मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

घोराही सिमेन्टको आईपीओमा १० अर्ब ब्लक हुँदा लगानीकर्ता मारमा

मंगलबार, असार १९ २०८०
घोराही सिमेन्टको आईपीओमा १० अर्ब ब्लक हुँदा लगानीकर्ता मारमा

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको खातामै रकम रोक्का रहने गरी घोराहीको आईपीओ सम्बन्धमा छानबिन गरिरहेको छ।

काठमाडौं- घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको प्राथमिक सेयर (आईपीओ) को विवादले सर्वसाधारणको १० अर्ब रूपैयाँ अड्किएको छ। जसका कारण साना लगानीकर्ताले नयाँ आवेदन दिन नपाउने अवस्था समेत आएको छ।

घोराहीमा आवेदन दिएका लगानीकर्ताको ९ अर्ब ८३ करोड ८५ लाख ५५ हजार ९५० रूपैयाँ रोकिएको हो। नेपाल धितोपत्र बोर्डले असार ४ गते कम्पनीको आईपीओ निष्कासन प्रक्रिया स्थगित गरिदिएपछि लगानीकर्ताको उक्त रकम बन्धक बनेको छ।

घोराही सिमेन्टपछि पनि दुई हाइड्रोपावर कम्पनीले आईपीओ जारी गरिसकेका छन्। आईपीओ नपर्दा पनि आईपीओ भर्न छुट्याएको पैसा रोकिएपछि थप पैसा राख्नु परेको हो। घोराही सिमेन्टको आईपीओमा आवेदन गर्ने लगानीकर्ताको पैसा विगत दुई सातादेखि रोकिएको छ। असार ४ गतेदेखि नै आईपीओ निष्कासन स्थगित भएको भए पनि उक्त पैसा अहिलेसम्म लगानीकर्ताले चलाउन पाएका छैनन्।

आईपीओ जारी गर्दा नक्कली आवेदन परेको भन्दै छानबिन थालेर आईपीओ प्रक्रिया रोक्का गर्दा आवेदन दिएका लगानीकर्ता मारमा परेका छन्। बोर्डले ब्याजसहित पैसा फिर्ता आउने दाबी गरे पनि साना लगानीकर्ताले भने नयाँ आईपीओ नै भर्न नपाउने अवस्था आएको छ।

बोर्डले लगानीकर्ताको खातामै रकम रोक्का रहने गरी घोराहीको आईपीओ सम्बन्धमा छानबिन गरिरहेको छ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रोक्का गर्दासम्म ५ लाख ६२ हजार ४३ आवेदकबाट २ करोड २६ लाख १७ हजार ३७० कित्ता सेयर माग भएको छ। आफ्नो खातामा रकम नहुँदा नहुँदै लाखौँ कित्ताका लागि आवेदन दिने १२ जनाको आवेदन भने रद्द गरिएको छ। 

कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता ४३५ रूपैयाँ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। आईपीओ बिक्री अवधि असार ४ गतेभित्रै मागभन्दा ३ गुणा बढी आवेदन परिसकेको अवस्थामा कम्पनीले बिक्री अवधि थप गरी असार १४ गतेसम्म कायम गरेको थियो। बोर्डले छानबिन गर्दा नक्कली आवेदन परेको तथ्य पत्ता लागेको थियो।


प्रकाशित : मंगलबार, असार १९ २०८००६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend