काठमाडौं- चरम आर्थिक मन्दीकैबीच काभ्रेको धुलिखेल र पोखरामा दुई वटा हाई एन्ड लक्जरी रिसोर्ट सञ्चालनमा आएका छन्। धुलिखेलमा ‘दुसित थानी हिमालयन रिसोर्ट’ र पोखराको पामेमा ‘दोर्जे रिसोर्ट’ सञ्चालनमा आएका हुन्।
यी रिसोर्टमा एक दिन बस्नका लागि न्यूनतम ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। तर, रिसोर्ट सञ्चालनको अवसर पारी भदौ मसान्तसम्मका लागि ‘इन्ट्रोडक्टरी प्राइस’ भनेर २० हजार रुपैयाँ तोकिएको छ।
असोजसँगै सुरु हुने शरद्कालीन सिजनमा कोठा र सेवाको मूल्य बढ्ने रिसोर्टका सञ्चालकहरुले बताएका छन्। खर्चालु पर्यटकलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो।
दुसित थानी रिसोर्टका नेपाली सञ्चालक रमेश हमाल र दोर्जे रिसोर्टका सञ्चालक दोर्जे तामाङ दुवै गैरआवासीय नेपाली हुन्।
धुलिखेलको रिसोर्टमा थाइल्यान्डको चर्चित हस्पिटालिटी ग्रुप दुसित थानी समूहको ८५ प्रतिशत र धितोपत्र बोर्डका अध्यक्षसमेत रहेका हमालको १५ प्रतिशत लगानी छ। यो काभ्रेकै पहिलो पाँचतारे रिसोर्ट पनि हुनेछ।
धुलिखेलमा ६३ रोपनी क्षेत्रफलमा फैलिएको दुसित थानी हिमालयन रिसोर्टमा साढे दुई अर्ब र ३१ रोपनी क्षेत्रफलमा बनेको दोर्जे रिसोर्टमा एक अर्ब लगानी भएको छ।
कोभिड महामारी र त्यसलगत्तै सिर्जित आर्थिक मन्दीले लगानीकर्ताहरुमा निरासै निरासा छाइरहेका बेला हमाल र तामाङले ठूलो लगानीका लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएर आशाको त्यान्द्रो बुन्ने काम गरेका छन्।
यस्तो छ दोर्जे रिसोर्ट
अढाई दशकदेखि पोखराको लेकसाइडमा ‘मुन डान्स रेष्टुरेन्ट’ सञ्चालन गरिरहेका दोर्जे तामाङले दुई हप्ताअघि मात्रै पामेको सेदीमा हाई एन्ड लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। रिसोर्ट सफ्ट ओपनिङ मात्रै गरेको उनको भनाई छ। उनी भन्छन्, ‘कोभिड महामारी सुरु भएपछि रिसोर्ट निर्माण सुरु गरेको थिएँ, मन्दीकै बिच रिसोर्ट सञ्चालनमा ल्याएको छु।’
३१ रोपनी क्षेत्रफलमा २३ वटा कोठाको रिसोर्ट तयार भएको छ। पुरानौ मौलिक कलालाई आधुनिक शैलीसँग फ्युजन गरिएको रिसोर्ट सिंगो गाउँजस्तै देखिन्छ। रिसोर्टमा १३ वटा भिल्ला बनाइएका छन्। ‘सातावटा भिल्लामा पाहुना राख्ने हो,’ दोर्जेले भने, ‘बाँकी ६ भवनमा कुनैमा स्पा, कुनैमा कन्फ्रेन्स हल, कुनैमा किचन-डाइनिङ त कुनैमा जीम हाउस बनाएका छौँ।’

विल्कुल फरक अवधारणमा बनाइएको हुनाले सुरुवातमै राम्रो रेस्पोन्स आइरहेको सञ्चालक दोर्जे बताउँछन्। उनी भन्छन्, ‘हाई एन्ड रिसोर्ट हो, खर्चालु पर्यटक नै हाम्रा पाहुना हुन्, तर अहिलेलाई न्यूनतम २० हजार रुपैयाँ तोकेका छौँ, यो प्याकेजमा बेड एन्ड ब्रेकफास्टको सुविधा छ। एक घण्टा हेप्पी आवर भनेर ड्रिङ्स क्याम्पियन पनि चलाउँछौँ।'
आगामी सिजनका लागि प्रतिकोठा मूल्य ५०० देखि ८०० अमेरिक डलरसम्म तोकिएको छ। ‘अझै प्याकेज बनिसकेको छैन्, प्याकेजमा के-के सुविधा दिने भनेर’, उनले भने, ‘सिजनमा मूल्य अझ बढ्न सक्छ, अफसिजनमा रेट केही तलमाथि हुन्छ।’
१९ डिलक्स र चारवटा स्वीट गरी कुल २३ कोठा छन्, जसमध्ये अहिले १८ वटामात्र सञ्चालनमा छन्। रिसोर्टमा स्वीमिङ पुल, ज्याकुजी, स्पा, जिमलगायत सुविधा रहेका छन्।
सबैभन्दा आकर्षक पक्ष, रिसोर्टका प्रत्येक कोठाबाट फेवातालको सुन्दर दृश्य देख्न पाइन्छ। ‘पोखरामा हनिमुन मनाउन आउने जोडीलाई लक्षित गरेर रिर्सोट निर्माण गरेका छौं,’ सञ्चालक दोर्जे भन्छन्, ‘स्तरीय पर्यकट ल्याउन स्तरीय रिर्सोट निर्माण भएको छ।’
रिसोर्टको आफ्नै फार्म हाउस रहेको र पाहुनालाई फार्ममै फलेको लोकल तरकारी तथा फलफुल खुवाउने उनको तयारी छ।
दुसित थानी : प्रतिकोठा ३ करोड लागत
गैरआवासीय नेपाल संघ थाइल्यान्डका पूर्वअध्यक्षसमेत रहेका हमालले थाईल्यान्डको चर्चित ब्रान्ड दुसित थानी भित्र्याएका हुन्। रिसोर्टमा लक्जरी भिल्लासहितका ८५ कोठा रहेका छन्।
यो रिसोर्ट पनि सिंगो गाउँजस्तै आकर्षक छ। रिसोर्टलाई सुविधा सम्पन्न बनाउन कुनै कसर बाँकी नराखेको हमालले बताए। रिसोर्टमा एउटा कोठा बनाउन औषतमा ३ करोड रुपैयाँ खर्च भएको छ। यो देशकै पहिलो पाँचतारे वेलनेस लक्जरी रिसोर्ट हुनेछ। उनले भने, ‘हामीले पर्यटन विभागमा पाँचतारा डिलक्स स्तरको वर्गीकरण लिन लागिरहेका छौँ।’
यस होटेलमा बस्नका लागि न्यूनतम ३ सय अमेरिकी डलरदेखि अधिकतम १५ सय डलर प्रतिदिन खर्च गर्नुपर्ने हुन्छ।
‘खर्चालु पर्यटकलाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘रिसोर्टको भौतिक संरचना भव्य छँदैछ, दुसित थानीको आथित्य सत्कार पनि उत्कृष्ट हुन्छ, हाम्रो सेवा सुविधा प्रिमियम मूल्यमा बिक्री गर्छौँ।’
रिसोर्टमा प्रेसिडेन्सियल स्वीट, सुपेरियर किङ, सुपेरियर ट्वीन, जुनियर स्वीट, एक्जुकेटिभ किङ, एक्जुकेटिभ ट्वीन, डिलक्स किङ र डिलक्स ट्वीन कोठा छन्। रिसोर्ट सञ्चालनमा आएको अवसर पारेर इन्ट्रोडक्टोरी प्राइस १४९ अमेरिकी डलरदेखि ११ सय ९८ अमेरिकी डलरसम्म राखिएको छ।
लक्जरी प्रेसिडेन्सियल स्वीट रुमको सबैभन्दा धेरै मूल्य छ। असोजदेखि प्रेसिडेन्सियल स्वीटको मूल्य १५ सय अमेरिकी डलर हुनेछ। प्रेसिडेन्सियल स्वीटमा चार जना बस्न मिल्छ, जहाँ एउटा किङ बेड रुम र दुई ट्वीन बेडरुम छन्।
सुपेरियर किङ, सुपेरियर ट्वीनको मूल्य १४९ डलर तोकिएको छ। जुनियर स्वीटको ३७८, एक्जुकेटिम किङ र ट्वीन एक्जुकेटिभ रुमको १६४, डिलक्स किङ र ट्वीन डिलक्स रुमको १५९ अमेरिकी डलर तोकिएको छ।
यो ‘बेड एन्ड ब्रेकफास्ट’ सहितको मूल्य हो। यदि कसैले ब्रेकफास्ट नखाए हरेक कोठाको मूल्यमा ११ डलर घट्ने छ। अफर प्राइस १७ जुलाईदेखि १७ सेप्टेम्बर २०२३ सम्ममात्र उपलब्ध हुनेछ। असोजदेखि रिसोर्टमा सबैभन्दा साधारण रुमकै ३०० सय डलर हुनेछ।