मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

असार अन्तिमदेखि लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार हुने

शुक्रबार, असार २२ २०८०
असार अन्तिमदेखि लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार हुने

काठमाडौं- लक्ष्मी बैंक र सनराइज बैंकको असार २८ देखि एकीकृत कारोबार हुने भएको छ। नेपाल राष्ट्र बैंकले लक्ष्मी र सनराइज बैंकलाई आपसमा गाभिएर एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ।

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वाणिज्य बैंकहरुलाई थप सुविधा दिने गरी निर्देशन जारी गरेको थियो। राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा सुविधा दिनेगरी परिपत्र गरेको हो।

सनराइजको तर्फबाट संचालक बन्ने भनेका मोतीलाल दुगड (हालका अध्यक्ष) नयाँ बनेको सञ्चालक समितिबाट हटाएपछि राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृत दिएको हो। राष्ट्र बैंकले दुगडले लक्ष्मी बैंकबाट करिब ३ अर्ब रुपैयाँ कर्जा लिएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार सञ्चालक बन्न नमिल्ने जनाएको थियो। सनराइजले उनको नाम हटाएर नयाँ नाम प्रस्ताव गरेसँगै अन्तिम स्वीकृत पाएको हो।

मर्जपछि लक्ष्मी बैंकको तर्फबाट ४ जना र सनराइजको तर्फबाट ३ जना रहनेछन्। लक्ष्मी बैंकको तर्फबाट रमण नेपाल (बैंकका हालका अध्यक्ष), डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत संचालक बन्ने भएका हुन्। यता, बच्छराज तातेड र मालचन्द दुगड संचालक रहनेछन्। यद्यपि, मर्जपछिको पहिलो साधारण सभासम्मका लागि उनीहरु संचालक रहनेछन ।

मर्जपश्चात् बन्ने नयाँ बैंकमा हालका लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयबहादुर शाह हुनेछन्। 

लक्ष्मी र सनराइज बैंक समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेका थिए। लक्ष्मी र सनराइज बैंक मर्जपछिको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ। यी दुवै बैंक एक आपसमा मर्जरमा जान गत पुस २५ गते प्रारम्भिक सम्झौता गरेका थिए।


प्रकाशित : शुक्रबार, असार २२ २०८००९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend