मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बैंक तथा वित्तीय संस्थाको निक्षेप बढ्यो

शुक्रबार, जेठ २६ २०८०
बैंक तथा वित्तीय संस्थाको निक्षेप बढ्यो

वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फत प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसर चालु आवको १० महिनामा निक्षेप ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँले बढेको जनाएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ३१ अर्ब ३२ करोड रुपैयाँले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ।

२०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २५.८ प्रतिशत र ६०.० प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, २८.१ प्रतिशत र ५६.५ प्रतिशत रहेको थियो।

२०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.३ प्रतिशत रहेको छ। २०७९ बैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३८.४ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १५३ अर्ब १७ करोड रुपैयाँले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५४८ अर्ब १४ करोड रुपैयाँले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फत प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ।

२०८० बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फत प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ५.० प्रतिशतले र वित्त कम्पनीहरुको १.१ प्रतिशतले बढेको छ।


प्रकाशित : शुक्रबार, जेठ २६ २०८००८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend