काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ग्राउन्डेड न्यारोबडी ए ३२० कल साइन नाइन एन एकेएक्स 'लुम्बिनी' जहाज उडानका लागि इन्जिन भाडामा लिने भएको छ।
उक्त जहाज एक सातादेखि ग्राउन्डेड भएको निगमले बताएको छ। तर विमानस्थतलको उडान रोस्टरमा जुन २० अर्थात एक महिना अगाडिदेखि नै उक्त जहाज उडान भएको देखिँदैन।
एक महिनाअगाडि नै जहाजको इन्जिनमा समस्या देखिए पनि निगम व्यवस्थापनले इन्जिन मर्मतको लागि एमआरओ छनोटमा भने ढिलासुस्ती गरेको फेला परेको छ।
एमआरओ छनोटका लागि जुलाई १८ मा मात्रै टेन्डर गरेको थियो। एमआरओ छनोट गर्दै इन्जिन मर्मत गरेर जहाजलाई उडानमा ल्याउन ढिला हुने भन्दै अहिले इन्जिन नै भाडामा लिन लागिएको छ।
निगमले इन्जिन मर्मतका लागि समयमै कम्पनी छनोट गर्न नसक्दा फेरि इन्जिन नै भाडामा लिनु पर्ने भएको छ।
लुम्बिनी नाम दिइएको जहाज पहिले मर्मतपछि ६ सय घण्टा उडान गर्ने निगम इन्जिनियरिङ विभागले अनुमान गरेको थियो। तर जहाज २ सय ५० घण्टा उडान नहुँदै मर्मत गर्नुपर्ने अवस्था आएपछि अहिले ग्राउन्डेड भएको हो। निगम उच्च व्यवस्थापन र इन्जिनियरिङ विभागको लापरबाही र इन्जिन भाडामा लिँदा आउने कमिसनका कारण मर्मतको लागि कुनै काम हुने गरेको छैन। अब यो जहाज थप दुई महिनाभन्दा बढी ग्राउन्डेड हुने निश्चित रहेको एक पाइलटले जानकारी दिए।
यो जहाज उडानमा समेत इन्जिन भाडामा लिएपछि निगमका दुईवटै न्यारोबडी जहाज उडानमा भाडाका इन्जिन प्रयोग हुने छ। अर्को नाइन एन एकेडब्लूमा २०२३ को मार्चदेखि भाडाको इन्जिन प्रयोग भइरहेको छ। इन्जिन भाडामा आउने कमिसनका कारण फेरि अर्को जहाजको इन्जिनसमेत भाडामा लिने खेल भएको हो।
निगमले अहिले नाइन एन एकेडब्लू जहाजमा भाडामा लिइएको इन्जिनलाई दैनिक ६ हजार ५ सय ७० डलर खर्च गरिरहेको छ। निगमले एमटीयूसँग दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८ र प्रतिसाइकल २ सय ३९ डलरमा इन्जिन भाडामा लिएको हो।
यो इन्जिन भाडामा लिइएको २०२३ को मार्च ४ देखि हो। इन्जिन भाडामा लिएवापत नै निगमले ४० करोड रुपैयाँ खर्च गरिसकेको छ। मर्मतका लागि पठाइएको इन्जिन जुन महिनाको अन्तिममा आउने भनिए पनि अहिलेसम्म आउन सकेको छैन। अहिले अगष्टभित्र आउने भन्दै फेरि इन्जिन भाडामा लिएको समय बढाउने काम भइसकेको छ। फेरि मर्मतमा पठाइएको इन्जिन ल्याउनुभन्दा अर्को जहाज उडानका लागि इन्जिन भाडामा लिन लागिएको हो।
साढे १५ महिनादेखि 'सगरमाथा' उडानमा भाडाको इन्जिन
नेपाल वायु सेवा निगमले नाइन एन एकेडब्लू सगरमाथा नाम दिइएको जहाजमा साढे १५ महिनादेखि भाडाको इन्जिन प्रयोग गरिरहेको छ। इन्जिन भाडामा नै ४० करोड रूपैयाँभन्दा बढी खर्च भइसकेको छ। निगमले २०२२ को मार्च ५ देखि न्यारोवडी ए ३२० नाइन एन ए के डब्लू (सरगमाथा) जहाजको बाँया इन्जिन भाडामा प्रयोग गरिरहेको छ।
यो जहाज डिसेम्बर २७ मा कतारको दोहामा अवतरणपछि इन्जिन बिग्रिएको थियो। जसका कारण जहाज ६० दिन ग्राउन्डेड भएको थियो। २०२२ को मार्च ५ देखि इन्जिन भाडा लिइएको थियो। अझै भाडामा लिएकै इन्जिन अगष्ट महिनाभर प्रयोग हुने निश्चित भइसकेको छ। अहिले भाडामा लिएको इन्जिनवापत निगमले दैनिक ६ हजार ५ सय ७० डलर खर्च गरिरहेको छ। निगमले एमटीयूसँग दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८ र प्रतिसाइकल २ सय ३९ डलरमा इन्जिन भाडामा लिएको हो।
डिसेम्बरमा बिग्रिएको इन्जिन मार्चपछि मात्रै मर्मतका लागि इजरायल पठाइयो। भाडामा इन्जिन प्रयोग गरेर जहाज उडान भइरहेको थियो। तर पुन: जुलाई ३० मा सोही जहाजको दायाँ इन्जिनमा समस्या देखियो। जहाज ग्राउन्डेड भयो। जहाज ग्राउन्डेड हुनुमा डिसेम्बरमा बिग्रिएको इन्जिन जुलाई अन्तिमसम्म निगम व्यवस्थापनले मर्मत नगर्नु हो।
मर्मतमा ढिलाइ गर्नुको एउटै कारण थियो भाडामा लिएको इन्जिनको समय लम्ब्याइ राख्नु। जब दायाँ इन्जिनमा समस्या आयो त्यसपछि निगम व्यवस्थापनलाई भाडामा लिएको इन्जिन राखिराख्ने अवसर मिल्यो। निगम व्यवस्थापनको चाहाना पनि इन्जिन भाडामा लिने काम लम्ब्याइ राख्नु थियो।
डिसेम्बर २७ इन्जिन ९ महिनापछि बल्ल मर्मत भयो। इन्जिन मर्मत भएपछि सेप्टेम्बर ३० मा निगमले जहाज इजायल पठाएर जुलाईमा बिग्रिएको दायाँ इन्जिन झिकेर मर्मत भएको इन्जिन राखियो। जुलाईमा बिग्रिएको इन्जिन मर्मतको प्रक्रिया त्यसबेसासम्म कुनै प्रक्रिया सुरु भएन। इन्जिन मर्मतका लागि ४ देखि ५ महिनासम्म कुनै प्रक्रिया गरिएन। इन्जिन मर्मतमा ढिला गर्नुको एउटै कारण थियो मार्चदेखि भाडामा लिइएको इन्जिन प्रयोगलाई लम्ब्याइराख्नु। जति लम्ब्याइयो त्यति नै कमिसन आइरहने थियो।
२०२२ को जुलाई ३० देखि बिग्रिएर मर्मतका लागि जर्मन पठाइएको इन्जिन २०२३ को जुन ३० सम्ममा आइपुग्ने निगमको दाबी थियो। तर अन्तिम समयमा निगम व्यवस्थापनले इन्जिन मर्मत हुन नसकेको भन्दै फेरि २ महिना इन्जिन भाडामा लिने निर्णय भइसकेको छ।
२०२१ को डिसेम्बरमा बिग्रिएको इन्जिन ९ महिनामा सेप्टेम्बरमा मर्मत भएको थियो भने २०२० को जुलाईका बिग्रिएको इन्जिन ११ महिनामा मर्मत सम्पन्न नहुनेमा इन्जिन भाडाको कमिसन खेल नै हो। इन्जिन मर्मतमा ढिलाइको एउटै रहस्य एमटीयूको इन्जिन भाडामा लिँदै कमिसन लिने काम हो।