आइतबार, जेठ ६ गते २०८१    
images
images

बैंकमा थुप्रिएको ५ खर्ब रूपैयाँमा सेयर लगानीकर्ताको नजरले दोस्रो बजार चलायमान

राष्ट्र बैंकमाथि सेयर धितो खुकुलो बनाउन संसददेखि निजी क्षेत्रको निरन्तर दबाब

images
बुधबार, साउन ३ २०८०
images
images
बैंकमा थुप्रिएको ५ खर्ब रूपैयाँमा सेयर लगानीकर्ताको नजरले दोस्रो बजार चलायमान
images
images

काठमाडौं- नयाँ आर्थिक वर्षसँगै सेयर बजार लगातार उकालो लागेको छ। पछिल्लो दुई वर्ष यता सकारात्मक लय नसमातेको सेयर बजारले अहिले निरन्तर उचाइको बाटो लिएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोमा सहज गरिदिने अपेक्षासहित बजारमा लगानीकर्ता सक्रिय भइरहेका छन्। 

images
images
images

वाणिज्य बैंकहरूमा ५ खर्ब लगानीयोग्य रकम थुप्रिएकोले त्यसको केही प्रतिशत ऋण सेयर बजारमा जाने र दोस्रो बजार बढ्ने अनुमानसहित बजार लगातार बढी रहेको छ। राष्ट्र बैंकले १२ करोडको ऋण बन्देज र औषत भार १५० बाट १०० प्रतिशतमा झार्ने अनुमानसहित सेयर बजार चलायमान गराइएको छ। 

images

घरजग्गा र सेयर बजारमा जाने ऋणलाई खुकुलो बनाउन राष्ट्र बैंकमाथि दबाब बढिरहेको छ। मौद्रिक नीतिमा निजी क्षेत्रले सेयर बजारको १२ करोडको सीमा हटाउन र ऋणको जोखिम भार कम गर्न गभर्नर महाप्रसाद अधिकारीसमक्ष माग गरिरहेका छन्।

images
images

यता घरजग्गामा जाने ऋणमा पनि १५० प्रतिशतको जोखिम भारलाई १०० प्रतिशत झार्न माग गरेका छन्। सेयर बजारमा रहेको १५० को जोखिम भारलाई पनि हटाउन निरन्तर लबिङमा निजी क्षेत्रदेखि सरकार र सांसदसमेत लागिरहेका छन्।

images
images

वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७९/८० मा ५ खर्ब २५ अर्ब निक्षेप संकलन गरेका छन्। आर्थिक वर्ष २०७८/७९ मा ३ खर्ब ४० अर्बमात्रै निक्षेप संकलन गरेको थियो। निक्षेप बढ्दा गएको आर्थिक वर्षमा कर्जा विस्तार भने सुस्त देखिएको छ। 

२०७८/७९ मा ४ खर्ब ५४ अर्ब कर्जा प्रवाह हुँदा २०७९/८० मा १ खर्ब १९ अर्बमात्रै कर्जा प्रवाह भएको छ। २०७८र७९ मा असार मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब पुगेकोमा २०७९/८० मा बढेर ५० खर्ब ६६ अर्ब पुगेको छ। जुन २०७८/७९ को भन्दा ५ खर्ब २५ अर्बले बढेको हो। यता ऋण विस्तार भने २०७८/७९ मा ४१ खर्ब ७५ अर्ब रहेकोमा २०७९/८० मा १ खर्ब १९ अर्बमात्रै थपिएर ४२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। 

यो साता आइतबार ‍‍१२.१६ अंकले बढेको बजारमा सोमबारसमेत व्यापक वृद्धि देखिएको थियो। सोमबार ४७.०७ अंकले बढेको बजारमा मंगलबार पनि सुधार देखियो। मंगलबार ९.९१ अंकले बढेर २१५४.०७ बिन्दुमा पुगेको छ। १०१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रूपैयाँको कारोबार भएको छ। कारोबार रकम पनि लगातार बृद्धितर्फ देखिएको छ। १ अर्ब भन्दा तल झरेको कारोबार अहिले साढे ३ अर्ब कारोबार रकम पुगेको छ। 

मंगलबार कारोबार रकमका आधारमा यस दिन स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन २१ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी  शिवम् सिमेन्ट्सको करिब १८ करोडको सेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको साढे १५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

सोमबार ४७.०७ अंकले बढेर बजार २१४४.१६ बिन्दुमा पुगेको छ। २०० कम्पनीको सेयर मूल्य बढ्दा २ अर्ब ५६ करोड रूपैयाँको कारोबार भएको थियो। आइतबार ९३ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रूपैयाँको कारोबार भएको थियो।  

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को अन्तिम दिन असार ३१ गते शुक्रबार बजार २००९.४६ मा पुगेर रोकिएको थियो। बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब रुपैयाँ रहेको थियो। यो वर्ष पुँजीकरण २ खर्ब १३ अर्बले बढेको छ। विगतमा ४५ खर्बसम्म पुगेको पुँजीकरण घटेर २८ खर्बमा आएको थियो। यो वर्ष २ खर्ब मात्रै बढेको छ।

अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। जसमा मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ। यसैले पनि यसपटक मौद्रिक नीतिले साथ दिन्छ कि दिँदैन भन्ने पर्खाइमा लगानीकर्ता रहेको विश्लेषकहरू बताउँछन्। 

अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेको विश्लेषकहरू बताउँछन्। नीतिगत साथ मिले अब बजार पुन : उचाइतर्फ लाग्ने उनीहरूको भनाइ छ। 

वित्तीय क्षेत्रमा ५ खर्ब ऋण लगानी गर्ने प्रर्याप्त पैसा देखिएको छ। राष्ट्र बैंकले कडाइ नै गर्दा पनि केही पैसा सेयर धितोको ऋणमा जाने अनुमान गरिएको छ। जसका कारण २०८०/८१ सेयर बजारका लागि राम्रो हुने अनुमान गरिएको छ। 

नेपाल बैंकर्स संघको कार्टेलिङ तोडिएपछि सबै बैंकहरूले आफ्नै भिन्न ब्याजदर सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक गरेका धेरैजसो वाणिज्य बैंकहरूले घटाएर मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् भने केहीले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्। कतिपयले असारको भन्दा बढी दिनेगरी सार्वजनिक गरेका छन्। 


प्रकाशित : बुधबार, साउन ३ २०८००१:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend