शनिबार, साउन १२ गते २०८१    
images
images
images

नवलपुरमा दुई करोड ५० लाख लागतमा साइलेज उद्योग सञ्चालनमा

images
मंगलबार, जेठ ३० २०८०
images
images
नवलपुरमा  दुई करोड ५० लाख लागतमा साइलेज उद्योग सञ्चालनमा

नगरपालिकाले हाल उद्योगमा ४० देखि ५० किलोसम्मका साइलेज प्याकेज तयार पारिरहेको छ। यसलाई प्लास्टिकले बेरेर राखेको ६० दिनपछि पशुलाई दानाका रुपमा खुवाउन सकिने नगरपालिकाको पशु शाखा प्रमुख श्यामकृष्ण तिवारीले बताए।

images

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को देवचुली नगरपालिकाले दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न पशु आहार (साइलेज) को उत्पादन सुरु गरेको छ। नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा हरियो घाँसलाई विशेष रुपमा पोषण तत्व कायमै रहने गरी तयार पारिने पशु आहार (साइलेज) को उत्पादन सुरु गरेको हो।

images
images

नगरपालिकाले मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रमसँगको साझेदारीमा दुई करोड ५० लाख रूपैयाँको लागतमा उद्योग स्थापना गरी साइलेज उत्पादन सुरु गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए। उद्योग स्थापनाले नगरपालिकासहित वरपरका पशुपालक कृषक लाभान्वित हुने तथा पशुपालनमा किसानलाई आकर्षित गर्न सकिने नगरप्रमुख न्यौपानेले बताए।

images

'उद्योग स्थापनाले हाल पशुपालन गरिरहेका कृषकलाई सबैभन्दा बढी लाभ हुन्छ', उनले भने, 'पशुपालन गर्न चाहने नयाँ कृषकलाई पनि सुविधा हुने हुँदा पशुपालनतर्फ आकर्षण बढाउन अपेक्षा गरेका छौँ।'

पशुपालनमा लागत घटाउँदै किसानको आम्दानी बढाउन यो योजनाले सहयोग पुग्ने विश्वास रहेको नगरप्रमुख न्यौपानेको भनाइ छ। नगरपालिकाले उत्पादन गरेको पशु आहार पशुपालक कृषकलाई सहुलियत दरमा बिक्री गरिने नगरप्रमुख न्यौपानेले बताए। पछिल्लो समय कतिपय पशुपालक कृषक पलायन हुने अवस्थामा पुगेका जनाउँदै उनले भने, 'पशुपालनमा उत्पादन लागत धेरै हुनु र आम्दानी कम हुने भएकाले कृषक पेसाबाट पलायन हुँदै गएका छन्।'

images

देवचुलीमा साइलेज उद्योग स्थापनाले रोजगारीको सिर्जना गराएको नगर प्रवक्ता तिलप्रसाद काफ्लेले बताए। कृषकले बाँझो जमिनमा घाँस लगाएर उत्पादन भएको घाँस उद्योगलाई बेच्न सक्ने भएकाले उनीहरुको आर्थिक अवस्थामा सुधार पुग्ने काफ्लेले बताए। नगरपालिकाभित्रका पशुपालक कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले साइलेजको उत्पादन सुरु गरेको उनको भनाइ छ। कृषकहरुकै सहयोगमा दाना उत्पादन गर्ने र सहुलियत मूल्यमा दिने योजनाअनुसार नगरपालिकाले साइलेज उत्पादन सुरु गरेको उनले बताए।

नगरपालिकाले साइलेज बनाउन यसअघि नगरभित्रका कृषकलाई मकै खेतीमा प्रोत्साहन गरेको थियो। मकै खेती गर्न कृषकलाई नगरपालिकाले बीउ, मल तथा सिँचाइका लागि अनुदानसमेत उपलब्ध गराएको नगरप्रवक्ता काफ्लेको भनाइ छ। 

कृषकले उत्पादन गरेको साइलेजका लागि आवश्यक पर्ने कच्चापदार्थ हरियो मकै नगरपालिकाले खरिद गर्ने उनले बताए। उद्योगमा ल्याएर आफैले घाँस बेच्ने कृषकलाई प्रतिकिलो पाँच रूपैयाँसम्म तथा नगरपालिकाको आफ्नै स्रोतसाधन प्रयोग गरेर उद्योगसम्म कच्चापदार्थ ल्याउने व्यवस्था गर्नुपरेमा प्रतिकिलो चार रूपैयाँसम्म मूल्य दिनेगरी मापदण्ड तयार पारिएको नगर प्रवक्ता काफ्लेले बताए। उद्योगमा साइलेज उत्पादनपछि पशुपालक कृषकलाई सहुलियत मूल्यमा साइलेज प्रदान गरिने उनले जानकारी दिए।

नगरपालिकाले हाल उद्योगमा ४० देखि ५० किलोसम्मका साइलेज प्याकेज तयार पारिरहेको छ। यसलाई प्लास्टिकले बेरेर राखेको ६० दिनपछि पशुलाई दानाका रुपमा खुवाउन सकिने नगरपालिकाको पशु शाखा प्रमुख श्यामकृष्ण तिवारीले बताए। दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईवस्तुका लागि निकै लाभदायक पौष्टिक आहार भएको तिवारीले बताए।

गाईभैँसीलाई साइलेज खुवाउँदा गुणस्तरीय दूध उत्पादनसँगै पशुचौपाया पनि स्वस्थ रहने भएकाले साइलेजको प्रयोग गर्न किसानलाई प्रोत्साहित गरिने तिवारीको भनाइ छ। सुक्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने उनले बताए। महँगो मूल्यमा पराल किनेर खुवाउने बाध्यता रहेकामा किसानलाई अब उद्योग स्थापनापश्चात् राहत पुग्ने तिवारीको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, जेठ ३० २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend