आइतबार, भदौ २३ गते २०८१    
images
images

गण्डकीमा असार १५ सम्ममा १८ प्रतिशतमात्र भयो रोपाइँ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १५ २०८०
images
images
गण्डकीमा असार १५ सम्ममा १८ प्रतिशतमात्र भयो रोपाइँ

लमजुङमा २७, तनहुँमा २०, बागलुङमा २०, पर्वतमा १४, गोरखामा १२, स्याङ्जामा १२ र म्याग्दीमा १२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ।

images
images

गण्डकी- असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ। प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ भएको हो। हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ।

images
images
images

असार १५ सम्ममा सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिइन्। उनका अनुसार लमजुङमा २७, तनहुँमा २०, बागलुङमा २०, पर्वतमा १४, गोरखामा १२, स्याङ्जामा १२ र म्याग्दीमा १२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ।

प्रदेशको कुल चार लाख ७९ हजार छ सय १७ खेतीयोग्य जमिनमध्ये यस वर्ष ९७ हजार आठ सय ९१ हेक्टरमा वर्षे धान लगाइने अनुमान निर्देशनालयको छ। गत वर्ष एक लाख चार हजार छ सय २३ हेक्टरमा वर्षे धान खेती गरिएको थियो।

निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले धान खेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएका बताए। उनका अनुसार गोरखाको छेवेटार, पालुङटार, आरुघोटा सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाडीखोला, पामे, लेखनाथ, पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत क्षेत्र धानका प्रमुख पकेट क्षेत्र हुन्।

images

गण्डकी प्रदेशका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन्। केही दिनयता मनसुन सक्रिय भएसँगै किसान रोपाइँको चटारोमा रहेका भन्दै अधिकांश क्षेत्रको रोपाइँ असारभित्रै सकिने प्रमुख रेग्मीले बताए।

उनका अनुसार बाह्रैमास सिँचाइ सुविधा भएका, खोला आसपासका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो सुरु हुन्छ। 'अहिले दैनिकजसो वर्षात् भइरहेकाले अब रोपाइँ सहज हुन्छ, बिउ लाउने बेला भने मौसम सुख्खा भएपछि किसानलाई केही मर्का पर्‍यो', निर्देशनालयका प्रमुख रेग्मीले भने।

निर्देशनालयको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको देखिन्छ। ‘प्लटिङ’, तीव्र बजारीकरण, ठूल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चँदै गएको उनको भनाइ थियो। जग्गा बाँझिनेक्रम पनि बढ्दै गएको निर्देशनालयका प्र्रमुख रेग्मीले बताए। धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने गरेको उनले बताए।

समयमा नै मल, बीउ नपाउँदा धान खेतीमा असर परिरहेको किसान बताउँछन्। धानमा फूल खेल्ने समयमा वर्षात् हुँदा उत्पादनमा क्षति पुग्ने गरेको छ। रोग, किरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सँधै चुनौती व्यहोर्दै आएका छन्। गण्डकी प्रदेशमा समग्र धान (बर्खे र चैते) उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ७४ प्रतिशतले कमी आएको थियो।

गत वर्ष चार लाख छ हजार तीन सय ३६ मेट्रिकटन धान फलेकामा चालु आवको उत्पादन जम्मा तीन लाख ९१ हजार एक सय २१ मेट्रिकटन छ। अघिल्लो वर्ष एक लाख १२ हजार दुई सय २७ हेक्टरमा धान लगाइएकामा यस वर्ष क्षेत्रफल घटेर जम्मा एक लाख छ हजार तीन सय ८० हेक्टर धानखेतीले ओगटेको निर्देशनालयका कृषि प्रसार अधिकृत तिमिल्सिनाले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, असार १५ २०८०१२:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend