सोमबार, जेठ ७ गते २०८१    
images
images

मध्य बर्खामै सिँचाइ गर्न आलोपालो

images
मंगलबार, साउन ९ २०८०
images
images
मध्य बर्खामै सिँचाइ गर्न आलोपालो
फाइल तस्बिर

कुलाको पानीको अवस्था हेरि आफ्नो पालोका दिन सबै किसानले कुलाको स्याहार गर्दै मुहानसम्म पानी लिन जानैपर्ने र पानी लगाउने पालो भएको दिन अर्थात् २४ घण्टासम्म खेतमा पानी हाल्ने पाउने नियम बनाएका छन्। कसैले नियमको उल्लंघन गरे तीन हजार पाँच सय रूपैयाँ जरिवाना गरिने चेतावनी दिने गरिएको छ।

images
images

टीकापुर- कैलालीको टीकापुर नगरपालिका-३ का किसान सरोज चौधरीले असारको १५ तिर धान खेत रोपेर सकेका हुन्। तर धान रोपाइँ सकिएको २० दिन नपुग्दै धान खेत झारले ढाकेको छ।

images
images
images

रोपाइँमा पर्याप्त सिँचाइ उपलब्ध नहुँदा झारले धानबाली ढाकेको छ। 'कुलामा भएको पानी सबैलाई पालो दिनुपर्छ, रोपेको धानले पर्याप्त पानी पाएन', उनी भन्छन्, 'यस वर्ष वर्षा पनि खासै भएको छैन, सिँचाइ अभावमा खेतमा घाँस र झारमात्रै उम्रिएको छ।' 

images

धान खेतमा अनावश्यक रुपमा आउने झारले उत्पादनमा प्रभाव पार्ने भएकाले किसानले विभिन्न झार नाशक विषादी प्रयोग गर्ने क्रम बढ्दै गएको छ। धान रोपाइँ सकेपछि खेतमा पर्याप्त पानी सिँचाइको कमीले बढी झार देखापर्छ।

images
images

जानकी गाउँपालिकाका पदम विष्टको खेतमा पनि झारले हैरान पारेको छ। 'धान खेतमा धानभन्दा बढी झार छ, अब कसरी उखेल्नु हैरानी भएको छ', उनले भने, 'कृषि प्राविधिकको सल्लाहमा झार मार्ने विषादी छर्ने तयारीमा छु।'

images
images

यसरी देखापर्ने विभिन्न झारलाई नियन्त्रण तथा नष्ट गर्न किसानले विभिन्न झारनाशक विषादीको प्रयोग गर्ने गरेका छन्। जानकी गाउँपालिका कृषि प्राविधिक लालवीर चौधरीका अनुसार झारनाशक विषादी धान रोपेको पाँचदेखि ३० दिनको अवधिमा झारको किसिम हेरी प्रयोग गर्ने गरेका छन्।

किसानले धान खेतमा झार उम्रनुभन्दा पहिला र झार उम्रिसकेपछि फरकफरक विषादीको प्रयोग गर्नुपर्ने कृषि प्राविधिक चौधरीको सुझाव छ। यहाँका किसानले खेतमा झार उम्रनुभन्दा पहिला बुटाक्लोर, प्रिटिलाक्लोर र झार उम्रिसकेपछि डिस्पाइरीब्याक सोडियम लगायतका विषादीको प्रयोग गर्ने गरेका उनी बताउँछन्।

'झारलाई नियन्त्रण गर्दा उत्पादनमा वृद्धि हुने भएकाले पूर्णरुपमा झारलाई नाश गर्न आवश्यक छ', प्राविधिक चौधरी भन्छन्, 'रोपाइँ सकिएदेखि नियमित पर्याप्त सिँचाइ भएमा धान खेतमा झारमा कमी आउँछ। पानी नपाएका खेतमा भार बढी उम्रन्छ। झार नष्ट गर्न विषादी प्रयोग गर्दा विषादीको मात्रामा ध्यान दिन आवश्यक छ।'

झारनाशक विषादीको प्रयोगले उत्पादन वृद्धिसँगै माटोको उर्वराशक्तिमा समेत प्रभाव नपर्ने भएकाले समयमै झारको पहिचान गरी झारनाशक विषादीको प्रयोग गर्न कृषि विज्ञको सल्लाह छ। किसानले प्राविधिक तथा विज्ञले सिफारिस गरे बमोजिमका विषादी प्रयोग गर्नुपर्ने बीउबिजन प्रयोगशाला, कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताए।

'झारको पहिचान गरी झारनासक विषादी प्रयोगले पूर्णरुपमा झारलाई नियन्त्रण गर्न सकिन्छ', उनले भने, 'झारनाशक विषादी प्रयोग एक बालीको लागिमात्र प्रभावकारी रुपमा रहने भएकाले अर्को बालीलाई नोक्सान गर्दैन तर यसको प्रयोगले धान खेतीमा तीन महिनासम्म प्रभाव रहने भएकाले यसतर्फ किसानले ध्यान दिन आवश्यक छ।'

पालो लगाएर सिँचाइ गरिँदै

धान खेतीका लागि पानी अति आवश्यक पर्छ। धान रोपेदेखि बाली तयार हुँदासम्म खेतमा पर्याप्त पानी आवश्यक हुन्छ। धान उत्पादन बढाउन किसानले आफ्नो खेतका गरागरासम्म पानी लगाउन पाउन भन्नका लागि टीकापुर-१ बनगाउँका किसानले आलोपालो सिँचाइ गर्न नियम बनाएर लागु गरेका छन्। यस वर्ष वर्षात कम हुँदा कुलामा पर्याप्त पानी छैन।

कुलाको केही पानीसँगै वैकिल्पक उपायबाट सिँचाइ गरी खेती गरेका किसान यतिखेर धान खेतमा पानी लगाउनुपर्ने बेलामा कुलामा पर्याप्त पानी नहुँदा समस्यामा परेका छन्। जसोतसो धान रोपेका किसान समयमा धान खेतमा पर्याप्त पानी लगाउन नपाए धानको उत्पादन घट्ने चिन्तामा छन्।

धान खेतीमा पर्याप्त सिँचाइका लागि टीकापुरको बनगाउँ बीचपुरुवाका किसानले कुलाको पानी प्रयोगका लागि आलोपालो सिँचाइ गर्न नियम बनाई लागु गरेका छन्। धान खेतीलाई आवश्यक पर्ने पानी सबै किसानका खेतसम्म सहजरुपमा पुर्‍याउन आलोपालो नियम बनाएर लागु गरेका टीकापुर बनगाँउका बड्घर किट्टु चौधरीले बताए।

'कसैलाई पर्याप्त सिँचाइ, कसैलाई सिँचाइ अभाव नहोस् भनी यसो गरेका हौँ', उनले भने, 'धान उत्पादन बढाउन सिँचाइ आवश्यक छ। कुलाको पानी सबैलाई सबैदिन नपुग्ने हुँदा यस्तो गरेका हौँ।'

अहिले यस क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाका नहरमार्फत पानी आउँछ। किसानको खेतसम्म ल्याउन नहरमा पानी छोडिएको छ। मूल नहरका १४ मध्ये आठ ढोकाबाट अहिले पानी आइरहेको छ। तर किसानका खेतसम्म पानी पर्याप्त मात्रामा पुग्न सकेको छैन। कुलामा पर्याप्त पानी नहुँदा सबै किसानले खेतमा सिँचाइ गर्न पाएका छैनन्। सबैले उक्त सुविधा पाउन भनेर सल्लाहमा पानी लगाउने नियम बनाएको टीकापुर बनगाउँ मगरबस्तीका बड्घर टंक घर्तीमगरले बताए।

'बनगाउँका बीचपुरुवा र दक्षिणपुरुवाका थारू र मगर टोलका गरी करिब दुई सय बिघा क्षेत्रफलमा एउटै कुलाको पानी लाग्ने गरेको छ', उनी भन्छन्, 'बनगाउँको गवलिया कुलामार्फत सयौँ बिघा खेतमा लाग्ने पानी सबैलाई पर्याप्त हुँदैन। तीन खण्डमा विभाजन गरी पानी व्यवस्थापन गरिरहेका छौँ।'

कुलामा सिँचाइको आलोपालो नियमलाई पालनाका लागि समुदायको भेलाले नियम बनाएको हो। कुलाको पानी आफ्नो पालोकोे दिनबाहेक अरू दिन नपाइने र हालेको खण्डमा जरिवाना तिराउने नियम बनाइएको छ।

कुलाको पानीको अवस्था हेरि आफ्नो पालोका दिन सबै किसानले कुलाको स्याहार गर्दै मुहानसम्म पानी लिन जानैपर्ने र पानी लगाउने पालो भएको दिन अर्थात् २४ घण्टासम्म खेतमा पानी हाल्ने पाउने नियम बनाएका छन्। कसैले नियमको उल्लंघन गरे तीन हजार पाँच सय रूपैयाँ जरिवाना गरिने चेतावनी दिने गरिएको छ। रासस


प्रकाशित : मंगलबार, साउन ९ २०८०१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend