काठमाडौं- नेपाली आकाशमा पछिल्लो समय हेलिकप्टर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरूको स्वामित्व र व्यवस्थापनका बारेमा अध्ययन गर्न थालेको छ। सन् २०२३ को ७ महिना नबित्दै चारवटा हेलिकप्टर दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित छानबिनसँगै कम्पनीको संरचना र स्वामित्वमाथि पनि आशंका गरेको हो।
प्राधिकरणले हेलिकप्टर उडानमा रहेका र हेलिकप्टर कम्पनीमा सेयर स्वामित्व भएका 'मालिक पाइलट'को विवरण माग्ने तयारी गरेको छ। प्राधिकणले पछिल्लो समय भएका ठूला हेलिकप्टर दुर्घटनामा मालिक पाइलटहरू रहेको प्रारम्भिक निष्कर्षसहित सबै हेलिकप्टर कम्पनीसँग 'मालिक पाइलट'को विवरण मागेको हो।
गएको मंगलबारमात्रै दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर उडानमा चेतबहादुर गुरुङ 'मालिक पाइलट' नै रहेका थिए। उक्त हेलिकप्टर दुर्घटनामा पाइलट र पाँच विदेशी नागरिकले ज्यान गुमाएका थिए। २०७५ भदौमा धादिङमा भएको अल्टिच्युटको हेलिकप्टर दुर्घटनामा समेत मालिक पाइलटले नै हेलिकप्टर उडान गरेका थिए। उक्त दुर्घटनामा पाइलट रहेका निश्चल केसी अल्टिच्युट एयरमा लगानीकर्ता पनि थिए।
गोरखाको सानागाउँबाट उडान भरेको हेलिकप्टर २०७५ भदौमा धादिङमा दुर्घटना भएको थियो। हेलिकप्टर बादलमा पसेपछि बाहिर निस्कन नसक्दा पहाडमा ठोक्किएर दुर्घटना भएको थियो। सोही दिन सानागाउँबाट सोही समयमा उडेको अर्को हेलिकप्टरले भने मौसम खराब भएपछि रुट परिवर्तन गरेर लामो दुरी हुँदै उडान गरेर काठमाडौं आइपुगेको थियो।
सोलुखुम्बु र धादिङमा भएका यी दुईवटै उडानमा ‘सर्ट रुट’ प्रयोग गर्दा दुर्घटना भएको प्राधिकरणको बुझाइ रहेको छ।
किन मालिक पाइलटहरूले छोटो दुरी खोज्दै उडान गर्छन् भन्ने प्रश्न अहिले प्राधिकरणले उठाएको छ। मालिक पाइलटले उडानसँगै कम्पनीको नाफा पनि हेर्ने विषयलाई दुर्घटनाको परिस्थितिसँग जोडेर अध्ययन हुने भएको छ।
जहाजको आयुको विषय र बिजनेसका लागि मौसमसँग च्यालेन्ज गर्दै सर्ट रुट प्रयोग गरेको हुनसक्ने एक हेलिकप्टर कम्पनीका सञ्चालकले पनि स्वीकारे। हेलिकप्टरको सुरक्षित उडानका लागि सबैभन्दा पहिले त मालिक पाइलटलाई उडानमा प्रतिबन्ध नै लगाउनुपर्ने ती सञ्चालकको भनाइ छ। 'मालिक पाइलटलाई उडान गर्न नदिँदा जागिरे पाइलटले उडान आवर बढी भए पनि कुनै तनाब लिँदैन र खर्च जोगाउनका लागि मौसमसँग च्यालेन्ज गरेर सर्ट रुट पनि प्रयोग गर्दैनन्' ती सञ्चालकले बताए।
नेपालमा प्रायजसो सबै हेलिकप्टर यात्रु बोक्नुभन्दा पहिले नै भाडा बार्गेनिङ गरेर उडान गर्छन्। समयका आधारमा भाडा लिँदैनन्। पहिले नै बार्गेनिङ गरेर उडान गरेपछि लामो दुरीबाट उडान गर्दा लाग्ने खर्च बचाउनका लागि सर्ट रुट प्रयोग हुने गरेको छ। उदाहरणका लागि लुक्लाबाट काठमाडौं आउँदा लामाजुरा पासबाट आउँदा ३८ मिनेट समय लाग्छ भने लामाजुराको दक्षिण हुँदै अर्को रुटबाट काठमाडौं आउँदा २० मिनेटसम्म बढी समय लाग्छ। यस्तो अवस्थामा मालिक पाइलटहरूले हेलिकप्टरको उडान आवर कम गर्न र खर्च बचाउनका लागि सर्ट रुट प्रयोग गर्ने गरेको ती सञ्चालकले दाबी गरे।
२०७५ भदौमा धादिङमा भएको अल्टिच्युटको हेलिकप्टर दुर्घटना र मंगलबार सोलुखुम्बुको लामाजुरामा भएको हेलिकप्टर दुर्घटनामा सर्ट रुट प्रयोग गर्न खोज्दा दुर्घटना निम्तिएको शंका उत्पन्न भएको हो। २० मिनेट मात्रै कम गर्न सकेको अवस्थामा ८ सय डलरसम्म बचत हुने र हेलिकप्टरको मर्मत समयलाई केही पछि धकेल्न सहयोग पुग्ने जसबाट हुने बिजनेसको हिसाब किताबले मालिक पाइलटहरूले सर्ट रुट प्रयोग गर्ने गरेको ती सञ्चालकको दाबी छ।
नेपालमा अहिले उडानमा रहेका १२ हेलिकप्टर कम्पनीका दुई दर्जनभन्दा बढी हेलिकप्टर उडानमा ३१ जना नेपाली पाइलट रहेका छन्। त्यसमा पनि ८ जना मालिक पाइलट रहेका छन्। जसको सेयर स्वामित्व हेलिकप्टर कम्पनीमा रहेको छ र उनीहरू उडानमा पनि सहभागी भइरहेका छन्।
कम्पनीमै स्वामित्व भएका पाइलटले उडानको कमान्ड सम्हाल्दा सुरक्षासँगै व्यापारिक स्वार्थ पनि हेरेको हुनसक्ने आशंका नियामक नागरिक उड्डयन प्राधिकरणले पनि गरेको छ। पछिल्ला दुई ठूला दुर्घटनाको प्रवृत्तिले यो अध्ययनको विषय भएको भन्दै प्राधिकरणले चासो लिएको छ।