शनिबार, साउन १२ गते २०८१    
images
images
images

व्यावसायिक कृषिमा भोजपुरका किसान

images
मंगलबार, असार ५ २०८०
images
images
व्यावसायिक कृषिमा भोजपुरका किसान

व्यावसायिक कृषिमा लागेर भोजपुरका किसानहरुले मनग्य आम्दानीसमेत गर्दै आएका छन्।

images

भोजपुर- भोजपुरका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ। तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो।

images
images

व्यावसायिक कृषिमा लागेर उनीहरूले मनग्य आम्दानीसमेत गर्दै आएका छन्। पराम्परागतरूपमा खेती गरिरहेका उनीहरू अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन्।

images

सरकारको विभिन्न निकाय तथा वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको स्थानीय किसान सिर्जना बाँस्तोलाले बताइन्। वडा कार्यालयले दिने प्रोत्साहनमूलक कार्यक्रमसँगै प्राविधिक सहयोगले खेती विस्तारमा थप टेवा पुगेको किसान उनको भनाइ छ।

'स्थानीय तहको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न सहयोग पुगेको छ', उनले भनिन्, 'तरकारीसँगै नगदेबाली उत्पादन गरेर राम्रो आम्दानी गरिरहेकी छु। उत्पादन भएको तरकारी स्थानीय हाटबजारसँगै भोजपुर बजार जाने गरेको छ।'

images

वडा कार्यालयले प्राविधिक सहयोगसँगै माटो परीक्षण गरिदिएपछि खेती गर्न थप सहज भएको उनको भनाइ छ। आधुनिक प्रविधिअनुसार खेती गर्दा राम्रो उत्पादन हुने किसान बाँस्तोलाले बताए। 'खेती गर्छु भनेर मात्र पनि हुन्न रहेछ', उनले भनिन्, 'कृषिसम्बन्धी ज्ञान भएमा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिने रहेछ। रोग कीराका विषयमा आफूलाई जानकारी भयो भने धेरै सहज हुने रहेछ।'

वडा कार्यालयले व्यावसायिकरूपमा खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदान सहयोग गर्दै आएको जनाएको छ। भौगोलिकरूपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए। व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाँउदो बाली लगाउन प्रोत्साहन गरिने उनको भनाइ छ।

'आर्थिकरूपमा किसानलाई सक्षम बनाउन कृषिमा जोड दिन आवश्यक छ', उनले भने, 'हामीले यहाँ माटोअनुसारको बालीमा जोड दिएका छौँ। व्यावसायिकरूपमा खेतीमा लागेका किसानको पहिचान गरेर अनुदानको कार्यक्रम सञ्चालन गर्छौँ। अहिले व्यावसायिक कृषिमा लाग्नेको संख्या बढ्दो छ।'

सीमित बजेटमा पनि यहाँको आवश्यकता पूर्वाधार विकासमा योजनाबद्धरूपमा काम गरिरहेको उनको भनाइ छ। कृषकले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणमासमेत सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष नेपालले जानकारी दिए।

वडाको बजेटबाहेक अन्य संघसंस्थासँग सहकार्य गरेर पनि कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ। वडामा विनियोजन हुने बजेटले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले अन्य निकायसँग सहकार्य गरेर पनि किसानलाई प्रोत्साहन गर्दै आएको उनको भनाइ छ। 'वडामा आउने बजेट थोरै हुन्छ', उनले भने, 'यसले सबैको भावना समेट्न गाह्रो हुन्छ। अन्य निकायसँग हारगुहार गररे पनि विभिन्न कार्यक्रम भित्र्याएर किसानलाई सहयोग गरिरहेका छौँ।'

यहाँ क्षेत्र उत्पादनका लागि उपयुक्तभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडासदस्य नवीन श्रेष्ठले बताए। कृषि उत्पादनमा जोड दिन माटो परीक्षण गरेर भूगोलअनुसारको बाली लगाउन किसानलाई प्रोत्साहन गरिएको उनको भनाइ छ। 'हामी जनप्रतिनिधिले आफ्नो क्षेत्रको आवश्यकता पहिचान गर्न आवश्यक छ', उनले भने, 'वडाको आवश्यताका विषयमा छलफल गरेर बजेटको प्राथमिकीरण गर्दछौँ। यसले वडावासीको मन जित्न हामीलाई सजिलो भएको छ।'

तरकारी  खेतीको लागि प्लाष्टिक पोखरी, प्लाष्टिक टनेल वितरणसँगै उन्नत जातको बीउबिजन पाएपछि सहज भएको स्थानीय किसान महेन्द्र रसाइलीले बताए। पानीको अभावमा खेती गर्न समस्या भए पनि वडाको सहयोगमा सामूहिक प्लाष्टिक पोखरी निर्माण भए पनि सिँचाइको समस्या नरहेको उनको भनाइ छ। 

सुक्खाग्रस्त क्षेत्र भए पनि प्लाष्टिक टनेलमा पानी जमाएर सिँचाइ गर्न सहज भएको किसान रसाइलीको भनाइ छ। 'हामीलाई तरकारीसँगै नगदेबालीको लागि सिँचाइको समस्या छैन', किसान रसाइलीले भने, 'विगतमा सिँचाइका लागि पानी नहुँदा समस्या थियो। वडाको बजेटमा सामूहिक प्लाष्टिक टनेल निर्माण गरेका छौँ। त्यहीँबाट आवश्यकरूपमा सिँचाइ गछौँ।' रासस


प्रकाशित : मंगलबार, असार ५ २०८००५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend