काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर दुर्घटनाको संख्या बढेसँगै सुरक्षित उडानका लागि भन्दै ५ वटा नयाँ नियम जारी गरेको छ।
सन् २०२३ को सात महिनामा ४ वटा हेलिकप्टर दुर्घटना भएको थियो। ४ वटा हेलिकप्टर उडानमा ७ जनाले ज्यान गुमाएका थिए।
हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले कडाइ गर्न लागेको हो।
१. नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमनका लागि 'स्पेसल टास्क फोर्स' गठन गर्ने निर्णय गरेको छ। यो टिमले दैनिक रुपमा हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमन गर्ने छ। साथै उक्त टिमले हवाई उडानमा लापरबाही गर्नेलाई कारबाहीको सिफारिस समेत गर्ने छ।
टिममा सबै सेक्टरका प्रतिनिधि सहभागी हुने प्राधिकरणले जनाएको छ। पछिल्लो समय हेलिकप्टर दुर्घटना बढेपछि प्राधिकरणले दुर्घटना न्यूनीकरणका लागि विभिन्न उपाय अपनाउने निर्णय गरेको छ। जसमध्ये 'स्पेसल टास्क फोर्स' समेत एक हो।
२. उडानको सुरू गन्तव्यमा नफर्की बीचबाटै अन्य गन्तव्यमा जान नपाइने समेत नयाँ निर्णय जारी भएको छ। प्राधिरकणले हेलिकप्टरहरू एउटा गन्तव्यबाट उडान गरेर गएपछि त्यही गन्तव्यमा फर्केर मात्रै अन्य गन्तव्यमा जान पाउने निर्णय गरेको छ। जस्तो कि सोलुखुम्बुको लुक्लाबाट उडेर फागदिङ गएको हेलिकप्टरले त्यहीँबाट पुन: लुक्लामा नफर्की अर्को गन्तव्यको उडानमा जान पाउने छैनन्।
उक्त हेलिकप्टर नयाँ गन्तव्यमा जान परेमा पुन: उडान सुरू भएको लुक्लामा नै आउनुपर्ने छ। प्राधिकरणले बिहान एक ठाउँबाट उडान गरेका हेलिकप्टर दिनभरी आफूखुसी उडान गरेर बेलुका मात्रै गन्तव्यमा आउने गरेको पाइएको भन्दै यस्तो निर्णय गरेको हो। प्राधिकरणले दिनभरी टावरसँग समेत सम्पर्क नगरी उडान गर्ने प्रवृति बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ।
३. यसैगरी प्राधिकरणले उद्धार उडानको अनुमति अब एयर ट्रान्सपोर्ट डिपार्टमेन्टबाट हुने नियम जारी गरेको छ। प्राधिकरणको एभिएसन सेफ्टी एण्ड सेक्युरिटी रेगुलेसन निर्देशनालयबाट उद्धार उडानको अनुमति जारी गर्ने र जसको हरेक एक सातामा रिभ्यू गर्ने निर्णय गरेको हो।
४. प्राधिकरणले सेप्टेम्बरसम्मका लागि ३ प्रकारको उडानमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ। धेरै पानी परेका बेला उडानमा जोखिम हुने भन्दै प्रधिकरणले तीन प्रकारका उडानमा प्रतिबन्ध लगाएको हो। जसमा पुष्पवृष्टि गर्न गरिने उडान, माउन्टेन फ्लाइट र सामान झुन्ड्याएर गरिने उडानमा प्रतिबन्ध लगाएको छ। यी उडानमा आगामी सेप्टेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको हो।
५. हेलिकप्टर कम्पनीमा लगानी भएका पाइलटलाई उडान गर्न प्रतिबन्ध लगाउने निर्णय प्राधिकरणले गरेको छ। प्राधिकरणले हेलिकप्टर कम्पनीमा सेयर रहेका 'मालिक पाइलट'हरूलाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गर्दै प्रक्रिया अघि बढाएको हो। यो निर्णय लागु हुन प्रक्रियागत रुपमा केही समय लाग्ने भएको छ। यो निर्णय कार्यान्वयनका लागि एयर अपरेटर सर्टिफिकेट रिक्वाएरमेन्ट (एओसीआर) मा अपटेड गर्ने तयारी गरेको छ। एओसीआरमा अपडेट भएसँगै यो नियम लागु हुने छ। अहिले पनि १२ वटा हेलिकोप्टर कम्पनीमा ८ जनाभन्दा बढी मालिक पाइलट रहेका छन्।