काठमाडौं- हवाई जहाजमा यात्रा गर्दा केही सिट खाली राखिएको तपाईंले देख्नुभएकै होला। धेरै यात्रु हुने समयमा पनि त्यसरी सिट खाली किन भएको होला भनेर प्रश्न उठ्नु स्वभाविक नै हो। यात्रु भएकै अवस्थामा पनि सिट खाली राख्नुपर्ने कारण हुन्छन्। हवाई सुरक्षासँग जोडिने त्यस्ता कारणबारे सबै यात्रु जानकार नहुन सक्छन्।
खाली सिट देख्दा कुनै बेला आफूलाई आपतकालीन सिट चाहिँदा पनि सिट छैन भनेर भनेको विषय यात्रुको मनमा आउन सक्छ। अझ यात्रुले टिकटको मूल्य बढाउन यसो गरिएको भन्ने आशंका पनि गर्छन्। तर कारण त्यस्तो होइन। जहाजमा भार व्यवस्थापनका लागि पनि केही सिट खाली राखिएको हुन्छ। यसैले यात्रु पाएकै अवस्थामा पनि केही सिट खाली राखिएका हुन्छन्।
नेपालमा प्रायजसो पोखरा उडानका क्रममा यात्रुले जहाजमा खाली सिट देखिरहेका हुन्छन्। मौसम पनि सफा छ र विमानस्थलको रन-वे पनि ठूला जहाजका लागि मिल्ने छ तर किन जहाजमा सिट खाली भएको होला भन्ने लाग्न सक्छ। त्यसमा केही नियमसंगत विषयलाई बुझ्नुपर्ने हुन्छ।
पोखराजस्तै प्रायः सबै विमानस्थलको उडानमा केही सिट खाली देखिन्छ। सेवाप्रदायकले यात्रु पाउँदा पाउँदै पनि सबै सिटमा यात्रु हाल्न पाउँदैनन्। त्यसको कारण हो- जहाजको भार व्यवस्थापन। भार व्यवस्थापको विषय हवाई सुरक्षासँग जोडिएको हुन्छ। वायुसेवा कम्पनीको हकमा सुरक्षा नै पहिलो सर्त हो। सुरक्षित उडान भएसँगै आउने पाटो व्यवसाय हो।
साधारण अर्थमा बुझ्दा मुख्यत: धावनमार्गको लम्बाइ, विमानस्थलको तापक्रम, हावाको चाप र हावाको गतिमा जहाजको लोड पेनाल्टि गणना गरिन्छ।
जहाज उडान गर्नुअगाडि जहाजमा यात्रा गर्ने यात्रु तथा उनीहरूको लोड मिलाइएको हुन्छ। अर्को विषय कुन अवस्थामा कुन विमानस्थलको उडानमा कति लोड लिएर उडान गर्न सकिन्छ भन्ने विषय विमान कम्पनीका कर्मचारी तथा प्राविधिकबाट नै चेकजाँच गरिन्छ। नियामक निकायबाट स्वीकृति लिइ सोही आधारमा जहाजको लोड व्यवस्थापनका लागि केही सिट खाली राखिन्छ।
जहाजका सिट यात्रुले भरिनुअघि विमान कम्पनी र यसका कर्मचारीले भार व्यवस्थापन (लोड म्यानेजमेन्ट) गर्न व्यापक तयारी गरेका हुन्छन्। यात्रु र सामानको तौलको अनुपात मिलाएर जहाज उडान र अवतरणको व्यवस्था मिलाइएको हुन्छ।
जहाजमा सिट खाली राख्नु पर्ने केही प्राविधिक कारण छन्। पहिलो कारण टेकअफ तथा ल्यान्डिङको विषय विमानस्थलको तापक्रमसँग निर्भर हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौला बताउँछन्। तापक्रम बढी भएको विमानस्थलमा जहाज अवतरणका क्रममा जहाजको पर्फमेन्स कम हुने हुँदा लोड कम गरिन्छ।
गर्मीको सिजनमा यो समस्या बढी आउने हुन्छ। बढ्दो तापक्रमका कारण हावाको चापमा पनि फरक आउँछ। अर्को त यात्रुले बोक्ने लगेज तथा कार्गो बढी भएको अवस्थामा पनि जहाजको केही सिट खाली गरिएको हुन्छ। साथै मौसम तथा प्राविधिक कारण गन्तव्य तय गरिएको विमानस्थलमा नपुगी अन्यन्त्र विमानस्थलमा अवतरण गर्नुपर्ने हुन्छ। त्यसका लागि पनि जहाजमा इन्धन पर्याप्त नै राख्नु पर्छ। सिट खाली राख्नुपर्ने अर्को महत्वपूर्ण कारण भौगोलिक अवस्था पनि हो।
त्यसमा जोडिएका सबै विषय प्राविधिक हुन्छन्। प्राविधिक विषयमा केही तलमाथि गर्न मिल्दैन। जहाजको लोड व्यवस्थापनका लागि एउटामात्रै उपाय केही सिट बिक्री नगर्ने हो। जसबाट लोड व्यवस्थापन गर्न सकिने हुन्छ।
जहाजको तौलमा इन्धन अनिवार्य हो भने यात्रु र लगेजले पनि फरक पार्छ। कहिँकतैका गन्तव्यमा हवाई इन्धनको व्यवस्था नहुँदा उडेकै गन्तव्यबाट बढी तेल लिएर उड्नुपर्छ। यसकारण पनि यात्रु, लगेज तथा कार्गो कम गर्नुपर्ने हुन्छ।
नेपालको हकमा गर्मी मौसममा जहाजको सिट केही बढी खाली हुने प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार जहाजको लोड व्यवस्थापनमा एयरलाइन्सहरूले नै काम गर्ने गरेका छन्।
काठमाडौं र तुम्लिङटारजस्ता भौगालिक कठिनाइ भएका विमानस्थलमा अझ विशेष ध्यान दिनुपर्ने हुन्छ। तापक्रम बढेसँगै जहाजको अवरोध पार गर्नसक्ने क्षमता कम हुन्छ, ती भौगालिक अवरोधहरू पार गरी सुरक्षित उडान र अवतरण गर्नका लागि नै केही सिट खाली राखिने गरिन्छ। छोटो धावनमार्ग भएका विमानस्थलहरूमा जहाजको भार क्षमता कम हुन्छ, तापक्रम बढेको अवस्थामा त्यस्तो क्षमता अझ कम हुँदै जान्छ, सोहिअनुसार जहाजमा यात्रु तथा सामान कम गर्नुपर्ने हुन्छ।
आन्तरिक उडानमा सबैभन्दा बढी यात्रुलाई सेवा दिने तथा धेरै गन्तव्यमा उडान गर्ने बुद्ध एयरले प्राविधिक कारणसँगै दुईवटा इन्जिन क्षमताको जहाज भएपनि एउटा मात्रै इन्जिनको भार क्षमतामा मात्रै यात्रु बोक्ने गरेकोले केही सिट खाली हुने जनाएको छ। एउटामात्रै इन्जिन भार क्षमतामा यात्रु बोक्दा केहीगरी एउटा इन्जिनमा समस्या आएपनि सुरक्षित उडान अवतरणमा कुनै समस्या नहुने र यात्रुलाई सुरक्षित यात्रा गराउन सक्ने बुद्ध एयरको भनाइ छ।
लोड व्यवस्थापनदेखि अन्य अध्ययनका लागि दक्ष जनशक्ति राखेको र यात्रुको सुरक्षामा कुनै कमी हुन नदिने वाचासहित काम हुने बुद्ध एयरको भनाइ छ। ‘बीएचए लोड एन्ड ट्रिम सिट सफ्टवेयर’ बुद्ध एयर आफैले उच्च दक्ष र अनुभवी उडान इन्जिनियरहरूको सहायतामा बनाएको छ। यसबाट नै एयरले तौलको गणना तथा व्यवस्थापन गरेको हुन्छ। सोही आधारमा उडान तथा अवतरण हुन्छ' बुद्धले जनाएको छ।
यसलाई अझ सहज तरीकाले यसरी बुझ्न सकिन्छ, कुन विमानस्थलबाट कति लोड लिएर जहाज उड्न सक्छ भन्ने विषय धावनमार्गको लम्बाइ, विमानस्थलको तापक्रम, समुद्र सतहभन्दा माथिको उचाइ, हावाको चाप र हावाको गतिमा निर्भर हुन्छ।
छोटो धावनमार्गबाट टेकअफ गर्दा जहाजको भार क्षमता कम हुन्छ भने लामो धावनमार्गबाट टेकअफ गर्दा जहाजको भार क्षमता बढी हुन्छ। त्यसैगरी टेकअफ गर्दा विपरीत दिशाबाट आउने उच्च हावाको गतिले जहाजको भार क्षमता कम गर्दछ। विमानस्थल समुद्र सतहभन्दा जति माथि हुन्छ त्यति नै जहाजको भार क्षमता कम हुँदै जान्छ।
तापक्रम बढेसँगै जहाजको भार क्षमता कम भएर जाने हुँदा सोहिअनुसार जहाजमा यात्रु तथा सामान कम गर्नुपर्ने हुन्छ। तसर्थ जहाजमा सिट खालि हुनुका कारणहरू यिनै हुन्।