सार्वजनिक सवारी साधनको सुधारमा लाग्नुभन्दा व्यक्तिगत प्रयोगका लागि बनाइएका मोटरसाइकलमा भाडाका यात्रु बोक्न दिने गलत बाटोतर्फ सरकार लागिरहेको छ। दिशाविहीन यो अभियानले नेपाल छिटै नै बंगलादेशजस्तो सडकमा आजित हुने खतरा देखिन्छ।
मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम भइरहेका धेरै देशको समान विशेषता के हो भने सहरी क्षेत्रमा सार्वजनिक यातायातको विकल्पका रूपमा मोटरसाइकलले नियन्त्रण गर्न कठिन हुनेगरी आजित बनाएको छ। कतिपय देशमा सार्वजनिक यातायात नपुगेका ग्रामीण भेगमा सहज बनिरहेको यस्तो व्यवसाय भिडभाड सहरमा भने समस्याका रुपमा छ।
नेपालमा विशिष्ट ओहदामा रहेकाहरूको निजी सवारी मोहले एकातिर सार्वजनिक यातायात सुधारको काममा ध्यान पुगेको छैन भने अर्कोतिर थप अस्तव्यस्त बनाउने गरी नवप्रवर्तनका नाममा गलत बाटो समातिरहेका छन्। उच्च पदस्थहरूले तामझामसहित बेलाबखत सार्वजनिक यातायात चढेर सामाजिक सञ्जालमा तस्बिर भाइरल बनाउने काम गर्नुबाहेक त्यसको सुधारमा ध्यान दिएका छैनन्।
सार्वजनिक यातायातलाई राज्यले स्तरीय सेवा दिनुपर्ने क्षेत्रको रुपमा विकास गर्नुपर्ने माग उठिरहेका बेला नितान्त व्यक्तिगत प्रयोगका लागि बनेका मोटरसाइकललाई सार्वजनिक यातायातको रुपमा विकास गरिन खोज्नु उल्टो बाटो देखिइरहेको छ। सार्वजनिक सवारी व्यवस्थित नभएर निजी सवारी अत्यावश्यक बनिरहँदा त्यो खाली ठाउँ ‘मोटरसाइकलमा भाडाका यात्रु बोक्नेहरू’ले पाउनु अर्को गल्ती हुनेछ।
औपचारिक वा अनौपचारिक रुपमा मोटरसाइकल ट्याक्सी, बाइक ट्याक्सी जस्ता नाममा केही देशमा चलिरहेको यस्तो व्यवसाय पूर्वी अफ्रिकालगायत केही देशमा ‘बोडाबोडास’ र पश्चिम अफ्रिकी क्षेत्रमा ‘ओकादस’ का नाममा चलिरहेका छन्। त्यसबाहेक केही कम्पनीगत नामका आधारमा यस्तो व्यवसाय चलिरहेका केही देश पनि छन्।
नेपालसँगै छिमेकी भारत, बंगलादेश, पाकिस्तान, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, केन्या, इजिप्ट, नाइजेरिया, युगान्डा, ब्राजिल, कम्बोडिया, क्यामरुन, मेक्सिकोलगायत केही देशमा यस्तो व्यवसाय सञ्चालनमा रहेको देखिन्छ।
ब्राजिलको उत्तरपूर्वमा रहेको सानो सहर क्रातेओसमा सन् १९९४ तिर मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम सुरू भएको बताइन्छ। जुन समय क्रातेओसमा सार्वजनिक सवारीका अरू साधनहरू थिएनन्। क्रातेओसपछि ब्राजिलका अन्य ५० सहरहरूमा पनि उही रुपमा मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम सुरू भएको थियो। ब्राजिलमै गरिएका खोजहरूका अनुसार बेलायतमा पर्यटकहरूले भाडामा मोटरसाइकल लिएर घुम्ने गर्दा सहज भएको टेलिभिजन रिपोर्ट हेरेर ब्राजिलियनहरू त्यसतर्फ उत्सुक भएका थिए।
मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम कानूनविपरीत चलिरहँदा क्रातेओस सहर रहेकै सिएरा राज्यको राजधानी फोर्टालेजामा सन् १९९७ मा ‘म्युनिसिपल ल’ बनाइएको थियो। जसले मोटरसाइकलमा भाडामा यात्रु बोक्न कस्ता कस्ता नियम पालना गर्नुपर्छ र कस्तो कस्तो ठाउँमा मात्र सञ्चालन गर्न पाइन्छ भनेर उल्लेख गर्यो।
ब्राजिलमै पनि केही सहरमा कानूनी रुपमा चलिरहेका त्यस्तो व्यापार केही सहरमा भने कानूनबिना पनि चलिरहँदा स्थानीय सरकारलाई त्यसबारेको सबैजसो अधिकार दिइएको छ। त्यस्तो सवारी चलाउनेहरू २१ वर्ष उमेर पुगेकै हुनुपर्ने, ‘ए क्याटागोरी’ को लाइसेन्स भएको र दुई वर्षको अनुभव भएको हुनुपर्ने साथै छुट्टै ट्रेनिङ कोर्स पूरा गरेको हुनुपर्ने जस्ता नियम बनाइएको छ। तर अहिले ब्राजिलमा सार्वजनिक यातायात विज्ञहरूले भने मोटरसाइकलमा भाडाका यात्रु बोक्ने कामलाई अझ कसिलो बनाउनुपर्ने र यातायात क्षेत्र अस्तव्यस्त बनाउन नहुने आवाज उठाइरहेका छन्।
विश्वभर तीन शैलीमा यस्ता सेवाहरू सञ्चालनमा रहेको देखिन्छ।
- यातायातको क्षेत्र हेर्ने सरकारी निकायले विशेष कानूनको माध्यमबाट सञ्चालनको छुट दिएको
- मोटरसाइकलमा भाडाका यात्रु बोक्ने काम भइरहेको छ भन्ने कुरा नै बेवास्ता गरेर अनौपचारिक सञ्चालनको छुट दिएको
- कानूनी रुपमा नै सञ्चालन गर्न दिइएका तर त्यसरी छुट दिइएका नियमहरू माथि नै ठूलो संख्याले बारम्बार प्रश्न उठाइरहेको
यसमा रहेको समान विशेषता के हो भने साना सहर, अतिआवश्यक पर्ने आपतकालीन अवस्थामा लिइने सेवाको रुप र ग्रामीण क्षेत्र जहाँ अन्य सार्वजनिक सवारीको सुविधा छैन। ती सबैजसो देशमा सार्वजनिक सवारीका रुपमा ठूला सवारीलाई नै प्रयोगमा जोड दिँदै सहरी क्षेत्रबाट मोटरसाइकल निरुत्साहित बनाउने अभियान चलिरहेका छन्।
पछिल्लो समय मोटरसाइकलमा भाडाका यात्रु बोक्ने व्यवसायबाट आजित बनिरहेको देश बंगलादेश हो। सन् २०१६ को मे महिनाबाट ‘सेयर ए मोटरसाइकल’ का नाममा बंगलादेशमा यस्तो व्यवसाय सञ्चालन सुरू भएको देखिन्छ। त्यसपछि अन्य कम्पनीहरू पनि थपिए।
बंगलादेशमा मोटरसाइकलमा भाडामा यात्रु बोक्नेको संख्या बढिरहँदा सडकमा सबैभन्दा जोखिमपूर्ण यात्रा, ज्यादा दुर्घटना हुने अनियन्त्रित वाहनको रुपमा भइरहेको विकासप्रति बहस भइरहेका छन्।
बंगलादेशमा एक्सिडेन्ट रिसर्च इन्स्टिच्युट (एआरआई) ले गरेको एक अध्ययन अनुसार मोटरसाइकलको संख्या सर्वाधिक भएका १६ देशमध्ये बंगलादेशमा दुर्घटनाको दर र मृत्यु हुनेको संख्या अधिक छ। वैकल्पिक सार्वजनिक यातायातको रुपमा मोटरसाइकललाई विकास गर्दै लैजानु नीति निर्माताको गलत दृष्टिकोणको परिणाम भएको आवाज बंगलादेशमा उठिरहेको छ।
विशेषगरी सुरक्षाको विषय, यात्राको व्यवहारिकता र सडकको अवस्थाजस्ता विषयमा गहन अध्ययन नभएको भन्दै आवाज उठिरहेको छ। विश्वभर नै यसको वृहत्तर अनुसन्धान र अध्ययन नभएको विषय उठ्ने गरेको छ।
बंगलादेशको सहरी क्षेत्रमा २१ किलोमिटर प्रतिघण्टाको सवारी गतिको अवस्था पछिल्लो १० वर्षयता ७ किलोमिटर प्रतिघण्टाको अवस्थामा पुगेको सन् २०१७ कै अध्ययनले देखाएको थियो। सहरी ट्रफिक व्यवस्थापनमा पनि बढ्दो दुईपांग्रेका कारण चुनौती थपिएको बंगलादेशी सञ्चार माध्यमहरूले उल्लेख गरिरहेका छन्। २०१८ को एक अध्ययनअनुसार ढाकामा पछिल्ला ८ वर्षमा मोटरसाइकल दर्ताको संख्या दोबरभन्दा बढीले बढेको छ।
दुर्भाग्यवश बंगलादेशमा जस्तै नेपालमा पनि मोटरसाइकलको अनियन्त्रित प्रयोगले सामाजिक विकृति सिर्जना गरिरहेको छ। गलत दिशातर्फबाट चलाउने, फुटपाथमै पनि उकालिदिने, गलत ठाउँमा पार्किङ गरेर बसिरहने जस्ता गतिविधि मोटरसाइकलका लागि सामान्यजस्तो बनिसकेको छ। ट्राफिक प्रहरीले निगरानी बढाएर त्यस्तो गतिविधिमा कारबाही गरिरहेको भए पनि मोटरसाइकलको व्यावसायिक बढ्दो संख्यासँगै त्यसमा समस्या बढ्दै जाने छ।
भारतमा पनि त्यस्तो व्यवसाय सञ्चालन गरिरहेकाहरूले आफूहरूलाई निर्वाध चल्न दिनुपर्ने आवाज उठाइरहँदा बन्देज लगाउने कामहरू भइरहेका छन्। कानून बनाएरै निगरानी गर्नेगरी प्रयासहरू सरकारले गरिरहेको छ। तर ठूलो संख्याले त्यसरी केही व्यक्तिको आम्दानीको माध्यम बनिरहेको छ भन्दैमा गलत विषयलाई प्रसय दिन नहुने आवाज उठाइरहेको छ।
गएको फेब्रुअरीमा दिल्ली ट्रान्सपोर्ट कमिसनर आशिष कुन्द्राले मोटरसाइकललाई यात्रु बोक्ने ट्याक्सीजसरी प्रयोग गर्न दिनु स्वीकार्य नहुने बताएका थिए। जतिबेला दिल्लीमा उबर, ओला, रापिडो जस्ता कम्पनीमार्फत चलिरहेको मोटरसाइकलमा यात्रु बोक्ने व्यवसायमाथि प्रतिबन्ध लगाइएको थियो। दुईपांग्रेमार्फत भाडाका यात्रु बोक्नु गैरकानूनी हुने ठहर गरिएको थियो। भारतमा मोटर वाहन अधिनियम, १९८८ अनुसार दुईपांग्रेमा भाडाका यात्रु बोक्न पाइँदैन। यसैले दिल्ली सरकारले त्यस्तो मोटरसाइकलमा यात्रु बोक्नेगरी सञ्चालन भएका डिजिटल सेवा दिनेहरूलाई एक लाख भारतीय रूपैयाँसम्म जरिवाना हुनसक्ने जनाएको थियो।
त्यसअघि उही कारणहरूसहित भारत महाराष्ट्र सरकारले पनि दुईपांग्रेमा भाडाका यात्रु बोक्न प्रतिबन्ध लगाएको थियो। न्यायालयले पनि कानूनी रुपमा मान्यता नपाएका त्यस्ता सेवाहरू बन्द गर्न भनेर आदेश दिएको थियो।
२०२१ मा नै एलाइड मार्केट रिसर्चमार्फत गरिएको एक अध्ययनअनुसार भारतमा मोटरसाइकलमा भाडाका यात्रु बोक्ने बजार ५०.५ मिलियन डलरको थियो। जुन २०३० सम्ममा नै १४ सय ७८ मिलियन डलर पुग्ने अनुमान छ।
यस्तोमा दुईपांग्रेमा भाडाका यात्रु बोक्नु व्यवहारिक नहुने र सुरक्षाका दृष्टिकोणले समेत उचित नहुने भन्दै भारतमा निरन्तर आवाज उठिरहेको छ। उक्त व्यवसायमा रहेकाहरूले भने धेरै भारतीयको रोजीरोटीको सवाल जोडिएको भन्दै सञ्चालन गर्न दिनुपर्ने आवाज उठाइरहेका छन्। त्यसैले पनि कानूनी रुपमा त्यसलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने बारेका छलफलहरू पनि भइरहेका छन्। केही दिनअघि भारतीय सुप्रिम कोर्टले कानूनले नदिएको अवस्थामा त्यस्तो सेवा सञ्चालन गर्न नहुने फैसलासमेत गरेको छ।
पाकिस्तानमा पनि २०१६ यता कार्गर लगायतका नाममा त्यस्तो व्यवसाय सञ्चालनमा रहेको छ। अन्य कम्पनीहरू पनि मोटरसाइकलमा भाडाका यात्रु बोक्नेगरी जोडिँदै गएका छन्। बंगलादेश र भारतमा जस्तै पाकिस्तानमा पनि यसको सुविधा र उपयोगिताभन्दा खराबी बढी रहेको आवाजहरू उठिरहेका छन्।
मोटरसाइकललाई सार्वजनिक यातायातको रुपमा विकास गर्दै जाने हो भने यसले सहरी यातायात अस्तव्यस्त बनाउने यसक्षेत्रमा काम गरिरहेकाहरूले बताउँदै आइरहेका छन्। ‘धेरैले रोजगारी पाइरहेको र केही नयाँ काम भएको’ भन्ने आधारमा सार्वजनिक वृत्तमा खासै विरोधको आवाज ननिकाले पनि यस क्षेत्रका विज्ञहरूले मोटरसाइकलमा भाडाको यात्रु बोक्न दिने विषय कालान्तरमा सरकारको टाउको दु:खाइ बन्ने अनौपचारिक कुराकानीमा बताउने गरेका छन्।
नेपालमा मोटरसाइकलमा भाडाका यात्रु बोक्नेहरूले गर्ने प्रवर्द्धनमा विशेषगरी दुई कुरा गर्ने गरिन्छ। नवप्रवर्तनको काम भएको साथै सार्वजनिक यातायात सहज नभएको काठमाडौंजस्तो सहरमा ट्याक्सीभन्दा जस्तो र छिटो सेवा। जब कि यी दुवै कुरा गलत तथ्यमार्फत ब्याख्या गर्ने गरिएका छन्।
विश्वका धेरै देश आजित भइसकेको मोटरसाइकलमा भाडाका यात्रु बोक्ने व्यवसायमा मोबाइल एप्लिकेसन जोडिँदैमा त्यसलाई नवप्रवर्तनको रुपमा ब्याख्या गर्न मिल्दैन नै।
टुटलमार्फत नेपालमा व्यवसाय सुरू गर्नेबेला गरिएको ब्याख्याजस्तो यो ‘राइड सेयरिङ’का रुपमा बुझाउनु त झनै गलत तर्क हुनेछ। काम नै मोटरसाइकलमा भाडाका यात्रु बोक्नेगरी दिनभर सडकमा कुदिरहनु राइड सेयरिङ होइन। आफ्नो बाटो पर्ने ठाउँमा सिट खाली हुँदा कसैलाई लगिदिने र त्यसवापत केही पैसा पनि हुने अर्थको व्यवसाय अब यो रहेन। चोक-चोकमा रहेका यस्ता व्यवसायका चालकहरूले एकदिन ट्याक्सीको झैँ सडक किनारमा ‘स्ड्यान्ड’ नै माग्नेछन्।
मोटरसाइकलमा भाडाका यात्रु बोकेर प्रयोजनविपरीत सवारी साधन चलाएको भन्दै ट्राफिक प्रहरीले कारबाही चलाइरहँदा केही नगर्नू भन्ने राजनीतिक आदेशमा प्रशय पाएको बिर्सिएर गलत काममा सरकारी संयन्त्र प्रयोग भइरहेको छ। उपत्यकाका सडकमा अहिले नै ट्राफिक व्यवस्थापन ठूलो चुनौती बनिसकेको अवस्थामा मोटरसाइकललाई समेत भाडामा यात्रु बोक्न दिनु उचित नहुने पूर्वट्राफिक प्रहरी प्रमुखहरू बताउँछन्।
सार्वजनिक यातायात सहज नभएको काठमाडौंजस्तो सहरमा ट्याक्सीभन्दा जस्तो र छिटो सेवाका रुपमा जसरी भनिएको छ त्यसमा पनि केही फाइदाका लागि अनगिन्ति बेफाइदालाई बेवास्ता गर्न मिल्दैन। सजिलो भइरहेको छ, धेरैले काम पाइरहेका छन् भन्ने आधारमै वर्तमान र भविष्य दुवै गलत भएको विषयलाई प्रशय दिनु हुँदैन। प्रदूषण, ट्राफिक अस्तव्यस्त, थप अनावश्यक मूल्य र असुरक्षा जस्ता विषयलाई मात्र हेर्ने हो भने पनि मोटरसाइकलमा भाडाका यात्रु सार्वजनिक यातायातको विकल्प बनाउनु हुँदैन।
सार्वजनिक यातायातमा प्रयोग हुने दुईपांग्रे सवारीहरूको नियमनसम्बन्धी राष्ट्रिय निर्देशिका, २०८० को मस्यौदा यातायात व्यवस्था विभागले तयार पारेको छ। दुईपांग्रेमा भाडाका यात्रु बोक्न कानूनले नदिएको र त्यस्तो व्यवसाय सञ्चालन गर्न नपाइने भन्ने विषय बारम्बार उठ्दै रोक लगाउने र पुन: राजनीतिक प्रभावमा खोल्ने काम भइरहँदा अहिले कानूनी ढोका खोलेरै सुविधा दिन खोजिएको छ।
सार्वजनिक सवारी कस्तो हुनुपर्छ र कसरी व्यवस्थित गर्नुपर्छ भन्ने विषय उदाहरणीय देशहरूबाट सिक्नुको साटो मोटरसाइकलमा भाडाका यात्रु बोक्ने गलत शिक्षा राज्यले लिइरहेको छ। जतिसक्दो कम सवारीमा धेरै यात्रुलाई कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा लाग्नुपर्नेमा ‘सजिलो भइरहेको छ’ भन्ने आधारमा बागमती किनारका सुकुम्बासीलाई जस्तो भावनात्मक रुपमा हेरेर सहर अस्तव्यस्त बनाउने मोटरसाइकललाई भाडाका यात्रु बोक्ने छुट दिनतिर लाग्नु उल्टो बाटो हुनेछ।