काठमाडौं- नेपालमा अटोमोबाइलका कम्पोनेन्टहरू बन्ने क्रम सुरु भएको छ। सवारीसाधनमा प्रयोग हुने ब्याट्री बनाउन धमाधम उद्योगहरू दर्ता हुँदै सञ्चालनमा आउन थालेका छन्।
एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले हेटौँडामा उद्योग स्थापना गरेर ब्याट्री उत्पादन थालेको केही समयपछि अर्को उद्योग पनि दर्ता भएको छ। रुपन्देहीमा ब्याट्री उत्पादन गर्नेगरी नयाँ उद्योग दर्ता भएको हो।
उद्योग विभागका अनुसार रुपन्देहीमा उद्योग स्थापना गर्नेगरी टेस्ला ब्याट्रिज प्रालि दर्ता भएको छ। सो उद्योगले वार्षिक २५ हजार १ सय मेट्रिकटन लिड एसिड ब्याट्री उत्पादन गर्नेछ। २९ जनालाई प्रत्यक्ष रोजगारी दिनेगरी दर्ता भएको टेस्ला ब्याट्रिजले २ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ।
उत्पादनमूलक साना उद्योग टेस्ला ब्याट्रिजमा ८० प्रतिशत विदेशी र २० प्रतिशत स्वदेशी लगानी रहेको छ।
नेपालमा पहिलोपटक सवारीसाधनमा प्रयोग हुने ब्याट्री उत्पादन सुरु भएको हो। आयातमै निर्भर रहेको ब्याट्री अब स्वदेशमै उत्पादन हुन थालेको हो। ब्याट्री उत्पादनका लागि एसटीसी ग्रुपले हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरेको छ।
सवारीजन्य पार्टपूर्जाको व्यवसाय गर्दै आएको ‘श्री एसटीसी समूह’ले पहिलोपटक नेपालमै उद्योग स्थापना गरेर ब्याट्री उत्पादन थालेको थियो। समूहले हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरेर सुरुवाती चरणमा मोटरसाइकल तथा स्कुटरमा प्रयोग हुने ब्याट्री उत्पादन गरिरहेको छ। कम्पनीले केही महिनाअघिदेखि नै स्वदेशमा उत्पादित ब्याट्री बिक्री गर्दै आएको छ।
एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालि एक वर्षअघि नै ब्याट्री उत्पादन गरेर परीक्षण गर्दै आएको थियो। आन्तरिक परीक्षण सफल भएपछि एसटीसीले पहिलो चरणको उत्पादन बजारमा पठाएको थियो। यसअघि नेपाली बजारमा सुकामका ब्याट्री सामान्य रुपमा एसेम्बल हुँदै आएको थियो। तर एसटीसी इनर्जीले भने कच्चा पदार्थ आयात गरेर सबैजसो आवश्यक वस्तु नेपालमै उत्पादन गरिरहेको छ।
टायरपछि ब्याट्री पनि नेपालमै उत्पादन हुनुले सवारी एसेम्बलका लागि नयाँ आयाम थपिनु हो। हालसम्म नेपालमा मोटरसाइकल एसेम्बल गर्दा भारतबाट तयारी पार्टस् आयात गरेर जोडजाड गरेर बिक्री गर्ने काम भइरहेको छ। मोटरसाइकल एसेम्बल गर्दा नेपालमै बनेका कुनै पनि कम्पोनेन्ट प्रयोग हुन सकेको छैन।
एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले ५० करोड रुपैयाँ लगानीमा ब्याट्री उत्पादन थालेको हो। सुरुवाती चरणमा मोटरसाइकल र स्कुटरका लागि मिल्ने ब्याट्री उत्पादन गरिरहेको छ। कम्पनीले आगामी दिनमा अध्ययन गरेर लिथियम आयन ब्याट्रीसमेत उत्पादन गर्ने लक्ष्य लिएको छ।
एसटीसी इनर्जी इन्डस्ट्रिजले उत्पादन गरेको ब्याट्रीको ब्रान्ड ‘राइड’ रहेको छ। कम्पनीले हाल विभिन्न ९ प्रकारको क्षमता भएका ब्याट्री बजार बिक्री गर्दै आएको छ। ब्याट्री उत्पादनको पोर्टफोलियो छिट्टै विस्तार गर्ने तयारी कम्पनीले गरेको छ।
टेस्ला ब्याट्रिज प्रालिले भने कुन सेगमेन्टको ब्याट्री उत्पादन गर्ने खुलाएको छैन। कम्पनी उद्योगमा दर्ता भएकाले प्लान्ट स्थापना गरेर केही समयपछि ब्याट्री उत्पादन हुनेछ।
योसँगै नेपालमा ब्याट्री उत्पादनमा प्रतिस्पर्धा बढ्दै जानेछ। उद्योगहरू स्थापना भएर स्वदेशमै ब्याट्री उत्पादन हुँदा रोजगारी सृजना हुनेसँगै आयातमा रहेको निर्भरता घट्दै जानेछ। नयाँ नयाँ ब्याट्री उद्योग खुल्दै जाँदा हाल आयात गरेर ठूलो संख्यामा ब्याट्री बिक्री गर्दै आएका कम्पनीहरू पनि उत्पादनमै जानु पर्ने दबाबमा आउने छन्।