बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आयात प्रतिबन्धका नाममा फस्टाएको तस्करी, भन्सार विभागले लक्ष्यको ५८.५ प्रतिशतमात्र उठायो राजस्व

सोमबार, साउन १ २०८०
आयात प्रतिबन्धका नाममा फस्टाएको तस्करी, भन्सार विभागले लक्ष्यको ५८.५ प्रतिशतमात्र उठायो राजस्व

खुला सीमानाका कारणले भारतीय सीमाबाट हुने चोरी पैठारी बाहेक प्रणालीगत तस्करी पनि यो बीचमा मौलाएको छ। 

काठमाडौं- गएको आर्थिक वर्षमा भन्सार विभागले लक्ष्यको आधाभन्दा थोरै बढीमात्र राजस्व संकलन गर्न सफल भएको छ। 

भन्सार विभागले विभिन्न शीर्षकबाट ३ खर्ब ९१ अर्ब राजस्व संकलन गरेको छ। यो लक्ष्यको ५८.५ प्रतिशत  हो। भन्सार विभागले गएका १२ महिनामामध्ये कुनैमा पनि लक्ष्य अनुसार राजस्व उठाउन सफल भएन। 

विभागको राजस्व गत वर्षको तुलनामा २२ प्रतिशतले ऋणात्मक भएको छ। गत वर्ष  विभागले ५ खर्ब राजस्व संकलन गरेको थियो। 

गएको आर्थिक वर्षको छ महिनामा मदिरा र सवारीसाधनको आयात प्रतिबन्ध लागेको थियो। विदेशी मुद्राको सञ्चिति जोगाउनका लागि भन्दै सरकारले लगाएको उक्त प्रतिबन्धको नाममा भन्सार नाकामा मौलाएको चोरी तस्करीले राजस्व संकलन प्रभावित भएको हो। 

भन्सार विभागकै अधिकारीहरूका अुनसार यो प्रतिबन्धलाई देखाएर न्यून राजस्व संकलनको दोष छोप्न पाइने भएकाले तस्करी मौलाएको छ। 

‘केकेसम्म तस्करी भएन? प्रतिबन्धकै समयमा पनि गाडी बाहेक केही पनि रोकिएन’ विभागका एक अधिकारी भन्छन्। 

उच्च राजनीतिक नेतृत्वकै संरक्षणसमेत देखिनेगरि मौलाएको तस्करीले राजस्व संकलन नराम्रोसँग प्रभावित भएको अधिकारीहरू बताउँछन्। 

‘सामान्यतया अघिल्लो वर्षकै तुलना गर्दा पनि भन्सारबाट यति थोरै राजस्व संकलन हुन नपर्ने हो। पहिलो दृष्टिमै यो असमान्य छ। ६ महिनाको प्रतिबन्ध र त्यसपछिको खुला हुँदा पनि राजस्व संकलनमा प्रभाव देखिएन’ ती अधिकारी भन्छन्। 

खाद्यन्न, कपडा, मदिरा जस्ता वस्तुको तस्करी व्यापक भएको अधिकारीहरूको भनाइ रहेको छ। चोरी पैठारीको यो श्रृखला वर्षको अन्तसम्मै कायम रहेको अधिकारीहरू बताउँछन्। मिलेमतोमा कमसल वस्तु नाकाबाटै छिराउने काम भएको छ। 

खुला सीमानाका कारणले भारतीय सीमाबाट हुने चोरी पैठारी बाहेक प्रणालीगत तस्करी पनि यो बीचमा मौलाएको छ। 


प्रकाशित : सोमबार, साउन १ २०८००२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend