महोत्तरी- महोत्तरीको भंगाहा-४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ। सोमबार बिहानै भंगाहा-५ स्थित रेलस्टेसनबाट उनी रेल चढे। 'हमरा सैद्खन रेल चलके इञ्तिजार छल, आव पूरा भेल (मलाई सधैँ रेल कहिले चल्ला भन्ने पखाई थियो, अब पूरा भयो)', भंगाहा स्टेसनबाट रेल जनकपुरतर्फ गुडेपछि खुसी साँट्दै बाँतरले भनिन्, 'आब चल्ली जनकपुर! घुइमफिरक सझुका रेलस घर चैल आयब (अब हिँडेँ जनकपुर! घुमफिर गरेर साँझ रेल चढेरै घर फर्कौँला)।'
विसं २०५९ को बर्खे भेलले बिग्ही नदीको पुल भासिएपछि रेल सेवा बन्द भएको थियो। त्यसपछि बाँतरको जनकपुर आवतजावत पातलिएको थियो। आफ्नो ठाउँमा २१ वर्षपछि रेल चलेपछि बाँतरजस्तै भंगाहा-४ कै रामनगर बस्तीकी हेमकुमारी सदा पनि दंग छिन्। 'आब त बजार कर आ सब मेलामें जनकपुर सहजे जासकैछि (अब त बजार काम र जुनसुकै मेला हेर्न सजिलै जनकपुर जान सकिन्छ)', सदाले भनिन्।
आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल रेल्वे कम्पनीको जयनगर-बर्दिबास रेल्वेको भंगाहा-कुर्था खण्डको थप १७ किलोमिटर दुरीको सेवा विस्तारको उद्घाटन गरेपछि सोमबारदेखि नियमित रेल सेवा सुरु भएको हो। रेल सेवा सञ्चालनमा आएपछि यहाँका बासिन्दामा खुसीयाली छाएको छ।
आफू सानो छँदा आमाले रेलमा चढाएर जनकपुर घुम्न लगेको सम्झदै भंगाहा-४ रामनगरकै ३० वर्षीय रामईश्वर ठाकुर भन्छन्, 'रेल चढ्न फेरि पायौंँ, अब जनकपुरदेखि भारतको जयनगरसित सिधा सम्पर्कमा जोडिएका छौँ।'
विसं २०५९ अघि भंगाहाको यसै ठाउँमा अवस्थित स्टेसनलाई बिजलापुरा भनिन्थ्यो। यहाँबाट दैनिक जनकपुर हुँदै जयनगरसम्म रेल सेवा सञ्चालनमा थियो। बर्खेभेलले बिग्ही नदीको पुल भासिएपछि रेल सेवा बन्द हुन पुगेको थियो। त्यतिखेर कोइला/दाउराले इन्जिनको सानो लिकमा चल्ने रेलको ठाउँमा अब ब्रोडगेज (ठूलो लिक) र डिजलबाट चल्ने भएको छ। इन्जिन र डब्बा (बोगी) टलक्क टल्कने रेल चढेर स्थानीयवासी पहिलो दिन नै रामजानकी दर्शन गर्न जनकपुर प्रस्थान गरेका थिए।
रेल सेवा विस्तार भई अब जयनगर-बर्दिबासम्म चल्ने भएको छ। यसका तीन खण्डमध्ये पहिलो खण्ड (कुर्था-जयनगर) को ३५ किमी दुरीमा यसअघि नै सेवा सञ्चालन भइसकेको छ। सोमबार सेवा विस्तार भएको दोस्रो खण्ड (भंगाहा-कुर्था) को दुरी १७ किमी छ। तेस्रो खण्ड (भंगाहा-बर्दिबास) को १८ किमी दुरीमा भने लिक र अन्य पूर्वाधार निर्माणको काम नथालिँदा यस खण्डमा कहिले रेल चल्ने भन्नेबारे अन्यौल छ। तेस्रो खण्डमा जग्गा मुआब्जा विवाद लम्बिँदा निर्माणमा ढिलाइ भएको छ। किसानले मुआब्जा लिइसकेकाले निर्माण कम्पनीसँग काम अघि बढाउन समन्वय भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए।
'भंगाहा-कुर्था खण्डमा सेवा विस्तार भएपछि अब रेल ५२ किमीमा नियमित चल्ने भएको छ', उनी भन्छन्, 'अब चाँडै तेस्रो खण्डमा काम अघि बढ्ने छ।' भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१४ देखि काम सुरु भएको हो।
बर्दिबास (महोत्तरी)-जनकपुरधाम (धनुषा)-जयनगर (भारत) सम्मको ६९ किलोमिटर दुरीमध्ये अब ५२ किमीमा रेल चल्न थालेको छ। रेल सेवा सञ्चालनका तिथिमिति पटक पटक तोकिएपछि रेल नचलेपछि महोत्तरीको भंगाहा, पशुपतिनगर, प्रेमनगर, लोहारपट्टी, सिङ्ग्याही, धमौरा, हरिनमरी, हतिसर्वा, मेघनाथगोरहन्ना, बलवासहितका बासिन्दा तथा धनुषाको खोरिया सीतापुर, धुमासान, भूचक्रपुर र कात्तिककुमारसम्मका बासिन्दा निराश भएका थिए।
'अब रेल नियमित बढ्न पाइने आशा छ,' धनुषाको खोरिया सीतापुरकी कौशल्या कापरले भनिन्। 'कि कहुँ, पोरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल (के भनौँ, परार नै रेल चल्ने कुरा थियो, तर कुरैमा मात्रै सिमित रह्यो)', उनले भनिन्, 'अब सबै पीर हट्यो, सागसब्जी र दूध सजिलै जनकपुरहुँदै जयनगर बिक्री गर्न सकिने भयो।' रेल सञ्चालनसँगै व्यापार व्यवसायमा पनि टेवा पुग्ने यहाँका बासिन्दा बताउँछन्।
अहिले दैनिक एकपटक साँझ भंगाहा आउने र बिहान ७.३० बजे रेल छुट्ने व्यवस्था मिलाइएको महाप्रबन्धक झाको भनाइ छ। पछिल्लो पटक २०७८ चैत १९ गते प्रथम खण्ड (कुर्था-जयनगर) मा सञ्चालनमा आएको रेल सेवा गत मंसिरको विवाहपञ्चमीदेखि दुईपटक गरिएको थियो। सो खण्डको सेवा आजदेखि तीन पटक गरिएको कम्पनीले जनाएको छ।
सन् २०१० मा नेपाल र भारतबीच भएको सम्झौताअनुरुप भारत सरकारको सात अर्ब २० करोड रूपैयाँको आर्थिक सहयोग (सम्झौताका बेला उल्लेखित रकम पछि समय लम्बिँदै जाँदा १२ अर्ब रूपैयाँ पुगेको) मा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु भएको हो। निर्माणको काम भारतीय कम्पनी ‘इरकन’ले गर्दै आएको छ। रासस