काठमाडौं- भाडाका साँघुरा कोठामा छरपस्ट छ्वाली। कापी, कलम, कैँची, चक्कु, गम सब लथालिंग...।
यी दृश्यले अञ्जुदेवीलाई 'भाउन्न' हुन्थ्यो। छाेराकाे पढाई बिग्रिने सुर्ताले चार्लीका पिता पनि चिन्तित थिए।
आईटी पढिरहेको छोरो अचानक छ्वालीतिर भुलेको देख्दा उनले ठानिसकेकी थिइन् - 'यो बिग्रियो।'
आफू गृहणी जीवनमा कपडा बुन्दै गर्दा छोराको 'भोलि'का लागि के-के मात्रै सपना बुनेकी थिइनन् उनले? ती सबै सपना छ्वालीका छेस्कातिरै अल्झिने भए भन्ने भयले बेचैन हुन्थिन्। छोरा लागिरहेको काम उपलब्धिमूलक होइन भन्ने लाग्थ्यो उनलाई।
फाल्तु काममा समय बर्बाद गर्यो भनेर चिन्तित हुन्थिन्। बेलाबेला कड्किन्थिन्। गाली गर्थिन्, कराउँथिन्, सम्झाउँथिन् कति।
अहँ छुटेन चार्ली (राेशन बानियाँ) को छ्वाली मोह।
‘छ्वाली आर्ट’ मा चार्ली यति डुबिसकेका थिए कि उनलाई त्यसबाट निकाल्नु कसैको बसमै थिएन। सम्झाइ-बुझाइले प्रभाव पर्ने छाँट नदेखिएपछि अञ्जु चुप रहन थालिन्। चार्लीले पनि आफ्नो लय, सुर, ताल पकडिरहे। छाडेनन्।
मात्र खाली समय कटाउन ‘छ्वाली आर्ट’ थालेका चार्ली अहिले व्यावसायिक आर्टिस्ट बनिसककेका छन्। त्यही निरन्तरको 'कला साधना' ले आज उनको काम, दाम र नाम सबै बढाइरहेको छ।
‘आईटीबाट आर्टतिर लाग्दा अलिकति कठिन भयो परिवारलाई बुझाउन। उता आईटीमा लगानी गइसक्यो, अर्केतिर बरालिँदा चिन्ता त हुन्छ नै उहाँहरूलाई’, चार्ली भन्छन्, 'छोराको भविष्य बिग्रने भयो भन्ने चिन्ताले ममीले पहिले गाली गर्नुहुन्थ्यो। अहिले भने उहाँले नै मलाई सघाउनुहुन्छ। एकदमै खुसी हुनुहुन्छ उहाँहरू। राम्राे साथ सहयोग पाएको छु।'
छ्वाली आर्टमा घोत्लिँदै गर्दा चार्लीले सोचेकै थिएनन् आज यसैको टेकोले उनी बलियो गरी उभिन सक्लान्। यसैले उनलाई सफलताको स्वाद चखाउला, विभिन्न व्यक्तित्वहरूसँग भेट गराउला। मान-सम्मान मिल्ला। सफलताले पछ्याउला।
प्लस टुमा व्यवस्थापन पढेका चार्ली आईटीतिर भविष्य राम्रो हुने सोचेर त्यसतर्फ मोडिएका थिए। बिहानको कक्षा थियो, दिउँसोको समय खाली हुन्थे। त्याे समय उनले एक स्कूलमा पनि काम गरिरहेका थिए। एकदिन साथीका घर गएका बेला उनले पहिलोपटक छ्वालीको आर्ट देखे। स्कूले जीवनदेखि नै सुन्दर चित्र कोर्न सिपालु चार्लीलाई त्यस्तै (छ्वाली) आर्ट गर्ने हुटहुटी भयो।
युट्युब, गुगलतिर खोजे, सिक्दै गए। छ/सात महिना अभ्यास गरे। कसैका खेततिर छरिएका छ्वाली बटुलेर ल्याउनु, त्यसलाई पखाल्नु, काट्नु अनि कापी-कलम अगाडि राखेर स्केच कोर्नु अनि तीनै आकार मिलाएर काटेका छ्वाली गमले टाँस्नु उनको दैनिकी जस्तै बनिसकेको थियो। कति पटक छ्वाली काट्दा हात काटे गनिसाध्य थिएन। उनले हार मानेनन्।
त्यो समय निरन्तर आर्टमा घोत्लिरहँदा व्यावसायिक रुपमै यता लागिएला भन्ने उनले कहिल्यै सोचेकै थिएनन्। उनलाई त केवल खेर गइरहेको खाली समयको सदुपयोग गर्नु थियो। गणेशको चित्रबाट सुरु भएको आर्टको सिकाइ यात्रामा उनले चरा, 'ह्याकर मास्क' लगायत बनाइसकेपछि मान्छेको आकृति बनाउन प्रयास गर्ने निधो गरे। त्यतिबेला श्रृंखला खतिवडा (मिस नेपाल २०१८) को निकै चर्चा थियो। चार्लीले पनि आर्टका लागि उनैलाई रोजे।
श्रृंखलाको 'छ्वाली आर्ट' बनाएर सामाजिक सञ्जालमा राखेलगत्तै 'भाइरल' भयो। एकाएक चार्लीको चर्चा चुलियो। घर, परिवार, आफन्त, छरछिमेक, साथीभाइ सबैबाट प्रशंसा पाए। धमाधम कामहरू आउन थाल्यो।
बल्ल लाग्यो उनलाई - 'आर्टमा पनि भविष्य राम्रो रहेछ। अब फूल टाइम यसैमा लाग्छु।'
‘श्रृंखला खतिवडाको आर्ट बनाएपछि भने आर्ट पनि बेच्न सक्छु भन्ने आत्मविश्वास बढ्यो। हिजोको निरन्तरताले नै आज यो सफलता पाएको हुँ। भगवानले मेरो लगाव, मेहनत, प्रयास हेर्नुभयो, बुझ्नुभयो भन्ने लाग्छ', उनले भने।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको 'छ्वाली आर्ट' ले उनको आर्ट करियरमा थप मलजल मिल्यो। 'रूटिन अफ नेपाल बन्द' पेजमा उनले ओलीलाई आर्ट दिँदै गर्दाको तस्बिर छापिएपछि उनको कामको चर्चा विदेशतिर पनि फैलियो। विभिन्न देशबाट आर्टको अर्डर आउन थाल्यो। भारतमा रहेका आफन्तले समेत फोन गरेर बधाई दिन थाले।
आमा अञ्जुलाई पनि महसुस भयो - आर्टमा भुलेर छोराले 'भूल' गरेको होइन रहेछ। अब भने उनले पनि सघाउन थालिन्।
सिक्दाताका कसैको हौसला नमिले पनि अहिले भने चार्लीले सबैको साथ सहयोग पाएका छन्। 'छ्वाली आर्ट' बाट उनले मासिक ७०/८० हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। दर्जन बढी देशहरूमा उनले आफ्नो आर्ट बेचिसके।
‘कुनै दिन आफैले बनाएको आर्ट बेचेर कला क्षेत्रमा स्थापित होउँला, कलाकारको परिचय पाउँला भनेर कहिल्यै सोचेको पनि थिइनँ। अहिले यसैमा फुलटाइम लागिरहेको छु। ११/१२ वटा देशहरूबाट काम आइरहेको छ', चार्ली भन्छन्, 'निरन्तर खटिने हो भने मासिक ७०/८० हजार रूपैयाँसम्म आम्दानी हुन्छ।'
एउटा ए फोर साइजको छ्वाली आर्टको ३/४ हजार रूपैयाँसम्म मूल्य पर्ने उनी बताउँछन्। उनका अनुसार यो साइजको आर्ट बनाउन दुई/तीन दिनको समय लाग्छ। ठूलो साइजको बनाउन भने १०/१५ दिन नै लाग्ने उनको भनाइ छ।
'आर्टको साइजअनुसार मूल्य पर्छ। यसमा धेरै मेहनत र समय लाग्छ। निरन्तर खटिने हो भने छिट्टै पनि तयार हुन्छ। तर एकोहोरो ध्यान केन्द्रित गरिरहन गाह्रो हुन्छ, त्यसैले ब्रेक लिइरहन्छु', चार्ली भन्छन्, 'फ्रेस माइन्डले बनाउँदा राम्रो पनि बन्छ।'
आर्टको समयमा ध्यान केन्द्रित हुन सकेन भने उनी डुल्न निस्किन्छन्। फुर्तिलो महसुस हुन्छ अनि आर्टमै फर्कन्छन्।
०००
करिब ५/६ वर्षदेखि छ्वाली आर्टमा लागेका चार्लीले यो बीचमा धेरै नैराश्य झेले। न कुनै आर्ट बिक्थे न त प्रचार नै हुन्थ्यो।
सुरूवाती समयमा दर्जनजति आर्ट बेचे तर पैसा उठाउनै सकस भयो।
यसैबीच उनी परिवारसँगै भारत गए। परिवारको सुझावबमोजिम उतै काम गरेर बस्ने मनस्थितिमा पुगे। आर्टमा पोख्त भएका कारण उनलाई त्यहाँ एक आफन्तको सुन पसलमा काम गर्ने अवसर आयो। तलब राम्रै थियो, केही समयपछि पैसा बढाउने सर्तमा उनले काम पनि थाले। पैसा आए पनि मन खुसी रहनै सकेन।
'कसैको कामदार भएर बाँच्नुभन्दा आफै मालिक भएर बाँच्नु बेस्' भन्ने सोचेर जागिर छाडेर उनी नेपाल नै फर्किए।
एउटा स्कूलमा पुन: काम थाले। सँगसँगै छ्वाली आर्ट पनि जारी राखे। भारतबाट फर्किएकाे केही समयपछि काेराना महामारीका कारण लकडाउन सुरू भयाे नेपालमा। गरिरहेकाे स्कूलकाे काम पनि छुट्याे। त्यतिबेला उनले राम्रोसँग बुझिसकेका थिए - अर्काको कामको भर हुन्न। आफ्नै केही गर्नुपर्छ। आर्टमा अझ मेहनत गरे, प्रचारप्रसारमा पनि जोड दिए।
'अरुको नोकरी ठीक होइन भन्ने त लकडाउनमै रोजगारी गुम्दा मनमा परिसकेको थियो। तर आर्टमा स्थापित हुन नसक्दा दुविधामा थिएँ। त्यसकारण काम सुरु गरेँ तर खुसी हुनै सकिनँ', उनले भने, 'लकडाउन खुलेलगत्तै सुख, दु:ख जे पर्छ आर्टमै गुजार्ने उद्देश्य लिएर नेपाल नै फर्किएँ र आर्टलाई नै निरन्तरता दिएँ।'
आर्ट बनाउन थालेको सुरूसुरूमा उनले 'रुटिन आफ नेपाल बन्द' लाई कयौँ पटक तस्बिरहरू पठाउँथे। तर छापिँदैन थियो। आफ्नो कला कसैले नचिनेकोमा उनलाई भित्रभित्रै खिन्नता हुन्थ्यो। 'फ्रस्टेड' थिए उनी कलामा साेचेजस्ताे अवसर नपाउँदा।
नेपाल फर्किएको केही समयपछि भने बिस्तारै बिस्तारै उनको आर्ट व्यवसायले पंख फिँजाउन थाल्यो। विभिन्न मिडियामा अन्तर्वार्ताहरू आउन थाले, चर्चा र काम दुवै बढ्यो। लकडाउनका बेला अरूकाे व्यवसाय शिथिल हुँदा चार्लीकाे भने व्यवसायले उडान भरिरहेकाे थियाे। 'आफूले बनाएका आर्टहरू सामाजिक सञ्जालमा राख्न थालेँ। पछि रुटिन अफ नेपाल बन्दमा पनि एक/दुई वटा आर्ट छापिएपछि लाग्यो - हरेक कुराका लागि समय आउनुपर्ने रहेछ। निरन्तर आफ्नो लयमा हिँड्नुपर्ने रहेछ, सफलता एकदिन मिल्ने नै रहेछ', उनले भने।
प्रचारप्रसारको कमीका कारण पनि छ्वाली आर्टबारे धेरैलाई जानकारी नभएको उनी बताउँछन्। 'यो आर्टबारे जति बुझाउन सक्यो त्यति नै नाम, दाम र काम आउने हो। प्रचारप्रसार हुन नसक्दा पनि ओझेलमा छ छ्वाली आर्ट', उनी भन्छन्, 'आर्टिस्ट पनि कम नै देखिन्छन्। काम आएन भने आर्टिस्टहरूले निरन्तरता दिन सक्दैनन्। स्केच त सामान्य नै भइहाल्यो, धेरैले बनाउने हुँदा यसमा काम कम आउन सक्छ। तर छ्वालीमा आर्टिस्ट कम छन्। यो आर्टबारे जति बुझाउन सक्यो उति राम्रो हुन्छ।'
आर्टमा आम्दानी राम्रो भए पनि प्रचारप्रसार हुन नसक्दा पर्याप्त आम्दानी लिन कसैले नसकेको उनलाई लाग्छ।
'मेरो पहिलो आर्ट बिक्नै करिब ७ महिना लाग्यो, जुन ७ सय ५० रूपैयाँमा बिक्री भएको थियो। यो भनेको धेरै लामो समय हो। पैसा आएन भने एक महिनामै छाडौँछाडौँ लाग्ने मनस्थिति बनिसक्छ। सबैभन्दा ठूलो अहिले प्रचारप्रसार नै हो। कुनै नयाँ काम गर्दा सबैले सबैलाई सपोर्ट गर्नुपर्छ भन्ने लाग्छ', उनले भने, 'आर्टिस्टको आम्दानी राम्रो छ, धेरैले राम्रो आम्दानी गरिरहनु भएको छ। अवसर पाइएन भनेर गुनासो गरेर बस्नेभन्दा पनि अवसर सिर्जना गर्नु राम्रो हुन्छ। मैले पनि ६/७ महिना अभ्यास गरेर छाडिदिएको भए सायद अहिले म यहाँ हुने थिइनँ। अहिले अर्डर दिनेहरूले नै प्रचार गरिदिनुहुन्छ। रिकमेन्ड गरिदिनुहुन्छ।’
निरन्तरता दिन, गर्न सके आर्टले धेरै कुरा दिने उनको अनुभव छ। 'मैले आर्टमा लागेर नाम, दाम सबै पाएको छु। जहाँ जाँदा पनि सम्मान गर्नुहुन्छ। फेसबुकमा रिप्लाइ मात्रै दिँदा पनि उहाँहरू कति खुसी हुनुहुन्छ। आर्टकै कारण मैले वरिष्ठ मान्छेहरूलाई भेट्न पाएको छु। पूर्वप्रधानमन्त्री केपी ओलीलाई भेट्न पाएँ', उनले अनुभव सुनाए, 'सत्यमोहन जोशीलाई पनि भेट्ने अवसर पाएँ, जबकि उहाँको स्वास्थ्यका कारण त्यतिबेला जोकोहीले भेट्नै पाउँदैन थिए। यो अवसर मलाई यही आर्टले नै जुराइदिएको हो। अरु काम गरिरहेको भए उहाँहरूलाई भेट्न सायद पाउने थिइनँ होला।'
चार्लीका परिवार भारतीय हुन्। कामको शिलशिलामा उनको परिवार नेपाल आएको करिब चार दशक बित्यो। नेपालमै जन्मे/हुर्किएका चार्लीको शिक्षादीक्षा पनि यतै भयो। अब कर्मभूमि पनि नेपाललाई नै बनाउने उनले निधो गरेका छन्। भक्तपुरको सूर्यविनायकमा परिवारसहित बस्दै आएका उनले अहिले भक्तपुरमै आफ्नो आर्ट स्टुडियो समेत बनाएका छन्।