शनिबार, असोज १९ गते २०८१    
images
images

बाँके राष्ट्रिय निकुञ्जमा माहुते महिला

images
बिहीबार , जेठ २५ २०८०
images
images
बाँके राष्ट्रिय निकुञ्जमा माहुते महिला

निकुञ्जमा महिला पुरुष गरी २० जना माहुते छन्।

images
images

जानकी- माहुते महिला उपनामले यहाँ परिचित मिनु खड्का आफ्ना सन्तानका साथै हात्तीको पनि अभिभावक बनेकी छिन्।

images
images
images

विसं २०७४ मा हात्ती सफारीका लागि परीक्षामा निकालेर माहुते बनेकी उनले साढे पाँच वर्षको अवधिमा छोरोछोरी र हात्ती दुवैलाई उत्तिकै माया गर्दै आएकी छिन्। चार दशक पार गरिसकेकी मिनुलाई हात्तीमाथि बसेर परिचालन गर्न झन्डै एक वर्ष हात्तीसँगै बस्नुपर्‍यो। काठमाडौंमा ज्याला मजदुरी गरेर आजित बनेकी उनी आफ्नै गाउँमा हात्ती सफारी खुलेको छ भन्ने थाहा पाउने बित्तिकै फर्किएर माहुतेका लागि फारम भरेर नामसमेत निकाल्न सफल भएकी थिइन्।

प्रत्येक दिन घरबाट जंगल र जंगलबाट घर गर्दा सधैँ हात्ती नै साथी भएको बताउँदै मिनुले अब सकुन्जेल हात्तीकै सेवा गर्ने र हात्तीसँगै जंगल सफारी गर्ने बताइन्। 'मलाई मेरो छोरा र हात्तीमा एउटै जस्तो लाग्छ तर  फरक  छोराहरु बोल्छन् हात्ती बोल्दैन्। मेरा लागि दुवै उस्तै हुन्', उनले भनिन्, 'विगत साढे पाँच वर्षदेखि हात्ती मेरो साथी भएको छ।'

images

हात्ती सफारीका लागि नाम निस्कन्छ भन्ने कल्पनासम्म नगरेकी मिनुले अहिले माहुते बनेर आन्तरिक पर्यटक घुमाउँदा आफै दंग परेको बताइन्। 'मेरो नाम निस्कन्छ भन्ने मलाई लागेको थिएन तर निस्कियो। कहिलेकाहीँ पहिलाका दिनलाई सम्झन्छु। अनि आफै दंग पर्छु।' एकल महिला उनको श्रीमान् आजभन्दा आठ वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा कतार गएकोमा त्यहीँ छतबाट खसेर मृत्यु भएको थियो।

images

आफ्ना दुई छोरालाई सामान्य जीवनयापन गर्नसमेत गाह्रो भएका बेलामा मिनुलाई माइती र घर दुवै पक्षबाट साथ र सहयोग नपाएपछि ज्याला मजदुरी गररै भए पनि छोरा पाल्नका लागि काठमाडौं आएर झन्डै डेढवर्षसम्म काम घर बनाउने काम गरिन्। स्थायी कर्मचारी उनले  सुरुमा १५ हजार रूपैयाँबाट हात्तीको सेवा गर्दै आइरहेकामा अहिले मासिक २५ हजार रूपैयाँ बुझ्छिन्।

बिहान ५ बजे उठेर जंगल जाने र बेलुका ५/६ बजे जंगलबाट फर्कने त मिनुको दिनचर्या नै बनिसकेको छ। सामान्य लेखपढ भएकी उनले हात्तीलाई भने आफ्नै भाषामा धेरै कुरा पढाइसकेकी छिन्। मिनुले भनिन्, 'मेरो हात्तीले मैले जे भन्यो त्यही मान्छ। मेरो भाषा बुझ्छ। जब यसले मैले भनेको सबै मान्छ तब मलाई असाध्यै खुसी लाग्छ।' मिनुले सौराज गज नामक भाले हात्तीमामाथि बसेर जंगल सफारी गराउँदै आएकी छिन्।

मिनु जस्तै बाँके राष्ट्रिय निकुञ्जमा हात्ती हाँक्ने महिलाको रुपमा चिनिन्छिन् रीताकुमारी सुवेदी पनि। उनले पनि हात्तीलाई आफ्नो भाषा सिकाउँदै आन्तरिक पर्यटकलाई निकुञ्ज सफारी गराउन थालेको छ वर्ष भइसकेको छ। तीन दशक पार गरेकी रीता पनि परीक्षा दिएरै माहुते बनेकी हुन्।

प्लस टुसम्म पढेकी उनले माहुते बन्न कम्तीमा पनि छ महिना हात्तीको सेवा गर्नुपरेको बताइन्। रिताले भनिन्,'हात्तीको सेवा गर्दै गर्दा उस्ले हाम्रो भाषा बुझ्ने रहेछ, अनि हामीले पनि उस्को आवश्यकता। हात्तीमाथि बस्न मलाई कम्तीमा पनि छ महिना लाग्यो।'

बाँके राष्ट्रिय निकुञ्जमा हिजोआज हात्ती सफारिका लागि पर्यटक नआए पनि पहिला दैनिक २० देखि २५ आन्तरिक पर्यटकलाई हात्तीमा बसालेर जंगल सफारी गराउने गरेको रीताले बताइन्।

बिहानै उठेदेखि बेलुका नहुँदासम्म पनि जंगलमै दिन बित्दा कहिलेकाहीँ दिक्क लाग्ने रीताले बताइन्। 'कहीलेकाहीँ त दिक्क लागेर आउँछ। जागिर छोडिदिउँ कि जस्तो पनि लाग्छ। तर फेरि यो आर्थिक मन्दीमा अरुले जागिर नपाएर भौतारिएको देख्दा जस्तो भए पनि सरकारी जागिर छ भन्ने सम्झन्छु  र मन बुझाउँछु', उनले भनिन्।

बच्चा सानो हुँदा श्रीमानलगायत परिवारका अन्य सदस्यले जागिर छाड्न कर गरे पनि रीताले घर र जंगल दुवै सम्हाल्न सक्ने अठोट गर्दै माहुते बनिरहिन्। अहिले आफू हात्ती हाँक्ने महिलाका नामले चिनिन पाएकोमा गौरव लाग्ने पनि उनले बताइन्।आजभन्दा दुई वर्ष पहिला माहुते आफूलाई ‘गणेश गज’ नाम गरेको भाले हात्तीले हानेर घाइते बनाएको घटना उनले सुनाइन्। अहिले उनी शान्तिकली नाम गरेको हात्तीको माहुते हुन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले निकुञ्जमा हात्ती हाँक्ने महिला र पुरुषमा कुनै फरक नभएको तर जंगल सफारी गर्न आउने पर्यटकले भने महिला माहुते भएको हात्तीमा सफारी गर्न अलि आनाकानी गर्ने गरेको बताए।

'जंगल सफारीमा आउने पर्यटकले महिला माहुतेभन्दा पुरुष माहुतेलाई रोज्ने गरेको पाइन्छ', उनले भने, 'सायद शारीरिक रुपमा पुरुषको तुलनामा महिला कमजोर हुन्छन् र जंगलमा भइपरी आउने घटनाबाट जोगाउन सक्दैनन् भनेर पनि हुनसक्छ। तर हामीले पर्यटकलाई सम्झाउने गरेका छौँ।' 

अधिकृत साहले माहुते हुनका लागि पहिला शरीरिक परीक्षा पास गर्नुपर्ने प्रावधानअनुसार महिला माहुतेले पनि रुख चढ्ने, दौडने र पौडने गरी तीन चरणका परीक्षा पास गरेको जानकारी दिए।

उनका अनुसार शारीरिक परीक्षा पास गरेपछि मात्रै लिखित र मौखिक परीक्षा गर्ने नेपाल सरकारको नीति अनुरुप नै माहुते छनोट गरिन्छ। महिला माहुतले पनि ती सबै तहका परीक्षा पास गरेको हुनाले पर्यटकलाई महिला माहुतेप्रति लिंगका आधारमा भेदभाव नगर्न आग्रह गरिन्छ। 

प्रमुख संरक्षण अधिकृत साहले महिला माहुतेलाई महिनावारीको समयमा आराम गर्न भनेर बिदा दिने गरेको बताए। उनले भने, 'महिनावारीका समयमा महिलालाई आराम चाहिन्छ। त्यसैले उक्त समयमा निकुञ्जले महिला माहुतेलाई आरामका लागि बिदा दिने गरेको छ।' उक्त समयमा पुरुष माहुतेले महिला माहुतेले हाँक्ने हात्तीको हेरचाह गर्ने गर्दछन्।

निकुञ्जमा सफारीका लागि ६ वटा हात्तीमध्ये भेले हात्ती दुई र पोथी हात्ती चारवटा रहेको निकुञ्ज प्रमुख साहले जानकारी दिए। उक्त निकुञ्जमा महिला पुरुष गरी २० जना माहुते छन्। रासस


प्रकाशित : बिहीबार , जेठ २५ २०८०११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend