बुधबार, कात्तिक १४ गते २०८१    
images
images

अनौपचारिक श्रमिक र स्वरोजगारलाई असार २७ बाट सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

कति रकम योगदान गर्दा कुन योजनामा कति सुविधा?

images
मंगलबार, असार २६ २०८०
images
images
अनौपचारिक श्रमिक  र स्वरोजगारलाई असार २७ बाट सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरु भने २०७५ मंसिरबाट भएको थियो। सुरुमा ‌औपचारिक क्षेत्रका श्रमिकबाट यसको सुरु गरिएको थियो।

images
images

काठमाडौं- अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा बुधबारदेखि आवद्धता सुरु हुने भएको छ।

images
images
images

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई कोषमा जोड्ने कार्यक्रमको सुरुवात प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्।

images

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरु भने २०७५ मंसिरबाट भएको थियो। सुरुमा ‌औपचारिक क्षेत्रका श्रमिकबाट यसको सुरु गरिएको थियो। २०७५ मंसिरमा कोषको काम सुरु भएपनि २०७६ साउनबाट श्रमिकलाई कोषमा जोड्ने काम सुरु भएको थियो।

images

यसैगरी २०७८ चैतबाट वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि कोषमा जोड्ने काम सुरु भएको थियो। 

बैशाख १ गतेबाट नै अनौपचारिक श्रमिक र स्वरोजगारमा रहेको व्यक्तिलाई कोषमा जोड्ने भने पनि केही ढिलागरी असार २७ गते बुधबारबाट लागु गर्न लागिएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए।

कोषमा आवद्ध हुन स्वरोजगार व्यक्तिलाई चाहिने कागजपत्र

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्ति कोषमा जोडिन सक्ने छन्। यसका लागि स्वरोजगारमा रहेको व्यक्तिको नेपाली नागरिकता प्रतिलिपी, स्वरोजगारसम्बन्धी पेशा वा व्यवसायमा दर्ता गरेको भएमा सोको प्रमाणपत्र र त्यस्तो पेशा वा व्यवसाय दर्ता गरेको नभएमा पेशा वा व्यवसाय गरेको स्थानको सम्बन्धित स्थानीय वडा कार्यालयले गरेको सिफारिस पत्र आवश्यक पर्ने कोषले जारी गरेको कार्यविधिमा उल्लेख छ।

यसैगरी कोषमा सूचीकृत भएपछि आफूले मासिक रुपमा गर्ने योगदान रकम, प्यान वा कर दर्ता प्रमाणपत्र प्रतिलिपी र पेशा वा व्यवसायको नाम तथा त्यस्तो पेशा वा व्यवसाय गरेको ठेगाना तथा सम्पर्क नम्बर चाहिने कोषले जनाएको छ। 

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई चाहिने कागजपत्र

-श्रमिकको नागरिकताको प्रतिलिपि।

-आफूले श्रम गर्ने गरेको क्षेत्र (कृषि, यातायात, निर्माण वा घरेलु कामदार)।

- स्थानीय तहको वडा कार्यालयले निज अनौपचारिक क्षेत्रमा कार्यरकत श्रमिक रहेको भनि गरेको सिफारिस पत्र।

सामाजिक सुरक्षा योजनाको सञ्चालन र सुविधाहरु

-औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

-दुर्घटना तथा अशक्ता सुरक्षा योजना

-आश्रित परिवार सुरक्षा योजना 

-वृद्ध अवस्था सुरक्षा योजना

योगदान रकमको बाँडफाँड

अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट एघार प्रतिशत रकम र सरकारबाट थप गरिएको नौ दशमलव सैतीस प्रतिशत रकम थप गरी कुल बीस दशमलव सैतीस प्रतिशत रकम कोषमा जम्मा हुनेछ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले  जम्मा गर्नु पर्ने रकम भन्दा कम रकम जम्मा गरिदिने वा त्यस्तो रकम जम्मा नगरिदिने अवस्थामा योगदानकर्ता आफैले त्यस्तो बाँकी रकम समेत आफैं योगदान गर्ने गरी सामाजिक सुरक्षा योजनामा सहभागि हुन सक्ने छन्।

योगदानको रकमलाई कोषले देहायका योजनामा देहाय बमोजिम बाँडफाँड गर्ने कोषको कार्यविधिमा उल्लेख छ।

- औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित

- परिवार सुरक्षा योजनाको लागि दश दशमलव सैतीस प्रतिशत।

-वृद्ध अवस्था सुरक्षा योजनाको लागि दश प्रतिशत।

यसैगरी स्वरोजगारमा रहेका व्यक्तिले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिक देखि अधिकतम यसको तीन गुणा सम्मको रकमको एकतीस प्रतिशत रकम योगदान गर्नु पर्नेछ र त्यस्तो रकम कोषले देहायका योजनामा देहाय बमोजिम बाँडफाँड गर्ने कोषले जनाएको छ।

-औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि एक प्रतिशत।

-दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको लागि एक दशमलव चालीस प्रतिशत।

-आश्रित परिवार सुरक्षा योजनाको लागि शून्य दशमलव सत्ताइस प्रतिशत।

-वृद्ध अवस्था सुरक्षा योजनाको लागि अठाईस दशमलव तेतिस प्रतिशत। 


स्वास्थ्य  सुविधाको लिनका लागि पूरा गर्नुपर्ने अवधि

सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नको लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना घटेको भन्दा अघिको १२ महिनामा कम्तीमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनु पर्ने कोषको कार्यविधिमा उल्लेख छ।

यसैगरी सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नको लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १८० महिना योगदान गरेको हुनु पर्ने कार्यविधिमा उल्लेख छ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत पाउने सुविधा 

-चिकित्सकको परामर्श सेवा।

-अस्पताल भर्ना तथा शल्यक्रिया बापतको शुल्क।

-रोगको परीक्षण तथा उपचार बापतको खर्च।

-औषधिको बिल बमोजिमको खर्च।

-अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका महिला योगदानकर्ता वा पुरुष योगदानकर्ताको पत्नी गर्भवति भई नियमित गर्भ परीक्षण गराउँदाको खर्च, अस्पताल भर्ना भई प्रसूति सम्बन्धी शल्यक्रिया वा उपचार गराउँदाको खर्च, अस्पतालमा सुत्केरी हुँदाको खर्च, सुत्केरी भएको छ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित उपचार खर्च तथा तीन महिनासम्मको शिशुको उपचार बापतको खर्च।

सुविधाको सीमाहरु

- योगदानकर्तालाई अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा औषधि उपचार गर्दा लागेको खर्च स्वास्थ्य सुविधा बापत प्रदान गरिनेछ र त्यस्तो रकम सम्बन्धित अस्पताललाई सिधै भुक्तानी गरिने।

-अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्ति वा त्यस्ता योगदानकर्ताको पत्नी तथा नवजात शिशुको उपचार खर्च समेत स्वास्थ्य सुविधा बापत प्रदान गरिने।

-अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्था बाहेकका योगदानकर्तालाई चिकित्सकको प्रेस्क्रिप्सन बमोजिमको सुविधा वार्षिक रुपमा बढीमा पच्चीस हजार रुपैयाँसम्म प्रदान गरिने।

-सुविधाको रकम उपयोग गरेका योगदानकर्तालाई समेत निज अस्पताल भर्ना भएर उपचार गराउँदा  स्वास्थ्य सुविधा प्रदान गरिने।

- अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका महिला योगदानकर्ता वा पुरुष योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा शिशु स्याहारको लागि प्रति शिशु एक महिनाको न्यूनतम आधारभूत पारिश्रमिक बराबरको रकम उपलब्ध गराईनेछ र यस्तो रकम चौबीस हप्ता भन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिने । तर, पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एक जनाले मात्र यस्तो सुविधा दाबी गर्नु पर्नेछ।

-सुविधा दाबी गर्ने योगदानकर्ताले कुल दाबी रकमको बीस प्रतिशत रकम आफ्नो तर्फबाट व्यहोर्नु पर्नेछ र स्वास्थ्य सुविधा बापतको कुल रकम एक आर्थिक वर्षमा एक लाख रुपैयाँ भन्दा बढी हुने छैन।

- सुविधा प्राप्त गर्ने योगदानकर्ताले नेपाल सरकार वा अन्य बिमा योजना बमोजिम कुनै स्वास्थ्य सुविधा लिन पाउने कुराले बाधा पर्ने छैन।

-प्रसूति सुविधा बापतको रकम भुक्तानीको हकमा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका महिला योगदानकर्तालाई अन्ठानब्बे दिन बराबरको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको साठी प्रतिशतले हुने रकम प्रसूति सुविधा बापत उपलब्ध गराइने।

स्वास्थ सेवामा प्राप्त नहुने सुविधा

na.jpg

वृद्ध अवस्था सुरक्षा योजनामा अन्तर्गत पाइने सेवा सुविधा

- योगदानकर्ताको साठी वर्ष उमेर पूरा भएपछि निवृत्तभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई एकसय साठीले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउने।

-कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ रुपमा प्रदान गरिने ।

-कुनै योगदानकर्ताले निवृत्तभरण प्राप्त गर्न शुरु गरे पछि निजको मृत्यु भएमा निजको पति वा पत्नीको वैकल्पिक रोजगारी नभएको वा निवृत्तभरण पाउने अवस्था नभएमा मृतकको पति वा पत्नीलाई योगदानकर्ताले पाईरहेको निवृत्तिभरणको पचास प्रतिशतले हुन आउने रकम आजिबन निवृत्तभरण प्रदान गरिने। तर योगदानकर्तासँग निजको वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान हुने छैन्।

आश्रित परिवार सुरक्षा योजना

आश्रित परिवार सुरक्षा योजनाबाट प्राप्त गर्ने सुविधा योगदानकर्ताको मृत्यु भएमा निजको आश्रि परिवारलाई आश्रित परिवार सुरक्षा योजना पति वा पत्नीले निवृत्तभरण, सन्ततिले शैक्षिक वृति र अन्तिक संस्कार खर्च पाउने छन्।  योगदानकर्ताको पति या पत्नीको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति वा पत्नीले न्यूनतम आधारभूत पारिश्रमिकको र स्वरोजगार श्रमिकको लागि औषत पारिश्रमिकको ४० प्रतिशतको दरले निजले जीवनभर निवृत्तभरण पाउने कोषले जनाएको छ। तर योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजको बैकल्पिक रोजगार रहेको अवस्थामा यो सुविधा पाउने छैनन्। 

योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको अठार वर्ष उमेर पूरा नभएको सन्ततिले सो उमेर पूरा नभएसम्म शैक्षिकवृत्ति वापत न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पाउने छन्। तर एक भन्दा बढी सन्तती सुविधा पाउने अवस्थाको भएमा बढीमा दुई सन्ततीलाई चालिस प्रतिशत रकम दामासाहीले प्रदान गरिने कोषको कार्यविधिमा उल्लेख छ। 

योगदानकर्ताको कुनै सन्तति निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा एकाइस वर्षको उमेर पूरा नभएसम्म पाउने छन्। तर निजको विवाह भएमा वा अध्ययनरत नरहेमा त्यस्तो सुविधा पाउने छैनन्।  साथै कुनै सन्तति शारीरिक वा मानसिक रुपमा काम गर्न असक्षम भएमा त्यस्तो सन्ततिको हकमा उमेरको हद लागू  नहुने कोषको कार्यविधिमा उल्लेख छ।

यसैगरी योगदान कर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभइको तर निजसँग आश्रित बुबाआमा रहेको अवस्थामा न्यूनतम आधारभुत पारिश्रमिकको ४० प्रतिशत रकम निजको जीवनकालभर पाउने छन्।  आमा बुबा दुबै जीवत रहेको अवस्थामा भने दामासी हुने छ।  अन्तिम संस्कार  खर्च बापच २५ हजार रुपैयाँ पाउने छन्। 

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट पाउने सुविधा

- अनौपचारिक क्षेत्रका  श्रमिक र स्वरोजगारमा रहेका व्यक्ती दुर्घटनामा परी अस्पतालमा उपचार गर्दा लागेको खर्चको अधिकतम ७ लाख रुपैयाँ उपचार खर्च पाउने छन्।

- दुर्घटनाका कारण अस्थायी पूर्ण असक्षमता भएको अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले न्यूनतम पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक निज काममा फर्कन सक्ने अवस्था नभएसम्म पाउने छन्। 

- दुर्घटनाका कारण स्थायी असक्षमता भएको अवस्थामा असक्षमता अनुपातमा निजले पाउने न्यूनतम आधारभुत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई सत प्रतिशत मानी निजको असक्षमताको प्रतिशतको आधारमा जीवनकालभरी निवृत्तभरण सुविधावापत मासिक रुपमा रकम पाउने।

- दुर्घटनाका कारण स्थायी पूर्ण असक्षमता भएको अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार रहेका व्यक्तिहरुलाई निजले आधारभुत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रुपमा निज जीवत रहुनजेल पाउने छन्। साथै यस्ता योगदान कर्ताको हिँडडुल गरेन नस्कने अवस्था भएमा निजलाई हेरचार गर्ने परिवारको सदस्य वा त्यस्तो सदस्य पनि नभएमा वा भएपनि हेरचाह नगरेकोमा निजलाई हेरचार गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिसमा भुक्तानी गरिने कोषको कार्यविधिमा उल्लेख छ। 


प्रकाशित : मंगलबार, असार २६ २०८००१:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend