शुक्रबार, असोज ४ गते २०८१    
images
images

चीन-नेपाल ‘ड्रागन बोट रेस’ ले पर्यटन व्यवसायीमा जगाएको आशा

images
शुक्रबार, असार ८ २०८०
images
images
चीन-नेपाल ‘ड्रागन बोट रेस’ ले पर्यटन व्यवसायीमा जगाएको आशा

‘नाइट लाइफ’ बिताउनेका लागि लेकसाइड हरबखत तम्तयार देखिन्छ, विभिन्न जातजातिका सांस्कृतिक समूहले आ-आफ्नै प्रस्तुतिसँगै दर्शकलाई झुमाइनै रहन्छन्।

images
images

पोखरा- सन् १९९७ सम्म पोखरामा पर्यटक लक्षित कुनै कार्यक्रम वा त्यस्ता ‘इभेन्ट’ हुँदैनथ्यो, लगानीको जोखिमले कुनै योजना सोच्न सक्दैनथे यहाँका पर्यटन व्यवसायी।

images
images
images

अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस मनाउनकै लागि नेपालमा रहेका पर्यटक पनि भारतको गोवा, थाइल्यान्ड पुग्थे भने कोही आफ्नै मुलुक फिर्थे। त्यतिबेला आन्तरिक पर्यटकलाई ‘गन्ने’ परम्परा थिएन। पर्यटनको जग बसाउँदै गरेका केही पोखरेली पर्यटन व्यवसायी सोच्दै थिए, पर्यटकलाई पोखरामा कुन माध्यमबाट भुलाउन सकिन्छ भनेर।

डिसेम्बरमा पर्यटकको आगमन शून्य प्रायः बाट उकास्न पनि पहिलोपटक सन् १९९८ मा योजनाको रूपमा आयो ‘लेकसाइड सडक महोत्सव’। पहिलो संस्करणले केही आशा जगायो। त्यसयता ‘पोखरा सडक महोत्सव’ नाम जुराइयो। अहिले त्यही महोत्सव लोकप्रिय हुँदै ‘स्ट्रिट फेस्टिभल’ नामले समेत परिचित छ।

‘नाइट लाइफ’ बिताउनेका लागि लेकसाइड हरबखत तम्तयार देखिन्छ, विभिन्न जातजातिका सांस्कृतिक समूहले आ-आफ्नै प्रस्तुतिसँगै दर्शकलाई झुमाइनै रहन्छन्। अन्य दिन पप-बारभित्र सुनिने लाइभ म्युजिक र दोहोरी सडकमा गुञ्जिन्छ। तर कोभिडकै कारण पछिल्ला वर्ष पोखरामा पर्यटकको सङ्ख्या शून्यप्रायः बन्यो। पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या पनि ह्वात्तै घट्यो, अधिकांश पर्यटन व्यवसायी संकटमा परेका छन्।

images

पर्यटकीय क्षेत्र भएकाले पनि अर्बौं रुपैयाँ पोखराका होटलमा लगानी भइसकेको छ। तीन वर्षदेखि संकटमा परेको पर्यटन व्यवसायमा पछिल्ला दिनहरूमा आन्तरिक तथा भारतीय पर्यटकको आगमनले आशा जागेको छ। पर्यटन व्यवसायमा चिनियाँ सांस्कृतिक कार्यक्रम तथा ड्रागन बोट रेस महोत्सवले यहाँको पर्यटक व्यवसायमा आशा जगाएको छ।

पोखरामा भारतीय र चिनियाँ पर्यटक बढी आउने गरेको भए पनि कोरोनाका कारण चिनियाँ पर्यटकको सङ्ख्या तीन वर्षयता ह्वात्तै घटेको थियो। चिनियाँ पर्यटक वृद्धि गर्नका लागि पोखराको फेवातालमा ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ। दुई दिनसम्म चल्ने यस्तो महोत्सवले भविष्यमा चिनियाँ पर्यटक बढ्ने आशा पोखराका पर्यटन व्यवसायी तथा पर्यटन बोर्डका पूर्वसदस्य गणेशबहादुर भट्टराईले बताए।

पोखरामा सुरु महोत्सवको प्रचार चीन र अन्य देशमा समेत पुगेकाले भविष्यमा चिनियाँ पर्यटकको सङ्ख्या पोखरामा बढ्न सक्ने आशा भट्टराईको छ। दुई देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्य राखिएका यस्ता कार्यक्रम सरकारीस्तरबाट बेला-बेलामा हुनुपर्नेमा उनको जोड छ।

रेष्टुरेन्ट एन्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराका अध्यक्ष नरेश भट्टराईले चीनबाट पहिलो अन्तर्राष्ट्रिय उडान पोखरा हुनु र यहाँ ड्रागन बोट रेस फेष्टिभल हुनुले पोखराका पर्यटन गतिविधि केही मात्रामा बढेको छ र आगामी सेप्टेम्बरबाट पर्यटकको सङ्ख्या बढ्ने आशा उनले व्यक्त गरे।

पर्यटन गतिविधिकै कारण विदेशी पर्यटक पोखरा आउन थालेको र विदेशी कर्मचारीले क्रिसमस र नयाँ वर्ष मनाउन पोखरा रोज्ने गरेको भनाइ उनको छ। 'प्रत्येक वर्ष विदेशी पर्यटक बढ्दै गएका छन्। भारतीय, चिनियाँ, युरोपेली, अमेरिकी पर्यटकको सहभागिता हुँदै आएको देख्छौँ', उनले भने।

महोत्सवको माध्यमबाट पोखराका होटल तथा रेस्टुरेन्टलाई देश-विदेशमा चिनाउन सजिलो भएको ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल गण्डकीका अध्यक्ष धर्म पन्थी बताउँछन्। यस्ता महोत्सवले चिनियाँ पर्यटक विस्तारै घुम्नका लागि नेपालप्रति आकर्षित हुने विश्वास पन्थीको छ। चीनबाट बढीभन्दा बढी पर्यटक भित्रिने आशा जगाएसँगै पोखरा जुनसुकै सिजनका लागि उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव माध्यम भइरहेको उनले बताए। 'फेवा किनारको खुला वातावरणमा रमाइलो गर्न पाउँदा पर्यटकले नयाँपन पाएका छन्', अध्यक्ष पन्थीले भने।

'पर्यटकलाई सेवा दिने व्यवसाय भनेको निकै संवेदनशील व्यवसाय हो। पर्यटकलाई सहज र सस्तोमा रम्न पाउने वातावरण पर्यटन व्यवसायीले बनाइदिनुपर्छ', पन्थीले भने, 'राजधानी काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि बढाउनु पर्यटन व्यवसायीको पनि दायित्व हो।'

सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल भएको पर्यटन व्यवसायी ओमप्रकाश पाण्डे बताउँछन्। 'पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ', पाण्डेले भने।

कोभिड-१९ का कारण झन्डै तीन वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ। नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा गन्तव्यमा पुग्छन्। यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा छन् भने पर्यटन क्षेत्रका मजदुरको रोजगारी जोखिममा परेको छ।

लेकसाइडको सडकमा सवारीसाधनबाहेक सडक किनारका केही पसलमात्र खुलेका देखिन्छन्। धेरैजसो सटर बन्द छन्। ती सटर पदयात्रा तथा पर्यटकीय सामग्रीका हुन्। यतिखेर पोखराको परिवेश यस्तै छ। विदेशी पर्यटकले भरिभराउ पोखराका अधिकांश होटेलमा पाहुना छैनन्। आन्तरिक पर्यटक फाट्टफुट्ट मात्रामा भेटिन्छन्। उनीहरूलाई पर्यटक पाउनेभन्दा पनि करोडौँका सामान बिग्रिने हुन् कि भन्ने चिन्ता छ।

व्यवसायीका अनुसार पोखराको पर्यटन व्यवसायमा पर्यटन व्यवसायीको आफ्नो लगानी ५० अर्ब छ भने बैंकको लगानी ७५ अर्ब छ। यस व्यवसायबाट १२ हजार दुई सय ९८ जनाले रोजगारी पाएका छन्। त्यस्तै रेष्टुरेन्ट तथा बारतर्फ एक सय जना व्यवसायी आबद्ध छन्। यसमा एक अर्ब व्यवसायीको आफ्नै लगानी छ भने तीन अर्ब बैंकको लगानी छ। ट्रेकिङ एजेन्सीतर्फ एक सय ५९ व्यवसायी आबद्ध भएका छन् र यसमा व्यवसायीको आफ्नै ३२ करोड लगानी छ। यसमा ४२ करोड ९७ लाख ६० हजार बैंकको लगानी छ। यसबाट एक हजार दुई सय ७२ जनाले रोजगारी पाएका छन्। ट्राभल्स एजेन्सीतर्फ एक सय ८१ जना व्यवसायी आबद्ध भएकामा उनीहरूको आफ्नै लगानी ७९ करोड ७५ लाख ५० हजार छ भने १८ करोड ६० लाख ९५ हजार बैंकको लगानी छ। अन्य पर्यटकीय पूर्वाधारमा पनि करोडौँ लगानी भएको व्यवसायीहरू बताउँछन्।

पोखराको आकर्षणको रूपमा माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङकोट, विश्वशान्ति स्तूप, गुफा, काहुडाँडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोटजस्ता स्थान यहाँका पर्यटकीय आकर्षण हुन्। महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीच भाग भएर बग्ने सेती नदी र पातले छाँगो पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य हुन्। रासस


प्रकाशित : शुक्रबार, असार ८ २०८०१३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend