मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बैंकिङ प्रणालीमा पैसा थुप्रिँदा अन्तरबैंक ब्याजदर साढे २ प्रतिशत झर्‍यो

मंगलबार, असार १२ २०८०
बैंकिङ प्रणालीमा पैसा थुप्रिँदा अन्तरबैंक ब्याजदर साढे २ प्रतिशत झर्‍यो

काठमाडौं- बैशाखयता बैंक तथा वित्तीय संस्थामा १ खर्ब निक्षेप थपिएको छ। बैशाख २ गतेसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ५४ खर्ब ७३ अर्ब रहेकोमा असार ११ गते ५५ खर्ब ७० अर्ब पुगेको हो। ऋण प्रवाह नहुँदा साढे ३ खर्ब तरलता थुप्रिएको छ। ऋणको माग नै कम भएपछि अहिले प्रणालीमा पैसा थुप्रिएको हो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार ११ गते कुल निक्षेप ५५ खर्ब ७३ अर्ब रहेको छ। समीक्षा अवधिमा कर्जा प्रवाह ७ अर्बले बढेर ४८ खर्ब ५० अर्बबाट ४८ खर्ब ५७ अर्ब रुपैयाँ भएको छ।

बैंक तथा वित्तीय संस्थामा ब्याजदर उच्च भएपछि कर्जा प्रवाह सुस्ताएको थियो। कतिपय संस्था कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) को सीमानजिक पुगेपछि ऋण दिनै नसक्ने अवस्थामा थिए।

दुई महिनको बीचमा कर्जा-निक्षेप (सीडी) अनुपात पनि ८५.२ प्रतिशतबाट ८४.०१ प्रतिशतमा झरेको छ। अहिले वित्तीय प्रणालीमा ३ खर्ब ३५ अर्बभन्दा बढी अधिक तरलता (लगानीयोग्य रकम) छ। तरलतायोग्य रकम बढ्दै जाँदा अन्तर बैंक ब्याजदर पनि बैशाख २ गतेको ७ प्रतिशतबाट झरेर असार ११ गते २.६५ प्रतिशतमा आइपुगेको छ।

तरलता सहज भएसँगै सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ट्रेजरी बिल, नागरिक बचतपत्र, विकास ऋण पत्रलगायतका सबै उपकरणको ब्याजदर घटेको हो। गत वर्ष १३.९९ प्रतिशत ब्याज दिएर आन्तरिक ऋण लिएको सरकारले अहिले ३.५७ प्रतिशत ब्याजदरमा २८ दिनको ट्रेजरी बिल बिक्री गर्दै ऋण उठाएको छ।

अधिक तरलता भएपछि बैंक वित्तीय संस्थाले असारदेखि कर्जाको ब्याजदर घटाएका छन्। आधार दर घटेसँगै वाणिज्य बैंकले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका हुन्। राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो। असारमा ०.२ विन्दुले घटेर १२.४५ प्रतिशतमा झरेको छ।


प्रकाशित : मंगलबार, असार १२ २०८००५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend