मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

‘गेम चेन्ज होइन नेम चेन्जमा’ केन्द्रित बजेट : पूर्वअर्थमन्त्री पौडेल 

आइतबार, जेठ २८ २०८०
‘गेम चेन्ज होइन नेम चेन्जमा’ केन्द्रित बजेट : पूर्वअर्थमन्त्री पौडेल 

ऋणदेखि राजस्वसम्मका अनुमानको कुनै पनि आधार नरहेको उनले बताए।  आन्तरिक ऋण उठाउन सकिए पनि निजी पुँजी परिचालनलाई नकारात्मक असर पार्ने उनले बताए। 

काठमाडौं- आगामी आर्थिक वर्षको बजेट मनोगत र विरोधाभासले भरिपूर्ण रहेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले खराब लयमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि कुनै पनि योजनाबिना बजेट आएको बताए। 

अर्थतन्त्रमा मन्दी देखिएको उनको भनाइ छ। चालु वर्षका पछिल्ला दुई त्रैमासमा नकारात्मक आर्थिक वृद्धिदर र उच्च मूल्यवृद्धि रहेको, राजस्व संकलनमा गिरावट आएबाट अर्थतन्त्रमा मन्दीको संकेत प्रष्ट भएको उनको भनाइ छ। 

‘अर्थतन्त्रका समस्यालाई चिन्न पनि सकेको छैन, लयमा फर्काउनका लागि कुनै पनि उद्धार योजना ल्याइएको छैन। निजी क्षेत्रमा जाने कर्जा घटेको छ। त्रैमासिक जीडीपी वृद्धिदर ऋणात्मक भएको छ। नकारात्मक आर्थिक परिसूचकले अर्थतन्त्र मन्दीमा परेको देखिन्छ। बजेटले यी यथार्थलाई स्वीकार गरेर सामना गर्न संकल्प गरेको छैन। अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने प्रयास गरिएको छ। समाधानको बाटो छाडेर उल्टो ढाकछोप गरिएको छ’ पौडेलले भने। 

बजेट गेमचेन्जभन्दा आयोजना तथा परियोजनाको नेम चेन्जमा केन्द्रित रहेको उनको भनाइ छ। कुनै पनि नवीन सोच र योजनाभन्दा पनि विगतकै कार्यक्रमको नाम परिवर्तन गर्नेबाहेक अरु केही नगरिएको उनको भनाइ छ। 

बजेटमा थुप्रै विरोधाभास रहेको उनको भनाइ छ। 

नीति तथा कार्यक्रममा उल्लेख गरिएका कयौं कार्यक्रमलाई बजेटले बेवास्ता गरिएको उनले बताए। ५० युनिट बिजुली नि:शुल्क दिने घोषणा बजेटबाट हराएको उनले बताए। 

ऋणदेखि राजस्वसम्मका अनुमानको कुनै पनि आधार नरहेको उनले बताए। आन्तरिक ऋण उठाउन सकिएपनि निजी पुँजी परिचालनलाई नकारात्मक असर पार्ने उनले बताए। 

चालु खर्च घटाउने भनिएको तर चालु वर्षको तुलनामा ९७ अर्ब विनियोजन थपिएको र पुँजीगत विनियोजन घटाइएको, एकातिर वित्तीय संघीयताको कुसल कार्यान्वयन भन्ने अर्कोतिर अनुदान घटाउने काम गरिएको उनले बताए। 


प्रकाशित : आइतबार, जेठ २८ २०८००६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend