मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

कर्जा विस्तारमा सुस्तता : ४ खर्ब ४५ अर्ब निक्षेप आउँदा डेढ खर्बमात्रै कर्जा प्रवाह

मंगलबार, असार २६ २०८०
कर्जा विस्तारमा सुस्तता : ४ खर्ब ४५ अर्ब निक्षेप आउँदा डेढ खर्बमात्रै कर्जा प्रवाह

काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा निक्षेप संकलनमा व्यापक सुधार हुँदा कर्जा परिचालनमा भने सुस्तता देखिएको छ।  बैंक तथा वित्तीय क्षेत्रमा ४ खर्ब ४५ अर्ब १३ करोड निक्षेप थपिएको छ। तर कर्जा प्रवाह भने १ खर्ब ५७ अर्बमात्रै भएको छ। जब कि गतवर्ष ५ खर्ब ५२ अर्ब कर्जा प्रवाह भएको थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार यो थपिएको निक्षेप अघिल्लो वर्षको ११ महिनाको तुलनामा ८.८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ६६ अर्बले थपिएको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.२ प्रतिशतले बढेको छ। 

२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.९ प्रतिशत, २५.६ प्रतिशत र ५९.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.८ प्रतिशत, २७.१ प्रतिशत र ५७.१ प्रतिशत रहेको थियो। २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.७ प्रतिशत रहेको छ। २०७९ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३८.६ प्रतिशत रहेको थियो।  

यता ११ महिनामा कर्जा प्रवाह १ खर्ब ५७ अर्ब ३६ करोड मात्रै बृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशत मात्रै बढी हो।  अघिल्लो वर्ष ११ महिनामा ५ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ कर्जा विस्तार भएको थियो। २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ६.० प्रतिशतले र वित्त कम्पनीहरुको ०.९ प्रतिशतले बढेको छ।

२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८.० प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ। २०७९ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो।

nrb.JPG

आर्थिक वर्ष २०७९/८० को एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २३.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ७.३ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६७.६ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ७.२ प्रतिशतले र हायर पर्चेज कर्जा १३.० प्रतिशतले घटेको छ। 


प्रकाशित : मंगलबार, असार २६ २०८००४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend