मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बैंकहरू ऋण उठाउनमा केन्द्रित भएपछि थुप्रियो निक्षेप

३ दिनमा २१ अर्ब निक्षेप थपिँदा ऋण १ अर्बमात्रै प्रवाह

सोमबार, असार ४ २०८०
बैंकहरू ऋण उठाउनमा केन्द्रित भएपछि थुप्रियो निक्षेप

काठमाडौं- बैंकिङ प्रणालीमा तीन दिनमा २१ अर्ब निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारसम्म ५५ खर्ब ४७ अर्ब निक्षेप रहेकोमा सोमबार साँझसम्म ५५ खर्ब ६८ अर्ब निक्षेप पुगेको छ। यता ऋण प्रवाह भने ४८ खर्ब ५४ अर्ब पुगेको छ। २१ अर्ब निक्षेप थपिँदा १ अर्बमात्रै ऋण प्रवाह भएको छ। गएको शुक्रबारसम्म ऋण प्रवाह ४८ खर्ब ५३ अर्ब रहेको थियो। 

पछिल्लो समय ऋण प्रवाह कम र निक्षेप आउने क्रम बढी हुँदा अन्तरबैंक ब्याजदर घटेर ५.७२ प्रतिशतमा झरेको छ। कुनै समय ८.५ प्रतिशतसम्म पुगेको अन्तरबैंक ब्याजदर ओरालो लाग्ने चरणमा प्रवेश गरेको छ। सोही कारण कर्जा र निक्षेप (सीडी) रेसियो ८३.९३ प्रतिशतमा झरेको छ।

राष्ट्र बैंकले ९० प्रतिशतसम्म सीडी रेसियो तोकेको छ। अहिले ऋण दिनका लागि बैंकहरूसँग मनग्य पैसा थुप्रिएको छ। तर वित्तीय संस्थाहरू असारमा ऋण प्रवाह गर्ने भन्दा पनि ऋण उठाउनमा केन्द्रित भएका छन्। यसले साउनमा वित्तीय प्रणाली अझै सहज हुने देखिन्छ। 

चालु आर्थिक वर्ष सकिन एक महिना भन्दा कम समय बाँकी रहँदा बैंकवित्तहरू कर्जा असुलीमा सक्रियता छन्। सोही कारण असार मसान्त सकिन केही दिन मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थाहरू कर्जा असुलीमा सक्रियता बढाउँदा निक्षेप थुप्रिएको हो। 

वाणिज्य बैंकहरूको एक खर्ब ३९ अर्ब ८७ करोड, विकास बैंकहरूको १५ अर्ब ७५ करोड र वित्त कम्पनीको सात अर्ब ५८ करोड खराब कर्जा रहेको राष्ट्र बैंकको तथ्यांक छ। नेपाल बैंकर्स संघका अनुसार ०७८ चैतसम्ममा १.२३ प्रतिशत मात्रै रहेको वाणिज्य बैंकहरूको निस्क्रिय कर्जाको अनुपात गत चैतसम्म आइपुग्दा ३.०३ प्रतिशत पुगेको छ।


प्रकाशित : सोमबार, असार ४ २०८०१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend