शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

५६ करोड लागतमा दुग्ध उत्पादन र पशुपालनसम्बन्धी ६९ आयोजना सम्पन्न

images
images
images
५६ करोड लागतमा दुग्ध उत्पादन र पशुपालनसम्बन्धी ६९ आयोजना सम्पन्न
images
images
बागमती- नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजनाअन्तर्गत हेटौँडा कार्यालयबाट सात जिल्लामा ६९ आयोजना सम्पन्न भएका छन्।  
 
कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजनाबाट कार्यक्रम सञ्चालनका लागि हेटौँडामा विकेन्द्रीकृत सहयोग इकाइ स्थापना गरिएको छ। यसअन्तर्गत सप्तरी, धनुषा, सिराहा, काभ्रेपलाञ्चोक, काठमाडौं, मकवानपुर र चितवनमा कार्यक्रम सञ्चालन गरिएको छ।
 
सात जिल्लामा कुल ५६ करोड रूपैयाँको लागतमा दुग्ध उत्पादन, विविधिकरण तथा पशुपालन क्षेत्रको विकास, संरक्षण तथा पूर्वाधार निर्माणमा ६९ उप-आयोजना सम्पन्न भएको कार्यालयको भनाइ छ। 
 
विश्व बैंकको सहुलियतपूर्ण ऋणअन्तर्गत सञ्चालित कार्यक्रम आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरिएको थियो। यसमा एक सय १८ वटा उप-आयोजना सञ्चालनको लक्ष्य लिइएको थियो।
 
सम्पन्न भएका आयोजनाहरुमा ४६ करोड रूपैयाँ भुक्तानी भइसकेको छ भने १० करोड रूपैयाँ भुक्तानीको प्रक्रियामा रहेको उनको भनाइ छ। आयोजना स्थापनाको सुरुमा सहकारी सस्थासँग मात्र सम्झौता गर्ने भनिए पनि पछिल्लो समय निजी तथा व्यावसायिक फार्मले पनि आयोजना सञ्चालनका लागि आवेदन दिएपछि ३९ वटा उप-आयोजना थप गरिएको हो। 
 
हाल ६९ सहकारी र ३९ निजी व्यावसायिक फार्म गरी एक सय आठ वटा उप-आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ। जसमध्ये दुग्ध उत्पादन, प्रशोधन, दुग्ध विविधीकरणको उपकरण निर्माण, दुग्ध भवन निर्माण, पशुपालन, गोठ सुधार तथा भवन निर्माण, खसी तथा बाख्रापालन  र त्यसको पूर्वाधार निर्माण, खसी बोका खरिद बजार भवन निर्माण गरिएको छ। साथै पशु स्वास्थ्य उपचार शाखा भवन निर्माणलगायत अनुगमन निरीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन, घाँस उत्पादन, कृषि सहकारी संस्थाको पहिचान, अनुदान वितरण, प्रोत्साहन, तालिम र बजारीकरण लगायतका कार्यक्रमसमेत गरिएको कार्यालयको भनाइ छ।
 
इकाइ कार्यालय हेटौँडाको सहयोग तथा लगानीमा रहेका ६९ वटा उप-आयोजनामध्ये १४ वटा सहकारी संस्था अहिले उद्योगमा परिणत भइसकेका छन्। यसरी उद्योगमा परिणत हुने सहकारी संस्थामा मनकामना दुग्ध उत्पादक सहकारी संस्था मकवानपुर, वेथान चोक दुग्ध उत्पादक सहकारी संस्था काभ्रे छन्।
 
साथै देवनगर दुग्ध उत्पादक सहकारी संस्था भरतपुर, गौरीगञ्ज दुग्ध उत्पादक सहकरी संस्था भरतपुर, गौरीधारा दुग्ध उत्पादक सहकारी संस्था चितवन, पिव्वा दुग्ध सहकरी संस्था चितवन, कालिका कृषि सहकारी संस्था जनकपुर, साई कृषि सहकारी संस्था रुपनी सप्तरी, रामनगर साना किसान कृषि सहकारी संस्था लहान, नमूना महिला बहुउद्देश्यीय सहकारी संस्था दक्षिणकाली, वाला सुन्दरी साना किसान कृषि सहकारी संस्था भगवानपुर सिरहा, जनचेतना अभियान कृषि सहकारी संस्था धनुषा तथा पञ्चामृत बहुउद्देश्यीय सहकारी संस्था चितवन रहेको कार्यालयको भनाइ छ।
 
सहकारी संस्था उद्योगमा परिणत भएपछि कारोबारसमेत बढेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालक अर्जुन दाहालले बताए। आयोजनाको सहयोगमा आफ्नो सहकारीले चार सयभन्दा बढी किसानसँग दूध खरिद गरी दूध, दही, घिउ, पनिर, छुर्पीलगायतका सामग्री उत्पादन गरी बिक्री वितरणसमेत सुरु गरेको उनले बताए।
 
पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाको  ललितपुरमा  मुख्य कार्यालय छ भने बुटवल, पोखरा, हेटौँडा, विराटनगरमा आयोजना इकाइ छन्। चारवटा इकाई कार्यालयअन्तर्गत २८ जिल्लामा पाँच सय ५५ वटा उप-आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्रालयका कृषि अर्थविद् सुशील खड्काको भनाइ छ। आयोजना अन्तर्गतका बाँकी काम यही असारभित्र सम्पन्न गरिसक्नुपर्नेछ। रासस

images

प्रकाशित : आइतबार, असार १७ २०८०११:४१

प्रतिक्रिया दिनुहोस