काठमाडौं- बेतन कर्णालीसहित चारवटा हाइड्रोपावरमा १ खर्ब १८ अर्ब रुपैयाँ लगानी हुने भएको छ। अपर चमेलिया, बुढीगण्डकी नदी जलविद्युत, मिडल इन्खु जलविद्युत् र बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लागत १ खर्ब १८ अर्ब लाग्ने अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ।
वन तथा वातावरण मन्त्रालयले चारवटै आयोजनाको लागत अनुमानसहितको वातावरणीय प्रभाव मूल्यांकनको राय माग्दै रिपोर्ट सार्वजनिक गरेको हो। जसमा बेतन कर्णालीमा ८८ अर्ब, मिडल इन्खु जलविद्युतमा ६ अर्ब ४३ करोड, बुढीगण्डकी नदी जलविद्युतमा १२ अर्ब ६४ करोड र इसुवा खोलामा ११ अर्ब २४ करोडको लगानीमा विद्युत उत्पादन हुने भएको छ।
कुन आयोजनाबाट कस्तो?
१) इसुवा खोला अर्धजलाशययुक्त
इसुवा खोला अर्धजलाशययुक्त (प्रोर क्यासकेड) जलविद्युत् आयोजनाको लागत बढ्ने गरी वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। उत्पादन बढ्ने भएपछि आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट अन्तिम स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।
प्रस्तावित जलविद्युत् आयोजना कोशी प्रदेशको संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नम्बर १ मा अवस्थित छ। यस आयोजनाको क्षमता ३७.७ मे.वा. बाट बढेर ४०.१ मे.वा. मा परिवर्तन भएको र आयोजनाको स्वीकृत संरचनाहरूमा सामान्य फेरबदल समेत भएकाले पूरक वातावरणीय प्रभाव मूल्यांकन गरिएको हो।
आयोजनाको लागत ३ अर्ब ८३ करोड ६० लाख रूपैयाँबाट बढेर ५ अर्ब ३६ करोड ७४ लाख लाग्ने अनुमान गरिएको छ।
प्रस्तावित अर्धजलाशयुक्त जलविद्युत् आयोजनाको डिजाइन डिस्चार्ज १२.६ घनमिटर प्रति सेकेण्ड र ग्रस हेड ३७१.७ मि. रहेको छ। यस जलविद्युत् आयोजनाको वार्षिक ऊर्जा उत्पादन २७०.२३ गिगावाट आवर (वर्षा याम-१६५.६० गिगावाट आवर, सुख्खा- १०४.६३ गिगावाट आवर) रहेको छ। यस आयोजनाको मुख्य संरचनाअन्तर्गत हेडपोन्ड, पेनस्टक पाइप, विद्युत्गृह, टेलरेस तथा प्रसारण लाइन लगायतका संरचनाहरू पर्दछन्।
पूरक रिपोर्ट अनुसार आयोजनाको ग्रस हेड तथा नेट हेड बढेको छ। आयोजनाको लागि पहिले प्रस्ताव गरिएको टर्वाइन तथा जेनेरेटर भन्दा बढी कार्यदक्षता भएको टर्वाइन र जेनेरेटर प्रस्ताव गरिएको छ। आयोजनाको लागि स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनभन्दा पूरकमा बढी रेटेड क्षमता भएको ट्रान्सफर्मरको प्रस्ताव गरिएको छ।
आयोजनााको पेनस्टक पाइप संरचना र विद्युत्गृहको निर्माण स्थलमा केही परिवर्तन गरिएकोले पहिले काटिने रूखको संख्या (१६०) भन्दा हाल काटिने रूखको संख्यामा कमि हुने रिपोर्टमा उल्लेख छ।
आयोजना संरचनाहरूको आकारमा केही परिवर्तन आएकाले सरकारी जमिन पहिलेभन्दा कम प्रयोग हुने भएको छ भने निजी जमिनको प्रयोगमा केही परिवर्तन नभएको आयोजनाले जनाएको छ।
२) बुढीगण्डकी नदी जलविद्युत् आयोजना
गण्डकी प्रदेश गोरखा जिल्लाको चुमनुव्री गाउँपालिकामा बुढीगण्डकी नदी जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन राय सुझावका लागि सार्वजनिक भएको छ।
आयोजनाको कुल लागत १२ अर्ब ६४ करोड ८६ लाख ५२ हजार रूपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत भने १२ करोड ३६ लाख रूपैयाँ रहेको छ। यही गाउँपालिकामा साढे १४ अर्बको लागतमा ८१ मेगावाटको बुढीगण्डकी प्रोक जलविद्युत् आयोजना समेत निर्माण हुँदैछ।
बुढीगण्डकी नदी जलविद्युत् आयोजना चुमनुव्री गाउँपालिका वडा नम्बर ३, ५ र ६ को नदीको दायाँ किनारामा रहने छ। साढे १४ अर्बको लागतमा निर्माण हुने ८१ मेगावाटको बुढीगण्डकी प्रोक जलविद्युत् आयोजना भने सोही गाउँपालिको ४ नम्बर वडामा रहने छ।
बुढीगण्डकी नदी जलविद्युत् आयोजनाको प्रस्तावक सूर्य इनर्जी प्रालि रहेको छ। यो आयोजना समुद्री सतहबाट १६०४.४५ मिटर देखि १८०६.८ मिटरको उचाइमा रहेको छ। प्रस्तावित आयोजना रन अफ रिभर प्रकारको हो। आयोजनाको डिस्चार्ज ५६.९६ घनमिटर प्रतिसेकेण्ड रहेको छ भने ग्रस हेड २०२०.२० मिटर र नेट हेड १८८.९० मिटर रहेको छ।
आयोजनाको वार्षिक उत्पादन ४९१.१ गिगावाट आवर रहेको छ। प्रस्तावित आयोजनाको मुख्य संरचनाहरुमा डाइभर्जन वेयर, इन्टेक ग्राभेल, ग्राभेल ट्रयाप, एप्रोच कल्भर्ट, सेटलिंग बेसिन, हेडरेस कल्भर्ट हेडरेस टनेल, अडिट टनेल, सर्ज साफ्ट, इन्क्लाइन्ड साफ्ट, विद्युतगृह, टेलरेस तथा प्रसारण लाइन पर्दछन्।
वेयर क्रेस्ट र टर्बाइन एक्सिस तहलाई समुद्री सतहभन्दा १८०६.८ मिटर र १६०४.४५ मिटर उचाइमा स्थिर गरिएको छ। आयोनाको हेडरेस टनेलको लम्बाइ ५५१५ मिटर छ भने भूमिगत विद्युतगृहको लम्बाइ ४० मिटर र चौडाइ १३.५ मिटर र उचाइ २४.२५ मिटर रहेको छ।
३) ६ अर्ब ४३ करोडको लगानीमा मिडल इन्खु जलविद्युत् आयोजना
कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकामा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।
आयोजनाको प्रस्तावक विद्युत् विभाग रहेको छ। सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा आयोजनाको लागत ६ अर्ब ४३ करोड रूपैयाँ अनुमान गरिएको छ। आयोजना जल प्रवाहमा आधारित प्रकृतिको रहेको छ। आयोजनाको वार्षिक उत्पादन क्षमता १६४.११ गिगावाट रहने रिपोर्टमा उल्लेख छ।
४) बेतन कर्णाली अर्धजलाशययुक्त आयोजना
सञ्चय कोषले लगानी गर्ने ४३९ मेगावाटको वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढ्ने भएको छ। वन तथा वातावरण मन्त्रालयले वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन राय सुझावका लागि भन्दै सार्वजनिक गरेको छ। रिपोर्टमा आयोजनाको लागत ८८ अर्ब १८ करोड ३३ हजार ९ सय ५५ रूपैयाँ अनुमान गरिएको छ। यो रकम आईडीसी पछाडिको रकम हो।
आयोजनाको आईडीसी अगाडिको लागत भने ७४ अर्ब १५ करोड १२ लाख ५५ हजार ९ सय ७८ रूपैयाँ रहेको छ। यसैगरी आयोजनाको लागत वित्तीयतर्फ १० करोड ८ लाख ८५ हजार ७ सय ३० रूपैयाँ प्रतिमेगावाट रहेको छ। आयोजनाको प्रतिवेदन पेस गर्ने निकाय वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विद्युत् विकास विभागमार्फत प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस भएको थियो।
आयोजना निर्माणमा ४४ हजार १ सय ९१ वटा रुख कटानी हुनेछ भने आयोजनाले ओगट्ने वन क्षेत्र ३ सय हेक्टर रहेको छ। आयोजनाका लागि कुल ६ सय ९२ हेक्टर जग्गा आवश्यक पर्नेछ। जसमा ९३ हेक्टर निजी र बाँकी ५ सय ९८.८८ हेक्टर वन क्षेत्र घाँसे मैदान, रुख र बुट्यानले ढाकिएको र कर्णाली नदी/बगर क्षेत्र रहेको रिपोर्टमा उल्लेख छ। आयोजनाबाट प्रभावित परिवार संख्या ३ सय ८४ रहेको छ। आयोजनाको निर्माण अवधि ५ वर्ष हुने रिपोर्टमा उल्लेख छ।
आयोजनामा ६ वटा टेलरेस सुरुङ निर्माण हुनेछ। आयोजनाको विद्युत् जडित क्षमता ४ सय ३९ मेगावाट र डिजाइन बहाव सुक्खा समयमा ५३६ घनमिटर प्रतिसेकेन्ड वर्षामा ५५१.३३ घनमिटर प्रतिसेकेन्ड हुनेछ। प्रस्तावित आयोजनको कुल हेड ९९.१३ मिटर मुख्य पावरहाउसबाट र ७८.३ मिटर वातावरणीय बहावबाट रहेको छ।
आयोजनाको बाँध मालुमेलाबाट करिब २ किलोमिटर तल्लो भागमा र बाँधको उचाई नदी पिँधबाट ९० मिटर र बाँधको आधारबाट १४० मिटर रहेको हुनेछ। आयोजनामा हेडरेस सुरुङ संख्या ३ वटा रहने छ। आयोजनाको विद्युतगृह भूमिगत २०२ मिटर लम्बाई र २३.५ मिटर चौडाई ५४.४८ मिटर उचाई रहने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।
आयोजनाबाट सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ र ७ तथा तुर्मखाँद गाउँपालिकाको वडा नम्बर ३,४ र ५ प्रभावित हुने छ। यसैगरी आयोजनाबाट नै कर्णाली प्रदेशको सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४,५, ६ र पञ्चपूरी नगरपालिका वडा नम्बर वडा नम्बर ७ समेत प्रभावित हुने रिपोर्टमा उल्लेख छ।