सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सिँचाइ अभावले रोपाइँ ढिला, आकाशे पानी पर्याप्त भएन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १० २०८०
सिँचाइ अभावले रोपाइँ ढिला, आकाशे पानी पर्याप्त भएन

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले समयमा पर्याप्त वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझिने क्रम बढेको जानकारी दिए।

तनहुँ- असार महिना विशेषगरी धान रोप्ने समय हो। असारको अन्तिम सातासम्म प्रायःजसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो। तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ।

पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको भानु नगरपालिका-२ का देवबहादुर कमली बताउँछन्। उनी भन्छन्, 'यस वर्ष त रोपाइँ नै ढिला भयो, विगतमा असारको २२/२३ गतेसम्ममा रोपाइँ सकिन्थ्यो, अहिले साउनको आधी समय घर्किन लागिसक्यो, रोपाइँ सकिएको छैन।'

रोपाइँ गर्ने बेलामा पानी नपर्दा किसानलाई सास्ती नै सास्ती छ। पानीको जोहो होला र अनी धान रोपौँला भनेर किसान पर्खेर बसेका छन्। व्यास नगरपालिका-७ कलेस्तीका शिवलाल प्रधानले पानी अभावले आधा खेतमा मात्रै रोपाइँ गरिएको बताए। 'बल्लतत्ल आधी खेलमा रोपाइँ सकियो, यसपाली राम्रो उब्जनी हुँदैन भन्ने डर छ', उनले भने।

कुवा, पधेँरो, खोला र खोल्सीको पानीले खेती गरिने खेतमा पानीको अभावले धान रोपाइँ गर्न सकिएको छैन। 'पहिला त जेठदेखि नै पर्याप्त पानी पथ्र्यो, यसपाली त न पानी पर्यो, न खेत रोप्न सकिएको छ, किसानलाई जताबाट पनि सास्ती नै सास्ती छ', प्रधानले भने।

पर्याप्त वर्षा भएपछि कुवा, पधेँरो, खोला, खोल्सीको पानीको मुहान बढेर आएपछि सबैजसो खेतमा धान रोपिने गरेको व्यास-७ का प्रदीप घिमिरे बताउँछन्। 'यस वर्ष पानी नपर्दा खेतीयोग्य जमिन बाँझिदैछन्', उनले भने। 

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले समयमा पर्याप्त वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझिने क्रम बढेको जानकारी दिए। 'समयमा वर्षा भएको भए सबै खेतमा रोपाइँ हुने थियो, यस वर्ष १५ प्रतिशत खेतीयोग्य भूमि बाँझै रहने देखिन्छ', उनले भने- 'विगतका वर्षमा असार मसान्तमा अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो, तर यस वर्ष किसान वर्षाको पर्खाइमा छन्।'

यस वर्ष साउन ९ गतेसम्ममा ७५ प्रतिशतमात्रै रोपाइँ सकिएको प्रमुख तिवारीले जानकारी दिए। 'केही वर्षा भएकाले यस वर्ष ८५ प्रतिशत रोपाइँ हुने देखिएको छ', उनले भने। वर्षा नहुँदा खेती हुने फाँटमै पानी नपुगेर रोपाइँ नभएको पाइएको उनले बताए। जिल्लामा कुल ११ हजार हेक्टरमा बर्खे धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। उक्त जग्गामा तनहुँमा २४ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ।

जिल्लामा रामधान, सावित्री, हर्दिनाथ १, हर्दीनाथ हाइब्रिड १ लगायतका धान लगाउने गरिएको छ। सिँचाइ सुविधा भएका चुँदीफाँट, कलेस्ती फाँट, माझफाँट, साँगे फाँट, पुट्टार फाँट, रिस्ती फाँटलगायत फाँटमा पर्याप्त मात्रामा धान फल्छ। रासस


प्रकाशित : बुधबार, साउन १० २०८००४:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend