काठमाडौं- गत आर्थिक वर्ष २०७९/०८० मा उत्पादनमूलक उद्योग स्थापनाका लागि झन्डै ४२ अर्ब रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा साना तथा ठूला र स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धतासँगै १ सय १४ उद्योग दर्ता भएका छन्।
१ सय १४ उद्योगमा १० हजारभन्दा बढीले रोजगारी पाउने छन्। १ सय १४ दर्ता उद्योगमध्ये ८ वटा उद्योगमा एक अर्बभन्दा माथिको लगानी प्रतिबद्धता आएको छ। जसमा सबैभन्दा बढी कजारीया रमेश टायल्स लिमिटेडमा आएको छ। यो उद्योगमा ४ अर्बको लगानी प्रतिबद्धता आएको छ। यसमा नेपाली र स्वदेशी दुवै लगानी रहेको छ।
नवलपरासी जिल्ला, बर्दघाट नगरपालिका वडा नम्बर १२ मा उद्योग स्थापना हुनेगरी उद्योग विभागमा दर्ता भएको छ। ४ अर्बको लगानीमा वार्षिक ८० लाख स्क्वायर मिटर टायल उत्पादन गर्ने गरी उद्योगमा दर्ता भएको छ। उद्योग विभागमा भर्खरै दर्ता भए पनि सन् २०२३ भित्रै नेपालमा टायल उत्पादन गर्ने गरी कम्पनीले काम धेरै अगाडिदेखि नै गर्दै आएको छ। उद्योगले फ्लोर र वाल टायल उत्पादन गर्ने छ। उद्योगमा ५ सय १५ जनाले रोजगारी पाउने छन भने उद्योगले ४ हजार केभीए बिजुली खपत गर्ने दर्ता विवरणमा उल्लेख छ।
उद्योगमा ५० प्रतिशत नेपाली लगानी र ५० प्रतिशत विदेशी लगानी रहने विवरणमा उल्लेख छ। उद्योगमा रमेश कर्प र कजरिया सेरामिक्स लिमिटेडको संयुक्त लगानी रहने छ। भैरहवामा १० बिघा जग्गामा उद्योगको प्लान्ट निर्माण भइरहेको रमेश कर्पले जनाएको छ।
यसैगरी दोस्रो बढी लगानी प्रतिबद्धता पनि टायल्स उत्पादनमा नै आएको छ। पूर्वक्रिकेटर तथा उद्योग संगठन मोरङका सदस्य पारस लुनियाले टायल उद्योग सञ्चालनमा ल्याउने भएका छन्।
लुनियाले ३ अर्ब २८ करोड ७९ लाख ७६ हजार रूपैयाँ लगानीमा टायल उद्योग सञ्चालनमा ल्याउन लागेका हुन्। लुनियाले सुनसरी दुहवी नगरपालिका वडा नम्बर ८ मा उद्योग स्थापना गर्नेगरी काम अगाडि बढाएका छन्। उनले उद्योग सञ्चालनका लागि अरिहन्त इन्फ्रास्ट्रक्चर लिमिटेड उद्योग विभागमा दर्ता गराइसकेका छन्।
उद्योगमा ६ सय ८५ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। पीजीभीटी, जीभीटी, वाल तथा नानो टाइल उत्पादन गर्नेगरि उद्योग आउन लागेको हो। त्यस्तै उद्योगमार्फत जिप्सम बोर्ड तथा पाउडर, स्यानिटरी आइटम र ग्रेनाइट उत्पादन गरिने जनाइएको छ। सम्रगमा उद्योगबाट वार्षिक टायललगायतका २ लाख ८ हजार ८ सय २८ मेट्रिकटन सामान उत्पादन हुने दर्ता विवरणमा उल्लेख छ।
१९ वर्षमुनिको विश्वकप क्रिकेटमा समेत देशको प्रतिनिधित्व गरिसकेका पूर्वक्रिकेटर लुनिया व्यवसायमा अब्बल रूपमा चिनिएको नाम हो। उनले क्रिकेटमा नै पनि फ्रेन्चाइजी टी-ट्वान्टी लिगहरूमा टिम मालिकका रूपमा लगानी गर्ने गरेका छन्।
यसैगरी तेस्रो ठूलो लगानी प्रतिबद्धता चिनी उत्पादन उद्योगमा आएको छ। २ अर्ब २० करोड लगानीमा वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य सहित उद्योग दर्ता भएको छ। कविता अग्रवाल सञ्चालक रहने गरी उद्योग स्थापनाका लागि उद्योग विभागमा कम्पनी दर्ता समेत भइसकेको छ। २ अर्ब २० करोड रूपैयाँको लगानीमा खुल्न लागेको उद्योग विजय श्री सुगर मिल्स प्रालि नामले विभागमा दर्ता भएको छ। पर्साको जिराभवानीमा नयाँ चिनी मिल खुल्न लागेको हो।
उद्योगले वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ। यसैगरी उद्योगले १८ हजार ७ सय ५० मेट्रिक टन मोलासेस (गुड) उत्पादन गर्ने समेत दर्ता विवरणमा उल्लेख छ। उद्योगमा ३ सय ५० जनाले रोजगारी पाउने विवरणमा उल्लेख छ।
यसैगरी व्यवसायी सन्दीप गाडियाले पनि चिनी उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्। २ अर्ब ८ करोड लगानीमा व्यवसायी गाडियाले चिनी उद्योग खोल्न लागेका हुन। गाडियाले पर्सा बहुदरमाई गाउँपालिका वडा नम्बर ४ मा चिनी उद्योग स्थापना गर्नेगरी उद्योग दर्ता गराएका छन्। गाडियाले शिवशक्ति सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालि उद्योग विभागमा दर्ता गराएका हुन्। उद्योगमा २ अर्ब ८ करोड रुपैयाँ लगानी हुने दर्ता विवरणमा उल्लेख छ। उद्योगले वार्षिक ३७ हजार ८ सय मेट्रिक टन चिनी, मोलासेस १८ हजार ९ सय मेट्रिक टन, ५४ हजार मेट्रिक टन बेगास्से र २ करोड ५२ लाख किलोवाट बिजुली उत्पादन गर्ने दर्ता विवरणमा उल्लेख छ। उद्योगमा सत प्रतिशत नै नेपाली लगानी रहने र २ सय जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ।
यसैगरी नेपालको व्यावसायिक घराना मुरारका समूहले पनि नेपालमा सेरामिक्स काराखाना खोल्ने गरी उद्योग दर्ता गराइसकेका छन्। उद्योगमा १ अर्ब भन्दा बढीको लगानी हुने छ। सेरामिक्स प्लान्ट स्थापनाका लागि उद्योग विभागमा सेराप्रो नेपाल नाममा दर्तासमेत भइसकेको छ। उद्योग विभागका अनुसार उद्योगमा १ अर्ब ८१ करोड रूपैयाँ लगानी रहने छ। उद्योगमा २ सय ३७ जनाले रोजगारी पाउनेछन्। उद्योगले वार्षिक १ करोड ९५ लाख पिस फ्लोर टायल र ९५ लाख पिस वाल टायल उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ।
मुरारका ग्रुपले चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड सोमानीसँगको साझेदारीमा नेपालमै सेरामिक्स उत्पादन गर्नेगरी उद्योग दर्ता गरेको हो। यसमा मुरारका ग्रुपको बहुमत सेयर रहने छ। यो उद्योग एक्लैले नेपाली बजारमा हुने मागको ३३ प्रतिशत भारबहन गर्नसक्ने मुरारका समूहका पशुपति मुरारकाले जानकारी दिए। नेपालमा अहिले भारतबाटै टायल आयात भइरहेको छ।
नेपालमै उत्पादन बढाएर आयात प्रतिस्थापनमा पनि सहयोग पुग्ने उनको भनाइ छ। 'बजारमा केही पनि उत्साह नभएको समयमा हामीले यो नयाँ भेन्चर सुरु गर्न लागेका छौँ। यसको प्रतिफल भविष्यमा राम्रै आउनेछ', उनले भने। सोमानी सेरामिक्स भारतीय कम्पनी हो। भारतका विभिन्न प्रदेशमा सातवटा प्लान्ट भएको सोमानीले विभिन्न सेरामिक्स उत्पादन गर्दै आइरहेको छ।
विभागका अनुसार स्न्याक्स एण्ड बेभरेज उद्योगमा व्यवसायी विश्वनाथ शाहले १ अर्ब २८ करोड लगानी गर्ने गरी उद्योगमा दर्ता भएको छ। उनले 'आनन्दम स्न्याक्स एण्ड बेभरेजेज इन्टरनेशनल' उद्योगमा दर्ता गराएका छन्। डीभी ग्रुप अफ कम्पनीजका संस्थापक रहेका शाहको व्यवस्थापकीय नेतृत्वमा स्कूल, कलेज तथा अन्य डेढ दर्जनभन्दा बढी उद्योगहरू संचालनमा छन्।
शाहले अहिले नेपालमै आलु भुजिया, भुटेको बदाम, मुङको दाल, पञ्जावी तड्का, ग्रिन मटर, नट क्याकर, स्न्याक लाइट, चटपट मसला र पापड उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्। कुल १ अर्ब २८ करोड रुपैयाँमा उद्योग स्थापना गर्ने गरी शाहले कम्पनी उद्योग विभागमा दर्ता गराएका हुन। उद्योगमा २ सय ३४ जनाले प्रत्यक्ष रोजगारी पाउने र १२ सय केभीय बिजुली खपत हुने उद्योग विभागको दर्ता विवरणमा उल्लेख छ।
सत प्रतिशत नेपाली लगानी रहने उद्योग पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा स्थापना हुने भएको छ। उद्योगले वार्षिक रुपमा आलु भुजिया, भुटेको बदाम, मुङको दाल, पञ्जावी तड्का, ग्रिन मटर, नट क्याकर, स्न्याक लाइट, चटपट मसला र पापड उत्पादन गर्ने लक्ष्य लिएको छ।
यसैगरी १ अर्ब ६० करोडको लगानी प्रतिबद्धतासँगै दुबाल इण्डष्ट्रिज प्रालि दर्ता भएको छ। पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ उद्योग स्थापना हुने छ। आल्मुनियम तथा स्टीलका समानहरु उत्पादन गर्ने छ। उद्योगमा सत प्रतिशत नेपाली लगानी रहेको छ भने १५६ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। यसैगरी १ अर्ब ५० करोड रुपैयाँको लगानी प्रतिबद्धतासँगै जानकी पोलिकेम प्रालि दर्ता भएको छ। उद्योगमा सत प्रतिशत नेपाली लगानी रहेने छ। उद्योगमा १ सय ४० जनाले रोजगारी पाउने छन्।