मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

लगानीकर्तालाई विश्वास दिलाउने अर्थमन्त्रीको निरन्तर प्रयास, स्थायी आधार खोज्दैछन् लगानीकर्ता

बिहीबार , जेठ २५ २०८०
लगानीकर्तालाई विश्वास दिलाउने अर्थमन्त्रीको निरन्तर प्रयास, स्थायी आधार खोज्दैछन् लगानीकर्ता

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउँदै लगानीकर्ताको पक्षमा आफू रहेको निरन्तर बताउँदै आइरहेका छन्। पुँजी बजारलाई विशेष ध्यान दिँदै त्यसमा आफू लागिरहेको भन्दै महतले अर्थमन्त्री भएयता बताइरहे पनि कारोबार अपेक्षाकृत सुधारतर्फ जान सकेको छैन।

आउँदो आर्थिक वर्षको बजेटमा नै पनि पुँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणा गरेका उनले बिहीबार बिहान पनि सेयर लगानीकर्ताको पक्षमा आफू रहेको दोहोर्‍याए। धितोपत्र बोर्डको ३१ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री महतले सेयर बजारमा आम मानिसको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण रहेको भन्दै ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने बताए।

धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री महतले सेयर बजारलाई अझै स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्। 

पुँजी बजारको सुधार अंकको हरियालीमा खोजिरहेका लगानीकर्तालाई हौस्याउनेगरी अर्थमन्त्री बोलिरहँदा संगठित लगानीकर्ताहरू भने अझै विश्वस्त देखिँदैनन्। उनीहरू बजार सुधारको स्थायी आधारको खोजीमा रहेका छन्। 

बिहीबार ७.२७ अंकले बढेर बजार १९३९.६१ बिन्दुमा पुगेको छ। ९३ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ३० करोड ५८ लाख रूपैयाँको कारोबार भएको छ। 

यो साता आइतबार ५३.३० अंकले बढेको बजार सोमबार १७.३८ अंकले घटेको थियो। मंगलबार २५.६६ अंकले बढेर बजार १९२७.६५ बिन्दुमा पुगेको थियो। बुधबार ४.६८ अंकले बढेर १९३२.३३ बिन्दुमा पुगेको थियो। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। अब आउने मौद्रिक नीतिको पर्खाइमा देखिएका लगानीकर्ता त्यसपछि मात्रै बजारको अवस्था आँकलन गर्न मिल्ने बताउँछन्। 


प्रकाशित : बिहीबार , जेठ २५ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend