मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

अर्थतन्त्र चलायमान नभएपछि बैंकहरूमा निक्षेप थुप्रिँदासमेत ऋण प्रवाह ठप्प

असारमा अझै एक खर्ब निक्षेप थपिने अनुमान

बिहीबार , असार १४ २०८०
अर्थतन्त्र चलायमान नभएपछि बैंकहरूमा निक्षेप थुप्रिँदासमेत ऋण प्रवाह ठप्प

काठमाडौं- पछिल्लो समय बैंकिङ प्रणालीमा पैसा थपिने क्रमजारी छ। मंगलबार मात्रै वाणिज्य बैंकहरूको निक्षेप ७ अर्ब रुपैयाँले बढेको थियो। गत असार १० गतेसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ४९ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा असार ११ गतेसम्म ४९ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। समग्र वित्तीय प्रणालीमा ५५ खर्ब ८३ अर्ब पुगेको छ। 

लामो समयदेखि रोखिएको कर्जा लगानी मंगलबार भने एकै दिन ६ अर्ब रुपैयाँले बढेको छ। गत असार १० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ५७ अर्ब रुपैयाँ रहेकोमा असार ११ गतेसम्म बढेर ४८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।

असार ११ गते बैंकहरूको औसत सीडी रेसियो सामान्य घटेर ८३.९२ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८३.९४ प्रतिशत थियो।

अन्तरबैंक ब्याजदर फेरि ५ प्रतिशतभन्दा माथि उक्लिएको छ। गत असार ८ गतेमा २.६५ प्रतिशतमा झरेको अन्तरबैंक ब्याजदर फेरि बढेर असार ११ गते ५.११ प्रतिशतमा उक्लिएको छ। जब कि अघिल्लो दिन असार १० गतेसम्म अन्तरबैंक ब्याजदर ३.९५ प्रतिशत थियो।

जेठ मसान्तसम्म करिब १३० अर्ब रुपैयाँ कर्जा परिचालन भएको छ। यो कर्जा वृद्धि ४ प्रतिशत मात्रै हो। जब कि नेपाल राष्ट्र बैंकले १२ प्रतिशतको कर्जा वृद्धिको लक्ष्य निर्धारण गरिदिएको थियो। दिइएको सीमाको तुलनामा आधाभन्दा कम अर्थात करिब ४ प्रतिशतले मात्रै कर्जा वृद्धि हुँदा बैंकिङ प्रणालीमा ३ खर्ब ५० अर्ब रुपैयाँ लगानीयोग्य पैसा थुप्रिएको छ।  

‘अहिले पैसा फालाफल नै भन्ने अवस्था त होइन तर व्यवसायी र बैंकर दुवै पर्ख र हेरको अवस्थामा रहेको हो,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने। साउनदेखि ब्याजदर पनि अझै तल आउने भएपनि कर्जा प्रवाह नभएको केसी बताउँछन्। व्यवसायीहरूले पनि अहिले बजारको माग कुरेको बसेकाले पनि कर्जा प्रवाह माग नबढेको अध्यक्ष केसी बताउँछन्। असारभित्रै अझै १ खर्ब निक्षेप थपिने आंकलन गरिएको छ। सरकारी खर्च समेत बढ्ने तथा अन्य ऋण तथा असुली समेत हुने भएकोले निक्षेप अझै थपिने अनुमान छ,’ केसीले भने।

बैंकहरूले नेपाल राष्ट्र बैंकमार्फत सरकारलाई यही सोमबार असार ४ गते वार्षिक ६.९३ प्रतिशतको ब्याजमा ६ वर्षका लागि १० अर्ब कर्जा दिएका छन्। जुन २०७८ भाद्र ११ पछिकै सबैभन्दा न्यून ब्याज हो। बैंकहरूले सरकारलाई नै ७ प्रतिशतको ब्याजमा कर्जा परिचालन गर्दा निजी क्षेत्रले कर्जाको माग नआउनुले आर्थिक मन्दीको संकेत हुन सक्ने अड्कल समेत भइरहेका छन्। तर बैंकहरूलेनै अहिले नयाँ ऋण जारी गर्ने भन्दा पनि पुरानो उठाउनेमा केन्द्रित भएकोले साउनपछि मात्रै प्रवाह हुने बताउँदै आएका छन्। 

चालूपुँजी कर्जा मार्गदर्शनका कारण पनि ऋण माग नभएको व्यावसायीले बताउँदै आएका छन्। ‘हामीले यो कम्तीमा आउने पुस मसान्तसम्म स्थगन गर्न भनेको तर गरिएको छैन,’ नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भने। अहिले धेरै सटरहरू बन्द भइरहेको तथा अर्थतन्त्र चलयमान नहुँदा ऋण माग नबढेको श्रेष्ठ बताउँछन्। कर्जा लिएकाले त्यसको सेटलमेन्ट गर्नुपर्ने र नयाँ लिनलाई पनि पूर्ण रुपमा नयाँ मापदण्ड भएकोले समस्या आएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाई छ। 


प्रकाशित : बिहीबार , असार १४ २०८०११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend