मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सुदूरपश्चिम प्रदेश : बैंक तथा वित्तीय संस्थातर्फको निक्षेप १ खर्ब १५ अर्ब

बुधबार, असार ६ २०८०
सुदूरपश्चिम प्रदेश : बैंक तथा वित्तीय संस्थातर्फको निक्षेप १ खर्ब १५ अर्ब

काठमाडौं- २०७९ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७९ असार मसान्तको तुलनामा ०.४२ प्रतिशतले घटेको छ। निक्षेप १ खर्ब १५ अर्ब १६ करोड ९३ लाख पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो निक्षेप १.९९ प्रतिशतले घटेको थियो।

नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन (सुदूरपश्चिम प्रदेश) को प्रतिवेदन सार्वजनिक गरेको छ। २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७९ असार मसान्तको तुलनामा ६.२७ प्रतिशतले वृद्धि भइ १ खर्ब ५८ अर्ब ८३ करोड ६० लाख पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा १५.८८ प्रतिशतले वृद्धि भएको थियो।  

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपमा कैलालीको अंश सबैभन्दा बढी अर्थात् ४८.१६ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.४७ प्रतिशत रहेको छ। अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६५.७७ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् ०.८८ प्रतिशत प्रतिशत रहेको छ।

sudur.JPG

समीक्षा अवधिमा सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३२७, विकास बैंकका ५२, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४५७ गरी जम्मा ८४२ शाखा सञ्चालनमा छन्। यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३६५ तथा बाजुरा जिल्लामा सबैभन्दा कम २७ शाखा सञ्चालनमा छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस प्रदेशमा वाणिज्य बैंकका ३२४, विकास बैंकका ४७, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४४८ गरी जम्मा ८२५ वटा बैंक तथा वित्तीय संस्थाका शाखाहरु सञ्चालनमा रहेका थिए।

आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा सुदूरपश्चिम प्रदेशमा वैदेशिक लगानी प्रस्ताव गरिएका ६२ वटा परियोजना छन। जम्मा लागत ४ अर्ब ८० करोड रहेको उक्त परियोजनाहरुमा वैदेशिक लगानीको अंश २ अर्ब ४९ करोड ६४ लाख (५२ प्रतिशत) रहेको छ। जिल्लागत रुपमा कञ्चनपुरमा सबैभन्दा बढी २३, कैलालीमा १९, बैतडीमा ८, अछाममा ४, दार्चुला र डडेल्धुरामा ३/३ र डोटी र बझाङमा १/१ परियोजनामा वैदेशिक लगानी प्रस्ताव गरिएको छ। परियोजना लागतका हिसावले कैलालीमा सबैभन्दा बढी २ अर्ब ९८ करोड र सबैभन्दा कम डोटीमा १ करोड वैदेशिक लगानी रहेको छ। 

२०७९ फागुनसम्ममा राष्ट्रियरुपमा विद्युत् पहुँच पुगेको जनसंख्या ९५.०० प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा ७३.०० प्रतिशत रहेको छ। त्यसैगरी, सोही अवधिसम्ममा कुल राष्ट्रिय विद्युत्उत्पादन २ हजार ५ सय चौरासी मेगावाट रहेको छ भने सुदूरपश्चिम प्रदेशमा १०८ मेगावाट विद्युत्उत्पादन भएको छ। गत वर्षको सोही अवधिमा यस प्रदेशमा ५८ मेगावाट विद्युत उत्पादन भएको थियो। 


प्रकाशित : बुधबार, असार ६ २०८०१०:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend