शनिबार, साउन १२ गते २०८१    
images
images
images

पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १९ २०७८
images
images
पर्यटन प्रवर्द्धन  गर्न पूर्वाधार निर्माण

एक्लेडाँडामा बुद्धको मूर्तिसहितका पूर्वाधार निर्माणका लागि माटो परीक्षण कार्य पनि सम्पन्न भएको छ। 

images

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका-८ स्थित एक्लेडाँडालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहल थालिएको छ। धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यस ठाउँमा पूर्वाधार निर्माण गर्न लागिएको हो। 

images
images

वडा कार्यालयले गौरवको योजनाको रुपमा सूचीकृत गरेको उक्त ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयको रु पाँच लाखको बजेटमा गत वर्ष इञ्जीनियरिङ कन्स्लटेन्सीले डिपिआर निर्माण गरेको थियो। एक्लेडाँडामा बुद्धको मूर्तिसहितका पूर्वाधार निर्माणका लागि माटो परीक्षण कार्य पनि सम्पन्न भएको छ। 

images

वडा कार्यालयले नयाँ गन्तव्यको रुपमा उक्त ठाउँको पहिचान गरेको छ। वडाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रवर्द्धन गर्दै लैजाने उद्देश्य राखिएको रेग्मीले बताए। 'सम्भावना बोकेर पनि ओझेलमा परेको यस ठाउँलाई उजागर गर्ने उद्देश्यसहित पर्यटकीय गन्तव्य बनाउन खोजेका हौँ', उनले भने।

डिपिआर अनुसार यस ठाउँमा पूर्वाधार निर्माणका लागि १२ करोड ५३ लाख ३४ हजार ४०१ रुपैयाँ बजेट आवश्यक पर्ने देखिएको छ। दुई किलोमिटरको पदमार्ग र एक्लेडाँडामा गौतमबुद्धको मूर्ति निर्माण गरिनेछ। यसैगरी पृथ्वीराजमार्गअन्तर्गत लेखनाथबाट म्याग्देसम्मबाट देखिने गरेर स्तनपान गराइरहेकी महिलाको विशाल मूर्तिसमेत निर्माण गर्ने योजना छ । उक्त मूर्ति १०८ फिट अग्लो हुनेछ।  एक्लेडाँडादेखि शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जीपलाइन निर्माण गर्ने योजनासमेत डिपिआरमा समावेश गरिएको छ। 

images

पर्यटक बढ्न थालेपछि गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु पाँच लाखमा २५० मिटर पदमार्ग निर्माण गरिएको छ। 'यो पदमार्गलाई दुई किलोमिटर बनाएर पवित्र तीर्थस्थल ढोरवाराही मन्दिरसँग जोड्ने लक्ष्य राखेका छौँ', उनले भने। 

ठूलो बजेट आवश्यक पर्ने भएकाले यसका लागि सङ्घ र प्रदेश सरकारसँग माग गरिने वडाध्यक्ष रेग्मीले बताए। 'नगरपालिकाको एक्लैको बजेटबाट मात्र यो सम्भव छैन, तीन तहकै सरकारको सहभागितामा यो काम पूरा गर्छौँ', उनले भने। 

सामाजिक सञ्जालमार्फत विभिन्न ठाउँको प्रचारप्रसार हुने क्रममा यस ठाउँले पनि चर्चा बटुलेको छ। शनिबार र चाडपर्वका बेलामा दैनिक दुई/तीन सयसम्म आन्तरिक पर्यटक यहाँ आउने गरेको स्थानीयवासी टीका अधिकारीले जानकारी दिए। 'अहिले त सामाजिक सञ्जालले जुनसुकै ठाउँलाई भाइरल बनाइरहेको छ, यहाँ पनि आन्तरिक पर्यटकको भीडभाड बढिरहेको छ', उनले भने, 'पूर्वाधार निर्माण गर्न सकिए अझ राम्रो हुन्थ्यो।'

एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा स्थानीय पनि खासै उक्लिदैनथे। यो गाईबाख्रा चराउने ठाउँ थियो। तर अहिले घुम्ने ठाउँ बनेको अधिकारी दङ्ग हुनुहुन्छ । 'घाँस दाउरा गर्ने र गाईबाख्रा चराउने ठाउँ यस्तो होला भन्ने कल्पना पनि गरेका थिएनौँ', उनले भने। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १९ २०७८०७:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend