काठमाडौं- बैंकर्स संघले एकैदरको ब्याजदर निर्धारण गर्ने काम रोकिने भएकाले साउनदेखि बैंकहरूले आफूखुसी ब्याजदर तोक्दै छन्।
बिहीबार बैंकर्स संघको बैठकले ब्याजदरमा एकरुपताको नाममा सामूहिक निर्णय नगर्ने निर्णय गरेको थियो। संघको निर्णयले निक्षेप र कर्जा दुवैको ब्याजदर घट्ने निश्चित छ। असारसम्ममा निक्षेपको ब्याजदर एकल अंकमै छ। यद्यपि असारसम्ममा सबैभन्दा बढी मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत छ।
नेपाल राष्ट्र बैंकले ब्याजदर एकैपटक धेरै घटबढ गर्न नपाउने गरी मासिक १० प्रतिशतको सिलिङमा रहनुपर्ने व्यवस्था गरेको छ। बैंकको निक्षेपको ब्याजदर अधिकतम करिब ११ प्रतिशत हाराहारी र घटाउन परेमा न्यूनतम करिब ९ प्रतिशत आसपास रहने आँकलन गर्न सकिन्छ।
बैंकहरूमा निक्षेप थुप्रिएकोले अब अधिकांश बैंकहरूको निक्षेपको ब्याजदर ९ प्रतिशतमा आउने देखिएको छ। बैंकहरूले व्यक्तिगत निक्षेपमा दिने ब्याजदर ८.९९ देखि १०.९८ प्रतिशतसम्म बनाउन सक्नेछन्।
राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार पछिल्लो तीन महिनाको औसत दरअनुसार कर्जाको ब्याजदर तोकिने भएकोले बैशाख, जेठ र असारको तथ्यांकअनुसार हुनेछ। जेठमा कर्जाको ब्याजदर औसत १२.५३ प्रतिशत हाराहारीमा थियो। अब साउनदेखि घट्ने निश्चित छ।
बैशाखमा कर्जाको ब्याजदर औसत १२.६५ प्रतिशत थियो। जेठमा १२.५३ प्रतिशत भयो। असारमा ०.१२ प्रतिशतले घट्यो। अहिले असारमा कर्जाको औसत १२.३५ रहेको छ। साउन देखि ११ देखि १२ प्रतिशतको बीचमा कर्जाको ब्याजदर रहने छ।
आधारदरले नै ऋणको ब्याजदर घट्ने बढ्ने निर्धारण गर्दछ। धेरै बैंकहरूको आधारदर १० प्रतिशत तल झारिएको छ। अब आधारदर सस्तो भएका बैंकहरूको ऋणको ब्याजसमेत सस्तो हुनेछ। बैंकले कर्जामा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडिने छ। आधार दरमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरूले ऋण लगानी गर्दछन्। त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ, आधार दर घट्दा ब्याजदर पनि घट्दै आउँछ।
स्प्रेडदर घटाउनै पर्ने बाध्यताले पनि ऋणको ब्याजदर घट्दैछ। स्प्रेडदर ४.२ बाट ४ प्रतिशतमा ल्याउनुपर्ने भएकोले पनि ऋणको ब्याजदर घट्ने छ।
बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब ३६ अर्ब पुगेको छ। यता ऋण लगानी ४८ खर्ब ५१ अर्बमा झरेको छ। कर्जाको माग कम भइ निक्षेप बढ्दै जाँदा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.६७ प्रतिशतमा आइपुगेको छ। बैंक तथा वित्तीय संस्थाको कर्जा(निक्षेप अनुपातको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थामा ९ प्रतिशत ऋण दिन सक्ने क्षमता देखिन्छ। अन्तरबैंक ब्याजदर ०.८३ प्रतिशतमा झरेको छ। यसले पनि ब्याजदर घटाउने संकेत गर्दछ।
कुन बैंकको आधारदर कति?
सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण पाइनेछ। बैंकको आधार दर ८.२४ प्रतिशत रहेको छ। अहिले रहेको आधारदर घटेको सबै बैंकको एकल अंकमा आउने भएकोले ऋणको ब्याजदर घट्ने छ।
अन्तर्राष्ट्रिय भुक्तानीका लागि नेपालमा एजेन्सी बैंकिङ गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंक भने दोस्रो स्थानमा रहेको छ। बैंकको आधारदर ९.२९ प्रतिशत रहेको छ।
सबैभन्दा कम आधार दर हुनेको तेस्रो स्थानमा नेपाल बैंक छ। बैंकको आधार दर ९.५५ प्रतिशत रहेको छ। यस्तै, नबिल बैंकको आधार दर ९.६५ प्रतिशत छ। नबिलबाट ऋण लिँदा पनि अन्य बैंकहरूको तुलनामा सूस्तो ब्याज लाग्नेछ। यसको आधारमा बैंकबाट ऋण लिँदा अधिकतम १४.५ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को आधार दर पनि ९.८४ प्रतिशत छ।
एभरेष्ट बैंकको आधार दर १०.०६ प्रतिशत, सिद्धार्थ बैंकको १०.२१ प्रतिशत, कषि विकासको १०.२१, एनआईसी एसियाको १०.३५, प्रभुको १०.३६, ग्लोबल आइएमईको १०.३७ प्रतिशत रहेको छ।
यस्तै, एनएमबि बैंकको आधार दर १०.४५ प्रतिशत, सानिमा बैंकको १०.५२ प्रतिशत, प्राइमको १०.८४ प्रतिशत, नेपाल एसबिआईको १०.८५, कुमारीको १०.८८ प्रतिशत छ। यता, माछापुच्छ्रे बैंकको आधार दर १०.९२ प्रतिशत, हिमालयन बैंकको १०.९४, सिटिजनको १०.९५, लक्ष्मीको १०.९६ प्रतिशत र सनराइजको ११.१४ प्रतिशत रहेको छ।