारी गराएका थिए। 

‘यसका बारेमा अहिलेकै नै निष्कर्षमा पुग्न सकिँदैन र बैंकहरूसँगको छलफलपछिमात्र काम गर्न सकिन्छ भनेर नीतिगत व्यवस्था गरिएको छ’ गभर्नर अधिकारीले भनेका थिए। 

गभर्नर अधिकारीले मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धिदर हुनेगरि स्रोत परिचानको लक्ष्य लिएको जानकारी गराएका थिए। कर्जाको परिचालन उत्पादनमूलक क्षेत्रमा हुनेगरि नीतिगत घोषणा भएको र मार्गदर्शन र कार्यविधिबाट अझ त्यसलाई प्रष्ट पारिने उनको भनाइ थियो।

११.५ प्रतिशतको कर्जा विस्तारले लक्षित आर्थिक वृद्धिदर हुन्छ कि हुँदैन भन्ने अर्थमन्त्रीको जिज्ञासामा गभर्नरले कर्जाको विस्तार लक्षित र उत्पादनमूलक क्षेत्रमा हुने भएकाले वृद्धिदरको लक्ष्य प्राप्तमा सहयोगी हुने विश्वास व्यक्त गरेका थिए। 

मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउनका लागि स्रोतको किफायति परिचालन रहेको र सचेतनापूर्व नीतिगत कदम अघि बढाउनेमा केन्द्रीत रहेको अधिकारीले बताएका थिए। 

उक्त भेटघाटमा अर्थमन्त्रीले समग्रमा मौद्रिक नीति सन्तोषजनक रहेको बताएका थिए। कार्यविधि र मार्गदर्शन जारी गर्दा थप सजगता अपनाउन उनले सुझाव दिएका छन्। 


प्रकाशित : बुधबार, साउन १० २०८००६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend