मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बैंकहरूमा अधिक तरलता, खराब कर्जा बढेपछि ऋण लगानीमा पर्ख र हेरको अवस्थामा बैंकर्स

असारमै ८६ अर्ब निक्षेप वित्तीय प्रणालीमा

सोमबार, असार २५ २०८०
बैंकहरूमा अधिक तरलता, खराब कर्जा बढेपछि ऋण लगानीमा पर्ख र हेरको अवस्थामा बैंकर्स

काठमाडौं- बैंक तथा वित्तीय संस्थाको प्रणालीमा अधिक पैसा थुप्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष सकिन लाग्दा निक्षेप लगातार थुप्रिएको हो। वित्तीय प्रणालीमा एकैदिन २५ अर्ब निक्षेप थपिएको छ।  बैंकिङ प्रणालीमा अधिक रकम जम्मा हुन थालेपछि एक बैंकले अर्को बैंकलाई दिने कर्जाको अन्तरबैंक ब्याजदर २.४६ प्रतिशतमा झरेको छ।

गत वर्ष यो समयमा अन्तरबैंक ब्याजदर ८ प्रतिशतसम्म पुगेको थियो। निक्षेप–ऋण (सीडी) रेसियो थेग्न नसक्दा गत वर्ष बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका थिए। अहिले अधिक पैसा हुँदा पनि ऋणको माग भने देखिएको छैन। यता बैंकर्सहरू पनि मौद्रिक नीतिको प्रतिक्षमा रहेकोले ऋण लगानी भन्दा असुलीमा केन्द्रित भएका छन्। असार मसान्तसम्म झनै सरकारी भुक्तानी बढ्ने भएकोले अझै थप ५० अर्ब निक्षेप थपिने अनुमान गरिएको छ।

असार २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप बढेर ५६ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। जब कि बिहीबारसम्म ५६ खर्ब ३० अर्ब रहेको थियो। सरकारले गतवर्ष देखि नै निर्माण व्यवसायीलाई पैसा भुक्तानी गरेको थिएन। यो वर्ष तीन वर्षदेखि रोकिएको भुक्तानी जारी हुँदा निक्षेप थप बढेको हो। चालु आर्थिक वर्षको असार १ गते बैंकिङ प्रणालीको कुल निक्षेप ५५ खर्ब ६९ अर्ब रुपैयाँ रहेको थियो। उक्त निक्षेप बढेर ५६ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। असारयता नै ८६ अर्ब निक्षेप थपिएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने ४८ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ। वाणिज्य बैंकहरुको निक्षेप पनि यो अवधिमा २७ अर्ब रुपैयाँले बढेको छ। वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। बैंकहरुको औसत सीडी रेसियो ८२.८८ प्रतिशतमा झरेको छ।

नीतिगत व्यवस्थाअनुसार बैंकहरूले अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्नुपर्छ। यसअनुसार अहिले बैंकहरूले प्रणालीलाई सहज बनाउन ७.१२ प्रतिशतसम्म लगानी गर्न पाउने सहज अवस्थामा रहेका छन्। बैंकहरुसँग अहिले झन्डै ४ खर्ब ऋण लगानी गर्ने अवस्थामा रहेका छन्। 

व्यवसायीहरूले पनि अहिले बजारको माग कुरेको बसेकाले पनि कर्जा प्रवाह माग नबढेको अध्यक्ष केसी बताउँछन्। 'असारभित्रै अझै १ खर्ब निक्षेप थपिने आँकलन गरिएको छ। सरकारी खर्चसमेत बढ्ने तथा अन्य ऋण तथा असुलीसमेत हुने भएकोले निक्षेप अझै थपिने अनुमान छ’ केसीले भने। अहिले लगातार ऋणको ब्याजदर घटिरहेको छ। आउने साउनदेखि निक्षेपको ब्याजदर पनि घट्ने छ। सबै प्रकारका ब्याजदर घटिरहेको र अझै घट्दै जाने अध्यक्ष केसी बताउँछन्। 

तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको मात्रै खराब कर्जा औसत ३.२३ प्रतिशत, विकास बैंकहरूको औसत ३.४० र वित्त कम्पनीहरूको ८.१९ प्रतिशत पुगेको छ। एनपीएल बढ्ने अनुमानले बैंकर्सहरु कर्जा लगानीमा पर्ख र हेरको अवस्था बसेका छन्।

कुन बैंकको कति?

सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण पाइनेछ। बैंकको आधार दर ८.२४ प्रतिशत रहेको छ। अन्तर्राष्ट्रिय भुक्तानीका लागि नेपालमा एजेन्सी बैंकिङ गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंक भने दोस्रो स्थानमा रहेको छ। बैंकको आधारदर ९.२९ प्रतिशत रहेको छ। 

सबैभन्दा कम आधार दर हुनेको तेस्रो स्थानमा नेपाल बैंक छ। बैंकको आधार दर ९.५५ प्रतिशत रहेको छ। यस्तै, नबिल बैंकको आधार दर ९.६५ प्रतिशत छ। नबिलबाट ऋण लिँदा पनि अन्य बैंकहरूको तुलनामा सूस्तो ब्याज लाग्नेछ। यसको आधारमा बैंकबाट ऋण लिँदा अधिकतम १४.५ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) को आधार दर पनि ९.८४ प्रतिशत छ। 

एभरेष्ट बैंकको आधार दर १०.०६ प्रतिशत, सिद्धार्थ बैंकको १०.२१ प्रतिशत, कषि विकासको १०.२१, एनआईसी एसियाको १०.३५, प्रभुको १०.३६, ग्लोबल आइएमईको १०.३७ प्रतिशत रहेको छ।

यस्तै, एनएमबि बैंकको आधार दर १०.४५ प्रतिशत, सानिमा बैंकको १०.५२ प्रतिशत, प्राइमको १०.८४ प्रतिशत, नेपाल एसबिआईको १०.८५, कुमारीको १०.८८ प्रतिशत छ। यता, माछापुच्छ्रे बैंकको आधार दर १०.९२ प्रतिशत, हिमालयन बैंकको १०.९४, सिटिजनको १०.९५, लक्ष्मीको १०.९६ प्रतिशत र सनराइजको ११.१४ प्रतिशत रहेको छ। 


प्रकाशित : सोमबार, असार २५ २०८००१:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend