काठमाडौं- हेलिकप्टर उडानलाई सुरक्षित बनाउने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीमा सेयर रहेका पाइलटलाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो नियमबाट विभिन्न हेलिकप्टर कम्पनीमा लगानी भएका ११ जना पाइलटले हेलिकप्टर उडाउन पाउने छैनन्। हेलिकप्टर उडान गर्ने भए उनीहरूले कम्पनीको सेयर छोड्नु पर्ने छ।
प्राधिकरणले हेलिकप्टर दुर्घटनामा सेयर पाइलटको विषयलाई शंकास्पद रुपमा हेरिरहेको छ। प्राधिकरणले 'मालिक पाइलट'का कारण भएको हेलिकप्टर दुर्घटनाको विषयमा अध्ययन गर्दै यस्तो निर्णय गरेको हो।
प्राधिकरणले हेलिकप्टर कम्पनीमा लगानी भएका पाइलटलाई उडान गर्न प्रतिबन्ध लगाउने प्रक्रिया सुरू गरिसकेको छ। यो निर्णय लागु हुन प्रक्रियागत रुपमा केही समय लाग्ने भएको छ। यो निर्णय कार्यान्वयनका लागि एयर अपरेटर सर्टिफिकेट रिक्वाएरमेन्ट (एओसीआर) मा अपटेड गर्ने तयारी गरेको छ। एओसीआरमा अपडेट भएसँगै यो नियम लागु हुने छ।
२०७५ भदौमा धादिङमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको थियो। यो दुर्घटनामा पाइलटसहित ६ जनाको ज्यान गएको थियो। उक्त उडानमा मालिक पाइलट निश्चल केसी रहेका थिए। गएको मंगलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पनि हेलिकप्टर उडानमा मालिक पाइलट चेतबहादुर गुरुङ नै थिए।
उक्त दुईवटै उडानमा ‘सर्ट रुट’ प्रयोग गर्दा दुर्घटना भएको प्राधिकरणको बुझाइ रहेको छ। किन मालिक पाइलटहरूले छोटो दुरी खोज्दै उडान गर्छन् भन्ने प्रश्न अहिले प्राधिकरणले उठाएको छ। मालिक पाइलटले उडानसँगै कम्पनीको नाफा पनि हेर्ने विषयलाई दुर्घटनाको परिस्थितिसँग जोडेर अध्ययन हुने भएको छ।
जहाजको आयुको विषय र बिजनेसका लागि मौसमसँग च्यालेन्ज गर्दै सर्ट रुट प्रयोग गरेको हुनसक्ने एक हेलिकप्टर कम्पनीका सञ्चालकले पनि स्वीकारे। हेलिकप्टरको सुरक्षित उडानका लागि सबैभन्दा पहिले त मालिक पाइलटलाई उडानमा प्रतिबन्ध नै लगाउनुपर्ने ती सञ्चालकको भनाइ छ। 'मालिक पाइलटलाई उडान गर्न नदिँदा जागिरे पाइलटले उडान आवर बढी भए पनि कुनै तनाब लिँदैन र खर्च जोगाउनका लागि मौसमसँग च्यालेन्ज गरेर सर्ट रुट पनि प्रयोग गर्दैनन्' ती सञ्चालकले बताए।
नेपालमा प्रायजसो सबै हेलिकप्टर यात्रु बोक्नुभन्दा पहिले नै भाडा बार्गेनिङ गरेर उडान गर्छन्। समयका आधारमा भाडा लिँदैनन्। पहिले नै बार्गेनिङ गरेर उडान गरेपछि लामो दुरीबाट उडान गर्दा लाग्ने खर्च बचाउनका लागि सर्ट रुट प्रयोग हुने गरेको छ। उदाहरणका लागि लुक्लाबाट काठमाडौं आउँदा लामाजुरा पासबाट आउँदा ३८ मिनेट समय लाग्छ भने लामाजुराको दक्षिण हुँदै अर्को रुटबाट काठमाडौं आउँदा २० मिनेटसम्म बढी समय लाग्छ। यस्तो अवस्थामा मालिक पाइलटहरूले हेलिकप्टरको उडान आवर कम गर्न र खर्च बचाउनका लागि सर्ट रुट प्रयोग गर्ने गरेको ती सञ्चालकले दाबी गरे।
नेपालमा अहिले उडानमा रहेका १२ हेलिकप्टर कम्पनीका दुई दर्जनभन्दा बढी हेलिकप्टर उडानमा ३१ जना नेपाली पाइलट रहेका छन्। त्यसमा पनि ११ जना मालिक पाइलट रहेका छन्। जसको सेयर स्वामित्व हेलिकप्टर कम्पनीमा रहेको छ र उनीहरू उडानमा पनि सहभागी भइरहेका छन्।
यी ११ पाइलट जसको हेलिकप्टर कम्पनीमा लगानी छ
प्राधिकरणले दिएको तथ्यांकअनुसार अहिले अल्टिच्युड एयरमा क्याप्टेन विवेक खड्का सेयर होल्डर छन्। एयर डाइनेस्टीमा क्याप्टेन अनिल रावल, समिट हेलिकप्टरमा क्याप्टेन किरण पुन, मनाङ एयरमा पिके सेढाइँ, सिम्रिकमा क्याप्टेन सिद्धार्थ गुरुङ, क्याप्टेन एस पौडेल र क्याप्टेन एचआर थापा रहेका छन्।
यस्तै माउन्टेन हेलिकप्टरमा क्याप्टेन एस बस्नेत, प्रभु हेलिकप्टरमा क्याप्टेन राजेश डंगोल र क्याप्टेन एचबी दाहाल साथै कैलाश हेलिकप्टरमा आशिस शेरचन रहेका छन्।