शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ठूलो घाटामा छौँ, पेट्रोलियम पदार्थको मूल्य अझै बढ्छ : आयल निगम

बिहीबार , कात्तिक १८ २०७८
ठूलो घाटामा छौँ, पेट्रोलियम पदार्थको मूल्य अझै बढ्छ : आयल निगम

निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र एलपी ग्याँसमा ७२० रुपैयाँ नोक्सानमा रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताएका छन्।

काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गर्दै निगम ठूलो घाटामा रहेकाले मूल्य अझै बढ्ने बताएका छन्। 

उनले अहिले निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र एलपी ग्याँसमा ७२० रुपैयाँ नोक्सानमा रहेको बताए। यस आर्थिक वर्षमा निगमले जति नै मूल्य बढाए पनि २० अर्ब नोक्सानमा जाने दाबी गरे। यस वर्षमा पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुग्ने बताउँदै यसमा अन्यथा मान्नु नहुने उनले बताए। 

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वभाविक भएको उनले बताए। उनले नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनावश्यक ग्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाए।

अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको बताउँदै कार्यकारी निर्देशक पौडेलले यसले जनतालाई मारमा नपार्ने दाबी गरे। उनले विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढीरहेको भन्दै अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने बताए।

कार्यकारी निर्देशक पौडेलले नेपाल आयल निगम गत वर्षको जनवरीदेखि नै घाटामा रहेको बताए। उनले मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो २ वर्षमा १७/१८ रुपैयाँ घटाएको बताए। उनले निगमले अहिलेसम्म तथ्यांक नलुकाएको दाबी गर्दै निगमलाई तथानाम गालीगलौज गर्नु अर्थतन्त्र सिध्याउने काम मात्र भएको बताए।

यस्तो छ पौडेलले भनाइ -

यो सरकारी संस्था हो. अस्वभाविक हुँदैन, सबैचिज पारदर्शी नै हुन्छ। अस्वभाविक भनेर हामीले सोच्नु नै सरकार, निगमप्रति पूर्वाग्रही ढंगले सोचिएको हो, यो १०० प्रतिशत स्वभाविक हो, यो स्वभाविक हुनलाई धेरै तथ्य, तथ्यांक भन्नैपर्दैन, बजारमा लिक्वीडिडी अभावको स्थिती हेर्नुहोस्, अन्तर्राष्ट्रिय बजारमा डलरको गिरावट हेर्नुहोस्, अन्तर्राष्ट्रिय मुद्राको मौज्दातको, घाटकोे स्थिती हेर्नुहोस्, एक वर्षअघि कति मूल्य थियो आज कति छ हुर्नुहोस्, डबल मूल्य बढीसकेको छ।

बैंकमा लिक्वीडिडीको अवस्था हेर्नुहोस्, यी सबै चिजले यसलाई अस्वभाविक कसरी भन्ने? यो विषय उपभोक्ता मारमा पर्ने भन्ने विषय नै होइन, तेल भनेको राजनीतिक कुरा होइन, सार्वजनिक कुरा हो, सरकारले सबै चिज सित्तैमा बाँड्नुपर्छ भन्ने हुन्छ कहीँ, यही चिज प्राइवेटमा भएको भए कोही बोल्दैन थिए।

आजको दिनमा राजनीति गर्ने एउटै चिज छ, त्यो भनेको तेल हो, तेलमा अन्तर्राष्ट्रिय राजनीति छ, खाडी मुलुकहरु रातारात कसरी धनी भए यो हामीलाई थाहा छ, त्यसैले जहिल्यै पनि विश्वको अर्थतन्त्र अलिकति घटबढ भयो भने तेलको मूल्यले इकोनोमिलाई नराम्ररी हान्छ। तेलको मूल्य अब के हुन्छ भन्ने विषय प्रिडिक्शनकै आधार हो, त्यसैले तेलको मूल्य आगामी २ वर्ष स्थिर हुने स्थिति देखिँदैन, बढ्दै क्रममा हुन्छ, र यो १०० डलर प्रतिब्यारेलसम्म पुग्छ, यो के हो भने आज हामी ८० मा छौँ, निगमलाई ६० डलरमा पुर्याइयो भने हाम्रो मूल्य स्थिर हुन्छ, हामी ८० डलरमा छौँ, अहिले हामीलाई २० डलरको मार छ भने योसय डलर पुग्छ भनेपछि तपाईले हेरिहाल्नुस् कहाँ पुग्छौँ हामी भन्ने कुरा।

निगम अघिल्लो वर्षको जनवरीदेखि घाटामा छ, हामीले मूल्य समायोजन नगरेको होइन, ३३ रुपैयाँ जतिको मूल्य समायोजन गरेका थियौँ, २ वर्षमा १७/१८ रुपैयाँ पैसा घटाएका छौँ, अहिले स्याल अघिअघि शिकारी पछिपछि भइदियो, मूल्य अघिअघि बढ्छ, हाम्रो मूल्य समायोजन पछिपछि भयो, अझ एलपीजीमा त हामीले समयोजन गर्नै हुँदैन, नोक्सानमै बेच्नुपर्छ भन्नेमै गइयो, अहिलेसम्म हामी सफल पनि थियौँ, जिम्मेवार मिडियामा आएका र निगमले भनेका कुरामा विश्वास गर्दिनुस्, निगमले तथ्य, तथ्यांक कहिले पनि लुकाएकै छैन, निगम कहिल्यै ठूलो मार्जिनमा बसेको छैन।

एक रुपैयाँ मार्जिन भनेकै हामीलाई साढे २ करोड रुपैयाँ हो भने हामी ५ रुपैयाँ मार्जिनमा बसेका छौँ।डबल भइसक्यो, अघिल्लो आर्थिक वर्ष १५/१६ महिनाअघि हामी ४० डलरको हाराहारीमा थियौँ, अहिले ८५ डलर भइसक्यो, डबल भइसक्यो, डबल हुँदा हाम्रो मूल्य कति भयो त ? त्यो हिसावले त बढेको छैन, किन बढेन भन्दा हामीले एउटा अन्तर्राष्ट्रिय बजारको परिस्थिती घटीहाल्छ कि, हामीलाई त यो आर्थिक वर्ष सस्टेन गर्ने मात्रै हो, हाम्रो उद्देश्य भनेको नाफा कमाएर धेरै कुरा गर्नुपर्छ भन्ने पनि छैन, नभएका कुरामा लाञ्छना लगाएर, हुँदै नभएका विषयमा गाली गरेर, निगम, कर्मचारीलाई गाली गरेर केही हुँदैन, कि निगम नै चाहिँदैन भन्न सक्नुपर्यो, जुन कुराको विकल्प छैन, गरेर फाइदै छैन, जुन कुरामा राजनीति नै गर्नुहुँदैन, जुन कुरो राजनीतिक विषय नै होइन, त्यसैले हल्ला मच्चाएर इकोनोमी नै सिध्याउने कुरा हो, निगमको हेल्थमा हेलचेक्राइँ गर्नुहुँदैन।


प्रकाशित : बिहीबार , कात्तिक १८ २०७८०८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend