शनिबार, साउन १२ गते २०८१    
images
images
images

यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

images
मंगलबार, साउन ९ २०८०
images
images
यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

नेपाल कृषि अनुसन्धान परिषद्का बाली निर्देशक डा कृष्णकुमार मिश्रले सुदूरपश्चिममा कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि धेरै प्रयास यसअघि पनि भएको जानकारी दिए।

images

भजनी- कैलालीको टीकापुरमा बहुआयामिक प्रदेशस्तरीय कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि पहल थालिएको छ। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना र दुई कृषि क्याम्पस स्थापना भएसँगै टीकापुरलाई कृषिको ‘हब’का रूपमा विकास हुँदै गएको छ।

images
images

कैलाली क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरीले कृषि भण्डारका रूपमा रहेको यस क्षेत्रमा कृषिको अनुसन्धान गर्दै उत्पादन बढाउनका लागि कृषि अनुसन्धान केन्द्र स्थापना हुनुपर्ने बताए। उनले भने, 'कृषिमा  सम्भावना बोकेको क्षेत्र भएका कारण पनि अनुसन्धान केन्द्र स्थापना गर्नु आवश्यक छ।'

images

राष्ट्रियसभा सदस्य गरिमा शाहले कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याए। 'अनुसन्धानकै माध्यमबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिन्छ', उनले भने, 'त्यसका लागि हामीले गर्नुपर्ने काम हामी गर्छौँ। त्यसमा ऐक्यबद्धता सबैको चाहिन्छ।'

नेपाल कृषि अनुसन्धान परिषद्का बाली निर्देशक डा कृष्णकुमार मिश्रले सुदूरपश्चिममा कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि धेरै प्रयास यसअघि पनि भएको जानकारी दिए। सबै दृष्टिकोणले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न राम्रो हुने उनको धारणा छ। 'टीकापुरमा दुई कृषि क्याम्पस स्थापना भएका छन्। राष्ट्रिय गौरवको आयोजना यहीँ छ। कृषि क्षेत्रमा टीकापुरले सम्भावना बोकेको छ', उनले भने, 'हामी बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्न तयार छौँ। त्यसका लागि आवश्यक जग्गाको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्छ।'

images

परिषद्ले नगरपालिकासँग दुई सय ३५ बिघा जग्गा माग गरेको छ। उसले पहिलो चरणमा स्थापनाका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक पर्ने बताएको छ। 'जग्गा आवश्यकताका आधारमा चाहिने कुरा हो। तत्कालका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक हुन्छ', निर्देशक मिश्रले भने, 'भोलि क्षेत्र जति बढ्दै गयो त्यसैअनुसार जग्गाको खपत बढ्दै जाने हुनसक्छ।' सरकारले चार वर्ष अगाडि नै सुदूरपशिममा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको थियो।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा अम्माराज जोशीले कृषि अनुसन्धान केन्द्र स्थापनाले समग्र सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने जानकारी दिए। उनले एउटा फलफूलको बिरुवाका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यता रहेको बताउँदै अनुसन्धान केन्द्रले काम गर्न सके भारतीयहरू नेपाली बजारमा आएर खरिद गर्ने स्थिति हुने बताए।

टीकापुरका बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापना हुँदा त्यसको सबैभन्दा बढी फाइदा विश्वविद्यालयले लिनेछ। किनभने विश्वविद्यालयको कृषि विज्ञान संकायको डिन कार्यालय टीकापुरमा छ र त्यहाँ ६७ जिल्लाको विद्यार्थी अध्ययन गर्छन्। उनीहरूका लागि बलियो सिकाइ केन्द्र बन्न सक्छ।

टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक रहेको बताए। उनले भने, 'अहिले टीकापुरमा दुई क्याम्पसमा कृषिको अध्ययन हुँदै आएको छ। त्यससँगै तीन वर्षीय बाली विज्ञानको अध्ययन-अध्यापन पनि टीकापुरमा हुन्छ। त्यतिमात्र नभई, कृषि, पशु र वन विज्ञानको समेत अध्यापन हुने हुँदा त्यो जनशक्तिलाई स्थानीय क्षेत्रमा आबद्ध गराउनका लागि पनि केन्द्र निकै उपयोगी हुनेछ।'

टीकापुर नगरपालिकाका उपप्रमुख खड्क शाहले बहुआयामिक कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि टीकापुर एक ठाउँमा उभिने बताएका छन्। उनले कृषिबाटै देश समृद्ध बनाउन पनि कृषिमा आधुनिकीकरण आवश्यक हुने बताउँदै त्यसका लागि अनुसन्धान केन्द्रले टेवा पुर्याउने विश्वास व्यक्त गरे। 'नगरपालिकाले गर्ने काममा समग्र टीकापुरको ऐक्यबद्धता चाहिन्छ। यसमा सबैले केन्द्रको आवश्यकता महसुस गरेका छन्,' नगर उपप्रमुख शाहले भने, 'अझै आवश्यक छलफल र बहसमार्फत कृषि अनुसन्धान केन्द्रको स्थापनाका लागि नगरपालिका लागेको छ र लाग्ने छ। आशा गरौँ केन्द्रको स्थापना हुन्छ।'

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका डिन लालप्रसाद अमागाईँले कृषि विकासको मेरुदण्ड भएको जनाउँदै कृषि अनुसन्धान केन्द्रको स्थापनाले विश्वविद्यालयमा विद्यार्थीको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरे। उनले कृषिका लागि सबै कुराले परिपक्व बन्दै गएको टीकापुर कृषि अनुसन्धान केन्द्रको स्थापनापछि पूर्ण हुने बताए। रासस


प्रकाशित : मंगलबार, साउन ९ २०८००५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend