मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

दुई वर्षपछि बैंकिङ प्रणालीमा सहजता, सबै प्रकारका ऋणको ब्याजदर घट्दो ट्रेण्डमा

निक्षेप थुप्रिँदा अन्तरबैंक ब्याजदर एकवर्षमा ४ प्रतिशत घट्यो

आइतबार, असार ३ २०८०
दुई वर्षपछि बैंकिङ प्रणालीमा सहजता, सबै प्रकारका ऋणको ब्याजदर घट्दो ट्रेण्डमा

काठमाडौं- झन्डै दुई वर्षपछि बैंकिङ प्रणालीमा तरलता सहज भएको छ। पछिल्लो समय ऋण प्रवाह कम र निक्षेप आउने क्रम बढी हुँदा अन्तरबैंक ब्याजदर घटेर ५.७४ प्रतिशतमा झरेको छ। कुनै समय ८.५ प्रतिशतसम्म पुगेको अन्तरबैंक ब्याजदर ओरालो लाग्ने चरणमा प्रवेश गरेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा निक्षेप ५५ खर्ब ४७ अर्ब पुगेको छ। बैशाख मसान्तसम्म निक्षेप ५४ खर्ब ७९ अर्ब रहेको थियो। एक महिनाको बीचमा निक्षेप ६८ अर्बले बढेको छ। यता जेठ मसान्तसम्म ऋण प्रवाह ४८ खर्ब ५३ रहेको छ।

बैशाख मसान्तसम्म ४८ खर्ब ४८ अर्ब ऋण प्रवाह रहेको थियो। जेठमा ५ अर्ब मात्रै ऋण प्रवाह भएको छ। सोही कारण कर्जा र निक्षेप (सीडी) रेसियो ८४.१९ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले ९० प्रतिशतसम्म सीडी रेसियो तोकेको छ। अहिले ऋण दिनका लागि बैंकहरुसँग मनग्य पैसा थुप्रिएको छ। तर वित्तीय संस्थाहरु असारमा ऋण प्रवाह गर्ने भन्दा पनि ऋण उठाउनमा केन्द्रित भएका छन्। यसले साउनमा वित्तीय प्रणाली अझै सहज हुने देखिन्छ। 

अन्तरबैंक ब्याजदर घट्नुले वित्तीय बजारमा लगानीयोग्य पुँजी (तरलता) सहज हुँदै गएको संकेत गर्छ। यसलाई बैंकिङ प्रणालीमा पैसा सहज हुँदै गएको मान्न सकिन्छ।पछिल्लो ११ दिनमा बैंकिङ प्रणालीमा २५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

गत जेठ २० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा जेठ ३१ गतेसम्म बढेर ५५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँको बढेको छ। गत जेठ २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ अर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा जेठ ३१ गतेसम्म बढेर ४८ अर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ।

यो ११ दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले मात्र बढेको छ। गत जेठ २० गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा जेठ ३१ गतेसम्म बढेर ४८ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

कर्जाको ब्याजदर घट्दै

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज घटाएका छन्। आधार दर घटेसँगै वाणिज्य बैंकले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका हुन्। ‘निक्षेपको नघटेपनि ऋणको ब्याजदर घटेको छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने।

नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिसम्म कुर्ने मुडमा बैंकर्स देखिदा निक्षेपको ब्याजदर जेठ र असारमा स्थिर राखेका छन्।  ‘दबाब अझै नसकिएकोले असार एक महिना हेरौँ भन्ने हो,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने। निक्षेपको नघटेपनि ऋणको भने ब्याजदर घट्दो ट्रेण्डमा रहेको  अध्यक्ष केसी बताउँछन्। 

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो। असारमा ०.२ विन्दुले घटेर १२.४५ प्रतिशतमा झरेको छ।

वैशाख र जेठमा निक्षेपको ब्याजदर घटेकाले असारमा बैंकको आधारदर ०.२४ प्रतिशत बिन्दुले घटेको र कर्जाको ब्याजदर सोही अनुपातमा घटेको हो। चैतमा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको  । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ।

नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि असारमा कर्जाको ब्याजदर घट्ने भएको हो। ‘स्प्रेडदर ४.२ बाट ४ प्रतिशतमा ल्याउनुपर्ने भएकोले पनि ऋणको ब्याजदर घटेको हो,’ अध्यक्ष केसीले भने। 


प्रकाशित : आइतबार, असार ३ २०८०००:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend